• १९ माघ २०८२, सोमबार

विरासत जोगाउने ठुला दलको दौडधुप

blog

सुर्खेत समाचारदाता

सुर्खेत, माघ १९ गते । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पुराना दल विगतको विरासत जोगाउने कसरतमा छन् । 

अघिल्लो निर्वाचनमा जितेको कांग्रेसले यस पटक पुनः आफ्नो क्षेत्र कसरी सुरक्षित राख्ने दाउमा छ भने एमालेलगायत दल कांग्रेसको त्यो विरासत तोडेर आफ्नो पक्षमा कसरी ल्याउने दाउमा छन् । गत चुनावमा सुर्खेतका दुई वटा निर्वाचन क्षेत्रमा कांग्रेसले जितेको थियो । क्षेत्र नं. १ मा कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ४२ हजार ६०७ र क्षेत्र नं. २ मा पूर्वमन्त्री हृदयराम थानीले ३४ हजार ६२५ मत प्राप्त गरी जित्नुभएको थियो । दुवैमा प्रत्यासी क्रमशः नेकपा (एमाले) का ध्रुवकुमार शाही र अमृतबहादुर बुढाक्षेत्री हुनुहुन्थ्यो । 

खड्का २०४८ सालदेखि र थानी २०५१ सालदेखि उम्मेदवार बन्दै आउनुभएको थियो । खड्का २०४८, २०५१, २०५६, २०७० र २०७९ मा निर्वाचित हुनुभएको थियो भने २०६४ मा समानुपातिबाट निर्वाचित हुनुभएको थियो । खड्का २०७४ मा मात्र पराजित हुनुभएको थियो । 

यस्तै थानी २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा गरी छ पटक उम्मेदवार बन्दा तीन पटक जित्नुभएको थियो भने तीन पटक पराजित हुनुभएको थियो तर यस पटकको चुनावमा खड्का र थानी दुवै जना उम्मेदवार बन्नुभएको छैन । सुर्खेतमा हेभिवेट नेताको छवि बनाउनु भएका उहाँ दुवै जना उम्मेदवार बन्नुभएको छैन । विशेष गरी सुर्खेतमा कांग्रेस र नेकपा (एमाले) को सधैँ आलोपालो भइरहन्छ । यस पटक नेकपा (एमाले) ले नतिजा आफ्नो पोल्टामा पार्न सकिने दाबी गरिरहेको छ । 

एमालेले सुर्खेत क्षेत्र नं. १ मा ध्रुवकुमार शाहीलाई उम्मेदवार बनाएको छ । विगतमा कांग्रेस निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग चुनाव लडेको अनुभव उहाँलाई छ । अघिल्लो निर्वाचनमा उहाँ नौ हजार ६१९ मतले पछि पर्नुभएको थियो । उहाँले ३० हजार ९८८ मत प्राप्त गर्नुभएको थियो । यस्तै क्षेत्र नं. २ मा एमालेले कुलमणि देवकोटालाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा एमालेका अमृतबहादुर बुढाक्षेत्रीले कांग्रेसका थानीभन्दा पाँच हजार ६७ मतले पछि पर्नुभएको थियो । बुढाक्षेत्रीले २९ हजार ५५८ मत प्राप्त गर्नुभएको थियो । 

एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गङ्गाराम तिमिल्सेनाले यस पटक सवै दल एक्लाएक्लै निर्वाचनमा गएकाले एमालेले जित्ने दाबी गर्नुभएको छ । अघिल्लो निर्वाचनमा कांग्रेस र माओवादीको गठबन्धन भएकोले आफ्नो उम्मेदवार थोरै मतले पछाडि परेको भन्दै यस पटक सङ्गठन बलियो भएको हुँदा विगतको कांग्रेसको विरासत तोडिने जिकिर गर्नुभयो । 

उता कांग्रेसले भने सुर्खेतमा आफ्नो विरासत कायमै राख्ने जनाएको छ । कांग्रेसले गरेको विकास निर्माणका साथै पार्टी कार्यकर्ता एकढिक्का भएको हुँदा यस पटक पनि जितेको विरासत कायमै राख्ने गरी निर्वाचनमा उत्रिएको कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदीले बताउनुभयो । यस पटक कांग्रेसले सुर्खेत क्षेत्र नं. १ मा विष्णुबहादुर खड्का र क्षेत्र नं. २ मा नारायण कोइरालालाई उम्मेदवार बनाएको छ । खड्का कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काका सहोदर भाइ हुनुहुन्छ भने कोइराला कांग्रेस नेता हृदयराम थानी निकट हुनुहुन्छ । 

कांग्रेसको विरासतलाई तोड्नका लागि एमालेपछि नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी पनि अग्रसर छन् । नेपाली कम्युनिस्ट पार्टीले क्षेत्र नं. १ मा जितबहादुर राना र क्षेत्र नं. २ मा झकबहादुर मल्लाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले क्षेत्र नं. १ मा टेकबहादुर सिंह र क्षेत्र नं. २ मा रमेशकुमार सापकोटालाई उम्मेदवार बनाएको छ ।