• १७ माघ २०८२, शनिबार

कञ्चनपुरमा जेनजी युवाले माग्नुभयो माफी

blog

झलारी बजारमा भेला भएर उठबस गर्नुहुँदै जेनजी समूहका युवाहरू । तस्बिर : भवानीदत्त भट्ट

भवानीदत्त भट्ट
कञ्चनपुर, माघ १७ गते ।
कञ्चनपुरमा जेनजी समूहका युवाहरूले आत्मिक प्रतिबद्धता गर्दे सार्वजनिक क्षेत्रमा उठबस गर्नुभएको छ । शुक्रबार साँझ जेनजी समूहका झन्डै ३० बढी किशोर तथा युवाहरूले आत्मिक प्रतिबद्धता गर्दै १० पटक उठबस गर्नुभयो।

शुक्लाफाँटा नगरपालिका–१० स्थित झलारी बजारमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट जेनजीका प्रतिनिधिहरूले झलारीमा भेला भएर विगतमा भएका गल्ती कमजोरी महसुस गर्दे कान समातेर उठबस गर्नुभएको हो ।

मुलुक निर्वाचनमय भएका बेला जेनजी समूहका युवाहरूले गरेको यस्तो किसिमको गतिविधिलाई अर्थपूर्ण ढङ्गले हेरिएको छ । जेनजी समूहका युवाहरू भदौ २३ र २४ गतेको आन्दोलनमा भएका गल्ती कमजोरीलाई स्विकार्दे आगामी निर्वाचन पछि भने अझै सडक आन्दोलनमा होमिने समेत बताउनुभएको छ ।  

मिराज ढुंगाना समर्थक कञ्चनपुर क्षेत्र–२ का स्वतन्त्र उम्मेदवार हरिसबहादुर भट्टले भ्रष्टाचार गर्ने नेताहरूले माफी नमागेको भन्दै शुक्रबार झलारीमा उठबस गरिएको बताउनुभयो । आगामी दिनमा मुलुकको व्यवस्था परिवर्तनका लागि फरक ढङ्गले अगाडि बढ्ने उहाँ बताउनुहुन्छ ।

मुलुकभरि बाटै विभिन्न क्षेत्रबाट उम्मेदवारहरू चुनावी मैदानमा होमिनुभएको छ । तर ढुंगाना समर्थक स्वतन्त्र उम्मेदवार भट्टले भने मतदाताहरू सँग मत माग्नुको साटो मत नदिन अनुरोध गरिरहनुभएको छ । मतदाताहरूलाई मानसिक तवरले परिवर्तन गर्ने भन्दै उहाँ विवेक प्रयोग गर्न सुझाउँदै आएको बताउनुहुन्छ ।

मत दिए भने मुलुकको विद्यमान व्यवस्था परिवर्तन गर्नका लागि सदनबाट आवाज उठाउने तर मत नदिए पुनः सडक आन्दोलनबाट व्यवस्था परिवर्तनका लागी सङ्घर्ष गर्ने उहाँले चुनावी एजेन्डा नै बनाउनुभएको छ ।

विद्यमान व्यवस्थाविरुद्धमा यस अघि जेनजी आन्दोलन भए पनि जेनजीका मागहरू भने पूरा हुन नसकेको भन्दै उहाँले देशको विद्यमान व्यवस्था परिवर्तन गर्नका लागि आफुले पनि स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभयो । तर उहाँले आफूलाई मत नखसाल्न समेत आग्रह गर्नुभयो । उहाँले दलीय उम्मेदवारहरुलाई विजयी गराए भने सडक आन्दोलन गरेर पनि मुलुकको व्यवस्था फेर्ने चेतावनी समेत दिनुभयो ।