अध्ययन, अध्ययनपछि आकर्षक तलबसहितको काम तथा उच्च जीवनस्तरको लालशाले विदेश जाने नेपाली दिन प्रतिदिन बढ्दैछन् । नेपालीका लागि विदेश जानु भनेको एउटा ‘संस्कार’ नै बनिसक्यो भन्दा फरक पर्दैन । अमेरिका, अस्ट्रेलिया, युरोपेली देश तथा खाडीलगायत मुलुकमा धेरै नेपाली जाने गरेका छन् । यसरी जानेहरू कोही उतै पलायन हुन्छन् भने कोही स्वदेश फर्कन्छन् । अमेरिका, अस्ट्रेलिया र युरोपेली देश जानेमध्ये धेरै उतै बस्छन् भने अन्य मुलुकमा जानेहरू स्वदेश फर्कन्छन् । विशेषगरी काम र अध्ययनका लागि नेपाली विदशे जाने गर्छन् । यसरी विदेश जानेमा नेपाली खेलाडी पनि पर्छन् । नेपालमा खेलेर के नै हुन्छ र ! भन्ने नकारात्मक सोच र असन्तुष्टिले नेपाली खेलाडी विदेश पलायन हुने गरेका छन् ।
हालै मात्र दुई फुटबलर फरवार्ड दर्शन गुरुङ र मिडफिल्डर सन्तोष तामाङ राष्ट्रिय फुटबल टिमबाट खेलिरहेको बेला नै अस्ट्रेलिया उडेपछि खेलाडी पलायनको बहस नेपाली खेलकुदमा पुनः तरङ्गित भएको छ । दर्शनले त अस्ट्रेलिया जानु केही हप्ताअघि एसियन कप छनोटको तेस्रो चरणमा कुवेतविरुद्ध ऐतिहासिक गोल गर्नुभएको थियो । जुन गोल नेपालले कुवेतविरुद्ध ४० वर्षपछि गरेको थियो । सन् १९८२ मा एसियाली खेलकुदमा वाइबी घलेले कुवेतविरुद्ध गरेको गोल नेपालले औपचारिक अन्तर्राष्ट्रिय फुटबलमा गरेको पहिलो गोल हो । त्यसपछि कुवेतविरुद्ध दर्शनले गर्नुभएको यही गोल हो । सिर्जनात्मक फुटबल खेल्ने सन्तोषलाई पनि नेपालको राष्ट्रिय टिमका लागि लामो समयसम्म योगदान दिन सक्ने खेलाडीका रूपमा लिइएको थियो । सन्तोष त लामो समयदेखि विभागीय टिम नेपाल आर्मी क्लबका प्रमुख खेलाडीमध्ये एक पनि हुनुहुन्थ्यो । आर्थिक रूपमा सन्तोषलाई भविष्यका बारेमा चिन्ता लिनुपर्ने अवस्था पनि त्यति देखिँदैन ।
यतिखेर नेपाली फुटबलरहरूको आकर्षक गन्तव्य बनेको छ– अस्ट्रेलिया । केही महिनाअघि अन्य दुई राष्ट्रिय फुटबल खेलाडी सुमन लामा र आशीष लामा पनि अस्ट्रेलिया जानुभएको थियो । यी दुवै अस्ट्रेलिया जानुअघि राष्ट्रिय टिमका सदस्य हुनुहुन्थ्यो । केही वर्षअघि अन्य दुई राष्ट्रिय फुटबलर हेमन गुरुङ र गोलरक्षक एलन न्यौपानेले पनि फुटबल क्यारियरभन्दा अस्ट्रेलियालाई नै रोज्नुभएको थियो । राष्ट्रिय टिममा पुग्ने सम्भावना बोकेका एनआरटीका गोलरक्षक अजीत प्रजापति पनि यसै वर्ष अस्ट्रेलिया जानुभयो । गत वर्ष सङ्कटा क्लबबाट लिग खेलरहेका निरज बस्नेत न्युजिल्यान्ड जानुभयो । हुन त अहिले खेलाडीहरू वैधानिक रूपमै विदेश पलायन हुने गरेका छन् । केही समयअघि नेपालका प्रायः खेलाडी