गोरखापत्र अनलाइन
नुवाकोट, माघ १४ गते । नुवाकोटको दुप्चेश्वर गाउँपालिका –१ अन्तर्गत घ्याङफेदी (घेवारचौर) मा झारफुकको क्रममा भएको कुटपिटबाट एकजना झाँक्रीको मृत्यु भएको छ।
स्थानीयका अनुसार झारफुक गर्न गएका ३३ वर्षीय रणबहादुर तामाङको बिरामी बुवा–छोराबिचको आपसी विवादपछि कुटपिट हुँदा घटनास्थलमै झाँक्रीको मृत्यु भएको हो। मृतक तामाङ घ्याङफेदी, घ्याङचौरका स्थायी बासिन्दा हुनुहुन्छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारीका अनुसार मंगलबार साँझ करिब ८ः४५ बजेको समयमा सोही स्थानको करिब ५२ वर्षीय ओङदी शेर्पा र उहाँका २५ वर्षीय छोरा कुन्साङ शेर्पाले कुटपिट गर्दा छिमेकी रणबहादुर तामाङको मृत्यु भएको छ ।
घटनापछि ओङदी शेर्पा र कुन्साङ शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय खरानीटारका प्रहरी निरीक्षक लोकराज पाठकले बताउनुभयो ।