• १५ माघ २०८२, बिहिबार

हिउँदे वर्षासँगै हिमपात

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १५ गते । हिउँद सकिन एक महिना बाँकी रहँदा नेपालमा हिउँदे वर्षा र हिमपात भएको छ । मङ्सिर १५ देखि सुरु भएको यस वर्षको हिउँदयामको उत्तरार्धतिर आएर वर्षा र हिमपात भएको हो । बुधबार भएको हिमपात र वर्षाले किसान खुसी भएका छन् भने चुनाव प्रचारमा हिँडेका उम्मेदवार दुःखी भएका छन् । हिमाली तथा पहाडी भेगको जनजीवनसमेत हिमपात र वर्षाले बुधबार ठप्प बनेको स्थानीयवासीले बताएका छन् । भारी हिमपातका कारण सुदूरपश्चिम र कर्णाली भेगका हवाई उडानसमेत ठप्प रहे । पहाडी भेगका बाटा वर्षा र हिमपातले अवरुद्ध बने ।

मङ्गलबार रातिदेखि सक्रिय यस प्रणालीले सुदूरपश्चिमदेखि तथा बागमती प्रदेशको काठमाडौँ उपत्यकासम्म वर्षा गराउँदै पूर्वतर्फ सरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तथापि यस प्रणालीले नेपालका उच्च हिमाली भेगमा भारी हिमपात र पहाडमा राम्रो वर्षा गराएर गएको छ । 

काठमाडौँमा भने हल्का वर्षा मात्र भएको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस प्रणालीको प्रभावले देशका विभिन्न ठाउँमा मध्यमदेखि भारी हिमपातसमेत भएको छ भने राम्रै दरमा वर्षा पनि भएको पाइएको छ ।” सबैभन्दा बढी सुर्खेतमा ४३ मिलमिटर वर्षा रेकर्ड भएको छ । त्यसपछि रुकुमको सेरागाउँमा ३८ मिलिमिटर र जाजरकोटमा ३३ मिलिमिटर, बैतडीमा ३५.६, डडेलधुरामा ३३.२, बाजुरमा ३०.२, मनाङमा ३२.४ र डोल्पामा ३१ मिलिमिटर वर्षा रेकर्ड भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसपछि काठमाडौँमा २.२, ललितपुर र भक्तपुर दुवै क्षेत्रमा ४.८ मिलिमिटर वर्षा भएको छ । बागमतीदेखि पश्चिमका विभिन्न जिल्लामा पनि वर्षा भएको छ । 

जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माका अनुसार मङ्गलबार रातिदेखि मुस्ताङको मुक्तिनाथ क्षेत्र, कोरला नाका, मुस्ताङ डोल्पा याक खर्क क्षेत्र, मुस्ताङ, मनाङ, थोराङ्ला पासलगायतका क्षेत्रमा पनि भारी हिमपात भएको छ र कतिपय स्थानमा अझै हिउँ पर्ने क्रम जारी रहेको छ ।

हिमाली भेगका अधिकांश सडक ठप्प रहेकाले यात्रा नगर्न उहाँले भन्नुभएको छ । अन्य भेगका प्रमुख जिल्ला अधिकारीले पनि आफ्ना क्षेत्रका वासिन्दालाई एक दुई दिन घरभित्रै बस्न प्रजिअमार्फत भनिएको छ । काठमाडौँनजिकको कालिञ्चोक, शैलुङसहित दोलखाका तल्लो भेगमा पनि हिमपात भएको छ । 

किसानमा हर्ष

लामो समयपछिको वर्षा र हिमपातले किसान वर्गमा भने हर्ष छाएको छ । खेतबारीमा लगाएको आलु, सिमी, काउली, गोलभेँडालगायतका बेर्ना सुक्न लागेका बेला भएको वर्षाले बिरुवामा अमृतको काम गर्ने कृषि मौसमविद् रामेश्वर रिमाल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यो वर्षा र हिमपातले किसानका लागि सबै कुरामा राम्रो गरेको छ, राम्रो हिमपात हुँदा हिमालमा गहुँ, जौ, आलुसँगै अब लगाइने खाद्यान्न बालीसमेत राम्रो हुने छ ।” कोसा लाग्दै गरेको तोरीका लागि पनि अमृत वर्षासँगै चिसो केही दिन बढ्ने भएकाले बोटबिरुवामा छापो राख्न पनि उहाँले सुझाउनुभयो । 

निर्वाचन प्रचार र तयारीमा असर

किसानलाई खुसी तुल्याएको हिमपात र वर्षाले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको चुनाव प्रचारप्रसार तथा निर्वाचन तयारीका कार्यक्रममा भने अवरोध सिर्जना गरेको छ ।  हिमाली भेगका अधिकांश जिल्लामा सरकारले निर्वाचन सुरक्षाको तालिमको तयारी गरेकामा अचानक भएको हिमपातले प्रभावित बनेको ती क्षेत्रका सुरक्षा निकाय तथा सरकारी कार्यालयले जनाएका छन् । 

मुस्ताङमा बुधबारदेखि थालिने भएको निर्वाचनमा खटिने म्यादी प्रहरीका लागि तालिम प्रभावित बनेको मुस्ताङ प्रहरीले जनाएको छ । उक्त कार्यक्रम १८ माघका लागि सारिएको छ ।