अन्तर्राष्ट्रिय सहभागिताकै क्रममा गैरकानुनी तवरले विदेश पलायन हुने गर्थे । सन् १९९४ को विश्वकपका लागि एसियाली समूहको छनोट चरण खेल्न जापान पुगेको नेपाली फुटबलरहरू राजेश थापा, सौगेश श्रेष्ठ, बबिन विष्ट र नरेन्द्र श्रेष्ठ टिमसँग नेपाल फर्कनुभएन । जुन नेपाली खेलकुद वृत्तमा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन जाँदा खेलाडी लुकेको पहिलो अवसर थियो ।
त्यसपछि एसियन कप छनोट खेल्न गएकै बेला नारायण मानन्धर, दीपक लामा र शुक्र तामाङ दक्षिण कोरियामा लुकेको विषयले पनि घरेलु खेलकुद वृत्त नै हल्लिएको थियो । यसबाहेक विदेशमा सहभागिताकै क्रममा लुकेका अन्य खेलका नेपाली खेलाडी पनि छन् । यसले गर्दा विकसित राष्ट्रमा प्रतियोगिता आयोजना हुँदा नेपाली खेलाडीलाई सहभागी गराउन ती देशले दुई पटक सोच्ने गरेको उदाहरण पनि छन् । सहभागिताका क्रममा उतै रोजगारको थलो बनाएपछि ती देशको नेपाली खेलाडीप्रतिको दृष्टिकोणमा परिवर्तन आउनु स्वाभाविक पनि थियो; जसले गर्दा नेपाली खेलाडी धेरै स्तरीय प्रतियोगितामा सहभागी हुनबाट वञ्चित पनि भए ।
नेपाली खेलाडी अध्ययन, रोजगारलगायत अन्य विभिन्न बहानामा विदेश जाने गरेका छन् । यद्यपि प्रायः नेपाली खेलाडीले विदेशमा प्रवेश पाउने प्रमुख कारण भनेको खेलाडी भएर नै हो । नेपालमा खेलाडी बन्नु भनेको विदेश जाने लाइसेन्स बनाउनु हो भन्दा फरक पर्दैन । नेपाली फुटबलका पूर्व राष्ट्रिय खेलाडीहरू उमेश प्रधान, दीपक अमात्य, देवनारायण चौधरी, राजन रायमाझी, प्रलय राजभण्डारी, वसन्त थापा, विराट थापा, प्रशान्त गिरी, राजकुमार श्रेष्ठजस्ता फुटबलर लामो समयदेखि अमेरिकामा नै रहनुभएको छ । वसन्त गौचन र सन्तोष साहुखलजस्ता चर्चित फुटबलर जापानमा हुनुहुन्छ । यी त फुटबल खेलाडी विदेशिएका केही उदाहरण मात्र हुन् । विदेशलाई कर्मभूमि बनाएका अन्य खेलका नेपाली खेलाडीको सूची पल्टाउने हो भने झन् लामो छ ।
अब प्रश्न उठ्छ, परिवारलाई छोडेर, देशले दिएको मानसम्मान लत्याएर खेलाडी किन विदेशमा दुःख गर्न जान्छन् ? खेलाडीले यसको जवाफ यस्तो दिने गरेका छन्– नेपाली खेलकुदमा भविष्य छैन । सुरक्षित भविष्य नभएर हामी विदेश जान बाध्य छौँ । रहरले होइन बाध्यताले देश छोडेका हौँ आदि । यद्यपि दीपक विष्ट र सङ्गीना वैद्यजस्ता खेलाडी स्वदेशमै बसिरहनुभएको छ । स्वदेशलाई नै कर्मभूमि बनाइरहनुभएको छ । ओलम्पियन सङ्गीनाले एक पटक यस पङ्क्तिकारसँगको कुराकानीमा भन्नुभएको थियो– खेलाडीको पहिलो लक्ष्य तक्मा झुन्ड्याउने नै हुन्छ ।
