• १९ माघ २०८२, सोमबार

मुहार फेरियो नेप्टेचौरको

blog

नेप्टेचौरमा कालोपत्रे गरिएको सडक ।

बेनी समाचारदाता 

बेनी, माघ १९ गते । बेनी नगरपालिका अन्तर्गत घतानको नेप्टेचौरमा सडक कालोपत्रे भएपछि गाउँको मुहार फेरिएको छ । करिब २६ वर्षअघि ट्र्याक खुलेको यो सडक स्तरोन्नतिसहित कालोपत्रे भएपछि स्थानीय खुसी भएका छन् । स्तरोन्नतिसहित सडक कालोपत्रे भएपछि हिउँदमा धुलो र बर्खायाममा हिलोका कारण सास्ती भोगेका नेप्टेचौरवासीको यात्रा सहज भएको छ । 

स्थानीयवासी रुद्रबहादुर चोखालले भन्नुभयो, “सडकमा गाडी गुड्दा उडेको धुलोले गाउँ नै छोपिन्थ्यो । साँघुरो, जीर्ण र कच्ची सडकका कारण बर्सौंसम्म गाउँलेले सास्ती भोगे । अहिले सडक फराकिलो हुनुका साथै कालोपत्रे भएपछि बर्सौंदेखिको सास्ती हटेको छ । सडक कालोपत्रेले गाउँको मुहार नै फेरिएको छ ।” 

स्थानीयका अनुसार सडक कालोपत्रे भएसँगै धुलो र हिलोको समस्या हटेको, यात्रा अवधि छोटिएको, दुर्घटनाको जोखिम घटेको, झन्झट र कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । कच्ची सडक हुँदा बेनी आवतजावत गर्न एक घण्टा लाग्नेमा अहिले १५ मिनेटमा सहजै पुग्न सकिने भएको उहाँले बताउनुभयो । 

पूर्वाधार विकास कार्यालयले बेनी–पाखापानी सडक योजनामार्फत बेनी नगरपालिका–९, भुतादैलादेखि नेप्टेचौर खण्डमा कालोपत्रे गरेको हो । कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर डा. महेन्द्र बानियाँका अनुसार कालोपत्रे भएको सडकमा रङ लगाएर डिलतर्फ बार राख्ने र ट्राफिक सङ्केत चिह्न राख्ने काम पनि अन्तिम चरणमा पुगेको छ । 

उहाँले भन्नुभयो, “निर्माण व्यवसायीले तोकिएको समयभन्दा अघि नै योजना सम्पन्न गर्ने सङ्केत देखिएको छ तर कार्यालयका तर्फबाट व्यवसायीलाई करिब दुई करोड ५० लाख रुपियाँ भुक्तानी दिन बाँकी छ ।” 

बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले सडक कालोपत्रे भएपछि स्थानीयवासीलाई बेनीसम्म आवतजावत गर्न सहज भएको बताउनुभयो । २०५६ सालमा तत्कालीन जिल्ला विकास समितिले खन्न सुरु गरेको सडक स्थानीय सरकार र सङ्घ तथा प्रदेशका जनप्रतिनिधिको पहलमा २६ वर्षपछि मात्र कालोपत्रे भएको उहाँको भनाइ छ । 

यसै योजना अन्तर्गत रहेको नेप्टेचौर–तोरीपानी खण्डमा सडक फराकिलो, टेवा पर्खाल, नाली निर्माण, सडक ढलान र ग्राभेल गरिएको सबइन्जिनियर चोखालले जानकारी दिनुभयो । तोरीपानीदेखि पात्लेखेत, झीँ हुँदै पाखापानीसम्मको सडक स्तरोन्नति गरी कालोपत्रे गर्न आगामी आर्थिक वर्षका लागि समपूरक योजनाका लागि करिब ३० करोड रुपियाँ बराबरको बजेट गण्डकी प्रदेश सरकार समक्ष प्रस्ताव गरिएको कार्यालय प्रमुख डा. बानियाँले बताउनुभयो । 

सदरमुकाम जोड्ने यो सडक स्तरोन्नति भएपछि बेनी नगरपालिकाका ६, ९, १० वडा र रघुगङ्गा गाउँपालिका–५, झीँ र ६ नम्बर वडा पाखापानीका स्थानीयलाई सदरमुकाम बेनी आवतजावत गर्न सहज हुने छ ।