अविनाश चौधरी
धनगढी, माघ १७ गते । कैलालीको धनगढी उपमहानगरपालिका–७, देवहरिया उद्यान क्षेत्रमा पहिलो पटक दुर्लभ राजलाहाँचे फेला परेका छन् ।
कैलालीको अन्य क्षेत्रमा देखिँदै आएको विश्वमै दुर्लभ यो प्रजातिको चरा जाखोर ताल क्षेत्र नजिक उद्यान परिसरमा फेला परेका हुन । मानव बस्तीमा रहेको रुखमा शनिबार बिहान दुई वटा राजलाहाँचे देखिएका थिए ।
विश्वमा दुर्लभ यो प्रजातिको चरालाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) ले संवेदनशील चराको सूचीमा राखेको छ । चराविद हिरुलाल डङ्गौराका अनुुसार सालको जङ्गल रहेको विभिन्न क्षेत्रमा राज लाहाँचे देखा देखिदैँ आएका छन् । देवहरिया उद्यान क्षेत्रमा सालको रुख रहेकाले राजलाहाँचे यहाँ आएको उहाँको भनाइ छ ।
डङ्गौराले यसअघि, धनगढी उपमहानगरपालिकाकै पटेला र बेली क्षेत्रमा राजलाहाँचे फेला परेका जानकारी दिनुभयो । ३० फिट भन्दा माथि अग्ला अग्ला सालको रुखमा यो प्रजातिका चरा बस्ने गर्दछन् । कैलालीमा सबैभन्दा पहिले सन २०१४ मा घोडाघोडी ताल क्षेत्रमा राजलाहाँचे अभिलेख गरिएको थियो ।