व्यक्तिगत भविष्यप्रति सचेत हुँदा उनीहरू पलायन हुने गरेको देखिन्छ तर खेलाडीले व्यक्तिगत स्वार्थबाट माथि उठी राज्यले आफूमाथि गरेको लगानीबारे सोच्नुपर्छ । मलाई पनि विदेशमै बस्ने प्रस्ताव नआएको होइन । बैङ्ककमा एसियन तेक्वान्दोमा पदक जितेपछि अमेरिका जाँदा टेक्सासमा बस्ने प्रस्ताव आएको थियो । अहिले पनि जान सक्छु तर यहाँसम्म पुग्नलाई राष्ट्रले मलाई ठूलो लगानी गरेको छ । यसैले मैले सकेसम्म यहीँ बसेर यो गुन तिर्नुपर्छ । हुन पनि तेक्वान्दोबाट सन्न्यास लिएपछि सङ्गीनाले प्रशिक्षकका रूपमा नयाँ तेक्वान्दो खेलाडी उत्पादन गरिरहनुभएको छ । यद्यपि तेक्वान्दोकी सुपरस्टार सङ्गीनालाई विदेश पलायन हुने खेलाडीप्रति कुनै गुनासो छैन ।
तर यसो भन्दैमा खेलाडी आफ्नो खेल जीवन चलिरहेकै अवस्थामा विदेसिनुलाई शतप्रतिशत सही पनि मान्न सकिन्न । एउटा खेलाडी उत्पादनमा देशले धेरै लगानी गरेको हुन्छ । त्यसैले ती खेलाडी विदेसिँदा देशलाई ठूलो धक्का पुगिरहेको हुन्छ । खेलाडीले प्रतिष्ठा र नामलाई नभई दामलाई प्राथमिकता दिइरहेको देखिन्छ । खेलाडीमा यस्तो प्रवृत्ति हावी भएमा यसले नवआगन्तुक खेलाडीलाई पनि नराम्रो असर गर्छ । यति भन्दाभन्दै पनि खेलाडी विदेसिनुमा ती खेलका सङ्घ र सरकारको दोष नै बढी छ भन्दा गलत नठहर्ला । खेलाडी जीवन खेलाडीका लागि अविस्मरणीय समय हो । एक चर्चित खेलाडी देशका सेलिब्रेटी नै हुन्छन् तर खेल जीवन निरन्तर सुमधुर तरिकाले अगाडि बढ्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । उमेर, चोट, परिस्थिति, राजनीति, विपक्षी आदि विविध कारणले एक खेलाडीको खेलजीवन कुनै न कुनै समय ओरालो लाग्न सक्छ । त्यसैले नेपालका प्रायः खेलाडीले आफ्नो खेलजीवन सकिनै लाग्दा भविष्यबारे चिन्ता लिनुपर्ने स्थिति आइसकेको हुन्छ । फेरि खेल सङ्घहरूले आफ्ना खेललाई व्यावसायिक बनाउन पनि सकेका छैनन् । नेपालकै सबभन्दा चर्चित खेल फुटबल र क्रिकेट पनि अर्धव्यावसायिक तरिकाले मात्र अगाडि बढिरहेको छ । सरकारले पनि खेलाडीलाई खेलेर बाँच्नसक्ने स्थिति बनाउन सकेको छैन ।
सरकारले अन्य क्षेत्रभन्दा खेलकुदलाई कमै मात्र प्राथमिकतामा राखेको छ । खेलाडीलाई राज्यको गहना भन्दै भाषण गरिन्छ तर उनीहरूको जीवनयापन र भविष्य सुरक्षित गर्न ध्यान दिन सकिएको छैन । त्यसैले खेलाडी अनिश्चित भविष्यको डरले पलायन हुने कठिन निर्णय लिन बाध्य हुन्छन् । यसबारेमा सरकारी मौनता आश्चर्यजनक विषय बनेको छ । हुन त खेलाडी मात्र होइन, समय–समयमा युवा शक्ति पलायन रोक्न ठूलाठूला कुरा यहाँ हुन्छन् तर सार्थक प्रयास खरायोको सिङ बनेको छ । सरोकारवाला यस विषयमा गम्भीर हुन जरुरी छ ।