धनगढी समाचारदाता
धनगढी, माघ १७ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जेनजी आन्दोलनपछि उठेका सवाललाई नयाँ जनादेशमार्फत सम्बोधन गरिने बताउनुभएको छ ।
कैलालीको लम्कीमा बिहीबार नेपाली कांग्रेसका कार्यकर्तासँग भेटघाटका क्रममा उहाँले यस्तो बताउनुभएको हो । नयाँ जनादेशमार्फत जेनजीका सवाल सम्बोधन गर्नका लागि मुलुकमा चुनाव आवश्यक रहेको उहाँको भनाइ थियो । प्रदेश सरकारको प्रमुखको हैसियतले निर्वाचन सम्पन्न गराउनु आफ्नो दायित्व भएको उल्लेख गर्दै मुख्यमन्त्री शाहले भन्नुभयो, “निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै चुनावलाई सफल बनाउन प्रतिबद्ध छौँ ।” उहाँले एकता नै बल हो भन्ने मान्यतालाई आत्मसात् गर्दै एकताबाट मात्रै नयाँ सम्भावना र सकारात्मक परिवर्तन सम्भव रहेको बताउनुभयो ।
भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनु सरकारको प्रमुख दायित्व रहेको उहाँको भनाइ थियो । नेपाली कांग्रेसले नेतृत्व लिएकै कारणले आज मुलुक निर्वाचनमय भएको मुख्यमन्त्री शाहले बताउनुभयो । उहाँले सरकारबाट निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा दलहरू तथा युवा वर्गसँग पर्याप्त छलफल नभएको भन्दै निर्वाचन नहुने भ्रम फैलाउने प्रयास भइरहेको बताउनुभयो । यस्ता भ्रमका बाबजुद सरकार निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन दृढतापूर्वक लागि परेको उहाँको भनाइ थियो ।
थारू समुदायको मुद्दामा जेनजीको चासो
संविधानमा आफ्नो हक, अधिकार स्थापित गराउनका लागि पटक पटक आन्दोलन गरेको थारू समुदायको मुद्दाप्रति जेनजीले चासो दिएको छ । प्रतिनिधि सभा सदस्यको निर्वाचनपछि संविधान संशोधनका सवालमा उठ्न सक्ने मुद्दाबारे सरकारलाई अवगत गराउनका लागि जेनजीले थारू समुदायको मुद्दाप्रति चासो दिएको हो । संविधान निर्माणका क्रममा थारू समुदायले विभिन्न समयमा थरुहट आन्दोलन गरेको थियो । सोही आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीमा हिंसात्मक टीकापुर घटना भएको थियो ।
संविधान संशोधन हुने विषयमा भोलि केही मुद्दा उठेमा थारू समुदायले के चाहन्छन् भन्ने कुरा जेनजीले बुझ्न चाहेको जेनजी सिभिक फोरमकी तनुजा पाण्डेयले बताउनुभयो । “थारू समुदायको मुद्दाबारे हामी आफैँ पनि सुसूचित हुन चाहन्छौँ,” उहाँले भन्नुभयो, “थाहा नपाई बोल्दा कतिपय कुरा बिग्रिन्छन् । त्यसैले थाहा पाउनका लागि यहाँ आएका हौँ ।” राज्य स्थिर हुनका लागि चुनाव हुनुपर्ने भए पनि चुनाव आफैँमा निकास भने नरहेको उल्लेख गर्दै पाण्डेयले चुनावपछि के हुने भन्ने प्रश्नको उत्तर अझै अन्योल रहेको उल्लेख गर्नुभयो ।
छलफलमा थारू कल्याणकारिणी सभा कञ्चनपुरका सभापति सानु चौधरीले थरुहट आन्दोलनपछि राजनीतिक रूपमा थारू समुदाय केही अगाडि बढे पनि थारूलाई नेतृत्वमा ल्याउन नचाहने, ठाउँ दिन नचाहने, नेतृत्व स्विकार्न नसक्ने शासक मनोवृत्ति अझै कायमै रहेको बताउनुभयो । उहाँले थारूलाई अगाडि बढ्न नदिने षड्यन्त्र विगतमा पनि भएको र अहिले पनि जारी रहेको उल्लेख गर्नुभयो ।
जेनजीले ठुलो आँट गरेर मुलुकमा आन्दोलन गरेको भन्दै सभापति चौधरीले यो आन्दोलनपछि अब चाहिँ नेताको अलिकति चेत खुल्ने आशा पलाएको बताउनुभयो । उहाँले आन्दोलनकै प्रतिफलस्वरूप अहिलेको निर्वाचनमा दलले युवालाई पनि ठाउँ दिएको उल्लेख गर्नुभयो । त्यस्तै नागरिक समाजका गीता चौधरीले थारू भएकै कारण थारू समुदायका व्यक्तिले चुनावसमेत लड्न नपाइरहेको गुनासो गर्नुभयो । “रेसमलाल चौधरीको उम्मेदवारी नै रद्द गरिनु थारू समुदायमाथिको विभेद हो,” उहाँले भन्नुभयो, “त्यस्तै मुद्दा लागेका भ्रष्टाचारमा मुछिएका अरू सबै चुनाव लड्न योग्य हुने, रेसम मात्रै किन अयोग्य ?”