• १५ माघ २०८२, बिहिबार

बाजा बनाउँदै कृष्णबहादुर

blog

रेसुङ्गा समाचारदाता

रेसुङ्गा (गुल्मी), माघ १५ गते । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४, बलेटक्सार थाइनडाँडाका ६१ वर्षीय कृष्णबहादुर नेपालीको ३० वर्ष छालाको काम गरेरै बित्यो । यो नेपालीको पुख्र्यौली पेसा हो । हजुरबुवा नरबहादुरका समयमा छालाको काम खुबै हुन्थ्यो । जुत्ता, वाद्यवाधनका साधनदेखि घोडाको काठीसम्म बनाउनेले नरबहादुरलाई निकै खोज्थे । 

बुवा गुन्जबहादुरको पालाका छालाको काम केही कम भए पनि कृष्णबहादुरले तीन दशकदेखि छालाको काम गरेरै परिवारको गर्जो टार्नुभएको छ । सुरुमा जिल्लाबाट छाला निर्यात गर्ने काम गर्नुभएका कृष्णबहादुरले अहिले मादल, नौमती बाजा सेट र नेवारी बाजासहितका सामग्री घरमै बनाउनुहुन्छ । काम गर्न सके बेच्न बजार खोज्न पर्दैन । नियमित घरमै आउने ग्राहकले काम पुगेको नेपालीले बताउनुभयो । उहाँका अनुसार आफ्नो समुदाय गाउँमा ३०/३५ घर भए पनि कसैले छालाको काम गर्दैनन् । छालाको काम फोहोरी भएकाले नयाँ पुस्तामा आकर्षण पनि छैन । उहाँले भन्नुभयो, “हातले नै बनाउने छालाको फोहोरी काम नयाँले गर्दैनन्, पुराना मरेर सकिए । मैलेसम्म हातको सिपले ज्यान र परिवार पालेँ ।”

अहिले बजारका नक्कली बाजाका कारण सोचे अनुसारको व्यापार छैन । कृष्णबहादुर स्थानीय काठेगोरुको छाला र कच्चा पदार्थमार्फत बाजा बनाउनुहुन्छ । बाजा कस्ने काममा सबैभन्दा बढी सिप चाहिन्छ । स्थानीय सामग्री र ओसेपमा कसेको बाजा बर्सौं टिक्ने नेपालीको अनुभव छ । 

४०/४५ वर्षपहिले बुवाले बनाएका बाजा अहिलेसम्म आफूले मर्मत गरिरहेको कृष्णबहादुरले बताउनुभयो । उहाँले नेवार समुदायका चार जिल्लाका बाजा बनाउँदै आएको बताउनुभयो । बजारको तुलनामा आफूहरूको बाजा निकै गुणस्तरीय हुने भएकाले केही महँगो भएको नेपालीले बताउनुभयो ।