• १३ साउन २०८१, आइतबार

सरकारी कार्यालय अपाङ्गमैत्री नहुँदा सेवा लिन सास्ती

blog

अपाङ्गता भएका व्यक्तिहरु सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाउन जाँदै भ¥याङमा । तस्विर : भवानी ऐर

भवानी ऐर

गोदावरी (कैलाली), असार ३१ गते । करिब ८० हजार अपाङ्गगता भएका व्यक्तिको बसोवास रहेको सुदूरपश्चिम प्रदेशमा कुनै पनि सरकारी कार्यालय अपाङ्गमैत्री छैनन् । अपाङ्गता भएकालाई सेवा सुविधा दियौं भन्ने सरकारका कार्यालयहरु आफुहरुको पहुँच बाहिर रहेकाले सेवा लिदाँ वा दिंदा सास्ती हुनेगरेको अपाङ्गता भएका व्यक्तिहरुको गुनासो छ ।

सरकारले अपाङ्गतामैत्री भवन अचारसंहिता जारी गरेको वर्षौं वित्दा पनि त्यसको पालना नहुँदा सास्ती खेप्नुपरेको उहाँहरुको गुनासो छ । विविध कारणले अपाङ्गता भएकाहरुको जनदवावपछि सरकारले २०६६ सालमा सरकारीलगायत सबै सार्वजनिक भवन अपाङ्गमैत्री बनाउनुपर्ने कानुन जारी गरेको थियो । 

त्यसपछि बनेका अधिकांश भवनहरु पनि अपाङ्गमैत्री नरहेको नेपाल पारा ओलम्पिक कमिटी सुदूरपश्चिमका अध्यक्ष दीर्घकुमार स्वारले बताउनुभयो । उहाँले भन्नुभयो– ‘काँही कतै नयाँ बन्दैगरेका भवनको ढोकामा स्लोभ राख्ने नामले अपाङ्गमैत्री भनेर अपाङ्गता भएका साढे पाँच लाख नेपालीलाई ठगेर विश्वलाई गुमराहमा राखिएको मात्रै हो ।’

पछिल्लो समयमा अपाङ्गता भएका व्यक्तिका लागि सरकारले विभिन्न सेवा सुविधा दिने गरेको भएपनि अधिकांश सरकारी कार्यालय अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका व्यक्तिले सहज सेवा उपभोग गर्न समस्या भएको अध्यक्ष स्वारको गुनासो छ । प्रदेश कानुन बनाउने तथा कार्यान्वयन ल्याउने सुदूरपश्चिम प्रदेश सरकारका कुनै पनि मन्त्रालय अपाङ्गमन्त्री नहुँदा केही दिनअघि ह्वीलचियरसहित अन्य मान्छेद्वारा बोकाएर आफुहरु मुख्यमन्त्री भेट्न सचिवालय पुगेको तीतो सत्य उहाँले सुनाउनुभयो । 

अपाङ्गता भएका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन हुन नसक्दा रोजगारीका अवसरबाट वञ्चित हुनु परेकाले शारीरिक, बौद्धिक तथा मानसिक जुनसुकै हिसाबले अशक्त भएकाहरुले चाहेजति प्रगति गर्न नसकेको उहाँहरुको गुनासो छ । व्यक्ति, समाज र देश निर्माणमा अपाङ्गता भएकाको सहकार्य खोज्न परिवारको माया, समाजको सद्भाव र सरकारले अवसर दिनुपर्ने राष्ट्रिय अपाङ्ग महासङ्घ, सुदूरपश्चिम प्रदेशका अध्यक्ष मानवहादुर साउदले बताउनुभयो । 

एक दुई गैरसरकारी बाहेक सुदूरपश्चिमका कुनै पनि सरकारी तथा सार्वजनिक भवनहरु अपाङ्गमैत्री नरहेको उहाँको भनाइ छ । उहाँका अनुसार सुदूरपश्चिम क्षेत्रमा मात्रै ८० हजारभन्दा बढी अपाङ्गता भएका व्यक्ति छन् । 

देशमा सङ्घीय गणतन्त्र, प्रजातन्त्र ल्याउन भएका ठूला राजनीतिक आन्दोलनमा अपाङ्गता भएका व्यक्तिको ठूलो योगदान रहेको भए पनि अपाङ्गता भएका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोणमा खासै परिर्वतन आउन नसकेको सो समुदायका सदस्यको गुनासो छ । सोही कारण राष्ट्र समुन्नतको बाटोमा हिंड्न नसकेको जनयुद्ध तथा जनआन्दोलनका घाइते अपाङ्ग उत्थान मञ्च सुदूरपश्चिका अध्यक्ष गम्भीर थापाले बताउनुभयो । 

अपाङ्गता भएका व्यक्तिलाई दुई चार पैसाको दयामाया देखाउनुभन्दा क्षमताअनुसारको रोजगारको अवसर दिनुपर्नेमा उहाँको सुझाव छ । सरकारी निकायले अपाङ्गता भएका व्यक्तिको मर्मलाई बुझेर हक हितका लागि केही पहल गर्न खोजेको भएपनि जति गर्नुपर्ने हो त्यति गर्न सकेको छैन् । कार्यालयहरु अपाङ्गमैत्री नहुँदा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई सेवा सुविधा ‘आकाशको फल आँखा तरी मर’ भएको छ थापाले भन्नुभयो ।