नवराज कट्टेल
विराटनगर, माघ १५ गते । सुनको मूल्य बढेसँगै चाँदी खरिदको मनस्थिति बनाएका उपभोक्ता दैनिक बढिरहेका छन् । विराटनगरमा सुनचाँदी कारोबार गर्दै आएका व्यवसायीका अनुसार अहिले सुन खरिद गर्न नसक्ने र चाँदी नपाइने स्थितिमा छ ।
विराटनगरका व्यवसायी जुगलकिशोर राठीका अनुसार उपभोक्ताको भिड दुई किसिमको छ । एउटा पुरानो सुन बेच्ने र अर्को काँचो चाँदी किन्ने तर बजारमा चाँदीको अभाव छ । राठीका अनुसार चाँदीको खपत औद्योगिक कच्चाका रूपमा बढेको छ । जसले उपभोक्ताका लागि अभाव सिर्जना गरिदिएको हो । राठीले विद्युतीय गाडी र सौर्य ऊर्जाको बढ्दो प्रयोगलाई चाँदी अभावका कारण रहेको बताउनुभयो । उहाँका अनुसार इभी गाडीको र सौर्य ऊर्जाको ब्याट्रीमा समेत चाँदीको खपत हुन्छ । संसारभर यी दुई वस्तुको प्रयोग बढिरहेको कुरा चाँदीसँग जोडिएको हो ।
सुनचाँदी व्यवसायी सङ्घ मोरङका अध्यक्ष शशिभूषण साहले बजारमा सुन किन्नेभन्दा बेच्ने वा ढाँचा परिवर्तन गर्ने उपभोक्ता धेरै देखिने बताउनुभयो । चाँदी बेच्नेभन्दा किन्नेको सङ्ख्या पछिल्ला दिनमा ह्वात्तै बढेको साहको भनाइ छ ।
नेपाल राष्ट्र बैङ्कले चाँदी आयातका लागि भुक्तानी सीमा बढाएको पनि छ । औद्योगिक कच्चा पदार्थ प्रयोजनका लागि चाँदी आयात गर्ने उद्योगी–व्यवसायीलाई विदेशी मुद्राको सटही बढाएको छ तर पनि चाँदीको अभाव हुनुको कारणबारे प्रस्ट पार्दै राठीले भन्नुभयो, “चीनले चाँदी निर्यात रोक्यो, त्यसको असर बजारमा देखिन्छ ।”
उहाँले अहिले सुनचाँदी व्यावसायी वा उद्योगीसँग मात्रै जोडेर धेरैले यसको कारोबार भइरहेको बुझ्ने गरे पनि अन्य मुलुकमा सोलार र इभी गाडीको बढ्दो प्रयोग र यसमा लाग्ने ब्याट्री उत्पादनमा आवश्यक कच्चा मानिने कुरा बुझ्न नसकेको बताउनुभयो ।
विराटनगरका अर्का सुनचाँदी व्यवसायी अरुण राठीले नेपाल राष्ट्र बैङ्कले पाँच लाख अमेरिकी डलरसम्मको सीमा बढाए पनि त्यसको प्रभाव बजारमा कम देखिरहेको बताउनुभयो । राठीले विवाहको सिजनमा समेत सुन र चाँदीको गहना बनाउन सुन खरिद गर्ने कम छन् । कतिपयले काँचो सुन र चाँदी किन्ने र भएका गहनाको ढाँचा परिवर्तन गरेर नयाँ वरबधुलाई लगाइदिने समेत गरेको व्यवसायी बताउँछन् ।
उपभोक्ता मात्रै हैन मूल्य बढ्दा व्यवसायीलाई समेत सास्ती नै रहेको छ । उपभोक्ताले गहना अर्डर गरिहाले भने पहिल्यै ७५ प्रतिशत भुक्तानी माग्नुपर्ने बाध्यतामा रहेको उनीहरू बताउँछन् । दिनदिनै बढ्दो मूल्यका कारण जुनदिन गहनाका लागि अर्डर हुन्छ त्यही दिन सुन किन्नुपर्ने दबाबमा व्यवसायी रहेका हुन् । अध्यक्ष साहका अनुसार मोरङमा १६५ जना व्यवसायी सङ्घमा आबद्ध छन् । मासिक तीन केजी सुन खपत हुने गरेको उहाँको भनाइ छ । महासङ्घलाई दैनिक २५ केजी सुनको कोटा प्राप्त हुन्छ । त्यसले जिल्लाका सङ्घमार्फत व्यापारीसम्म पठाउने गरेको छ ।
चाँदी भने खुला छ तर पाँच लाख अमेरिकी डलरको सीमासम्म सबै व्यापारीको हैसियत नपुग्ने भएकाले निश्चित आयातकर्तामार्फत खुद्रा बिक्रीका लागि पसलसम्म पुग्ने गरेको छ ।