• १४ माघ २०८२, बुधबार

अब विकासका एजेन्डामा केन्द्रित हुनुपर्छ : अध्यक्ष उपेन्द्र यादव

blog

कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव । तस्बिर : अध्यक्ष यादवको सचिवालय

राजविराज, माघ १४ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार, पहिचान, स्वाभिमान र समानताको संघर्षसँगै अब विकासका एजेन्डामा केन्द्रित भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित शान्ति चोकमा बुधबार आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेशले लामो समय अधिकार र पहिचानका लागि संघर्ष गरेको स्मरण गराउनुभयो । उहाँले अधिकार, पहिचान, स्वाभिमान र समानताका लागि गरिएको संघर्षले महत्वपूर्ण उपलब्धि हासिल गरिसकेको उल्लेख गर्दै अब मधेशको विकासका लागि नयाँ लडाइँ आवश्यक भएको बताउनुभयो ।

केन्द्र सरकारले मधेशबाट ठूलो परिमाणमा राजस्व संकलन गरे पनि विकास बजेट अत्यन्त न्यून आउने गरेको चर्चा गर्दै अध्यक्ष यादवले विगतमा सक्षम जनप्रतिनिधि चयन हुन नसक्दा प्रभावकारी रूपमा आवाज उठ्न नसकेको बताउनुभयो । त्यसकै कारण सप्तरी–३ निर्वाचन क्षेत्र विकासमा पछि परेको उहाँको भनाइ थियो ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका अध्यक्ष यादवले सप्तरी–२ बाट निर्वाचित भएपछि शिक्षा, स्वास्थ्य र यातायात क्षेत्रमा उल्लेखनीय काम अघि बढाएको चर्चा गर्नुभयो । 

उहाँले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान र कृषि विश्वविद्यालयको स्थापना तथा सञ्चालन, गजेन्द्रनारायण सिंह अस्पतालमा भौतिक पूर्वाधार निर्माण, महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा इन्जिनियरिङ भवन, अस्पताल परिसरमा नर्सिङ भवन, विद्यालयमा शैक्षिक भवन निर्माण, रुपनी–राजविराज, राजविराज–छिन्नमस्ता–न्यौर तथा राजविराज–हनुमाननगर–भारदह सडक निर्माण, पालिकालाई एम्बुलेन्स उपलब्ध गराउनेलगायत काम अघि बढाएको बताउनुभयो । तर आफ्नो अनुपस्थितिमा ती कामलाई निरन्तरता दिनुको साटो अवरोध सिर्जना गरिएको भन्दै उहाँले असन्तोष व्यक्त गर्नुभयो ।

विगतमा मधेश र मधेशी जनतामाथि भएको चरम विभेद र दमनविरुद्ध मधेशी जनअधिकार फोरम नेपालको नेतृत्वमा संघर्ष भएको चर्चा गर्दै अध्यक्ष यादवले फोरमसँगको सहमतिपछि गाउँगाउँमा नागरिकता टोली खटाएर नागरिकता वितरण गरिएको बताउनुभयो । 

मधेशी पहिचानलाई अपमानजनक शब्द प्रयोग गरेर हेप्ने प्रवृत्तिको अन्त्य भएको उल्लेख गर्दै उहाँले अहिले मधेश प्रदेश स्थापना भइसकेको र मधेशीले गर्वका साथ आफ्नो पहिचान भन्न पाएको बताउनुभयो ।

मधेश आन्दोलनकै उपलब्धिका कारण मधेशी, महिला, दलित, मुस्लिम, आदिवासी, जनजाति, पिछडावर्गलगायत विभेदमा पारिएका समुदायको सहभागिता सुनिश्चित भएको उहाँले बताउनुभयो । 

अझै थुप्रै अधिकार प्राप्त गर्न बाँकी रहेको उल्लेख गर्दै अध्यक्ष यादवले त्यसका लागि मधेशी जनता एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । मधेशमा भ्रम फैलाएर प्राप्त अधिकारसमेत खोस्ने प्रयास भइरहेको भन्दै उहाँले जसपा नेपालका उम्मेदवारलाई भारी मत दिएर विजयी गराउन मतदातासँग आग्रह गर्नुभयो ।


कार्यक्रममा जसपा नेपालकी नेता तथा पूर्वमन्त्री रेणुकुमारी यादवले आफू शिक्षामन्त्री हुँदा दृढ अडानका साथ विधेयक ल्याएर पारित गराएकै कारण सरकारी विद्यालयमा अध्ययन गरेका तथा दलित र मुस्लिम समुदायका विद्यार्थीले छात्रवृत्तिमा चिकित्साशास्त्र अध्ययन गर्ने अवसर पाएको चर्चा गर्नुभयो । 

पार्टीका सचिव शैलेन्द्र प्रसाद साहले मधेशी जनताको कठोर संघर्षबाट प्राप्त उपलब्धि खोस्ने प्रयासमा संघीयताविरोधी शक्तिहरू सक्रिय रहेको भन्दै त्यस्ता शक्तिलाई बहिष्कार गर्न आग्रह गर्नुभयो ।

प्रचार–प्रसार समितिका अध्यक्ष राजेन्द्र सदाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रीचन साह, दलित मुक्ति संगठनका जिल्ला अध्यक्ष अशोक रामलगायतले मन्तव्य व्यक्त गर्नुभयो ।