• १५ माघ २०८२, बिहिबार

निर्वाचनभन्दा बालीको चिन्ता

blog

छाडा चौपाया धपाउन राति खेतमै बसोबासका लागि किसानले बनाएका बेरा र झुपडी । तस्बिर : अविनाश चौधरी

धनगढी समाचारदाता

धनगढी, माघ १५ गते । प्रतिनिधि सभा निर्वाचनको चुनावी सरगर्मी बढिरहेका बेला कैलालीका किसानमा भने चुनावभन्दा पनि कृषिबालीको चिन्ता छ । छाडा चौपाया समस्याका कारण हिउँदेबाली जोगाउन हम्मेहम्मे भएको छ । उनीहरूलाई चुनावी कुरा र भाषण सुन्नुभन्दा पनि आफ्नै खेतीपाती कसरी जोगाउने भन्ने पिरलो छ । 

यतिबेला गहुँ, मुसुरोलगायतका हिउँदेबाली पसाउने र दाना लाग्ने क्रममा छ । यसैबेला छाडा चौपायाले धेरै नोक्सान गरिरहेकाले कृषिबालीको चिन्ता रहेको कैलारी गाउँपालिका–७ का कृषक राजकुमार चौधरीले बताउनुभयो । उहाँले गहुँ, मुसुरो जोगाउन रातभर खेतमा जाग्राम बस्ने गरेको भन्दै थप्नुभयो, “चुनाव जितेकाले हामी किसानलाई मतलब गर्दैनन् । चुनावभन्दा पनि हामीलाई आफ्नै बाली जोगाउने चिन्ता छ ।”

कैलालीको कैलारी, भजनी, टीकापुर, लम्कीचुहा, बर्दगोरिया, धनगढी, गोदावरी, गौरीगङ्गा, घोडाघोडीलगायत तराईका सबै पालिकामा छाडा चौपायाको समस्या छ । छाडा चौपाया व्यवस्थापनका लागि स्थानीय तहले करोडौँ खर्च गरिसकेका छन् तर समस्या अझै ज्युँका त्युँ छ । 

दिनभर जङ्गलमा बस्ने छाडा चौपाया राति खेतमा पुगेर कृषिबालीमा नोक्सान गर्ने गरेको किसानले बताएका छन् । बाली जोगाउन रातभर खेतमा जाग्राम बस्ने र दिनभर घरकै काममा व्यस्त रहने गरेका कारण चुनावप्रति खासै चासो नदिएको कैलारी गाउँपालिका–५ का कृषक बाँधुराम डङ्गौराले बताउनुभयो । उहाँले रातभरि खेतमा बसेर बाली खान आएका चौपायालाई धपाउने गरेको उल्लेख गर्नुभयो । 

चुनाव आएका बेला राजनीतिक दल र नेताले छाडा चौपाया समस्या समाधानसहित किसानलाई आवश्यक पर्ने कृषि सामग्री, मलखादलगायतबारे चिल्ला कुरा गर्ने तर जितेपछि समस्या नहेर्ने गरेको किसानको गुनासो छ । कृषिप्रधान देशमा किसान समस्यैसमस्याबाट गुज्रिँदै आएको भन्दै उनीहरूले दलका नेता, उम्मेदवारलाई किसानको समस्यालाई चुनावी एजेन्डामा समेट्न आग्रह गरेका छन् ।