अमरराज नहर्की
तनहुँ, माघ १४ गते । जिल्ला सदरमुकाम दमौलीबाट व्यास नगरपालिका –१४ केशवटार जोड्ने सडकको स्तरोन्नति र कालोपत्रे भएपछि स्थानीयवासीमा खुसीयाली छाएको छ ।
लामो समयको प्रतिक्षापछि सडक पक्की हुन थालेसँगै यस क्षेत्रको आवत–जावत र आर्थिक गतिविधिमा सहजता आउने विश्वासले स्थानीय हर्षित भएका हुन् । कूल १४ किलोमिटर दूरीको यस सडक खण्डमध्ये हालसम्म नौ किलोमिटर सडक पक्की गरिएको छ ।
पछिल्लो चरणमा गण्डकी प्रदेश सरकारको ५ करोड रुपियाँ लागतमा दुई किलोमिटर सडक ढलान र नाला निर्माण सम्पन्न भएपछि दुर्गम मानिने यो क्षेत्रको मुहार फेरिन थालेको हो ।
सडक निर्माणले गति लिएसँगै विकासबारेमा रहेका आशङ्काहरू हटेका छन् । व्यास नगरपालिका –१४ का वडाध्यक्ष काजीमान श्रेष्ठका अनुसार पहिले धेरैले प्रदेश सरकारले केही गर्दैन कि भन्ने आशङ्का गरेका थिए, तर अहिले काम सम्पन्न हुँदै गएपछि र विकास देखिन थालेपछि प्रदेश सरकारप्रति सर्वसाधारणको भरोसा बढेको छ ।
बाँकी रहेको ५ किलोमिटर सडकलाई पनि पूर्णता दिन अहिले स्थानीय तह र प्रदेश सरकारबिच समन्वय भइरहेको छ । वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, “राष्ट्रपति रामचन्द्र पौडेलले सडक स्तरोन्नतिको लागि चासो व्यक्त गर्दै ध्यानाकर्षण गरेपछि प्रदेश सरकारले रकम विनियोजन गरेको हो, व्यास नगरपालिकाको सबैभन्दा पछिपरेको क्षेत्र भएको थियो कालोपत्र हुन थालेपछि खुसी छाएको छ । श्रेष्ठका अनुसार ७५ प्रतिशतभन्दा बढी काम पूरा भइसकेको छ ।
व्यास नगरपालिका –१३ की वडा सदस्य मधुमाया बिकले सडक कालोपत्रे हुनु यस क्षेत्रकै बासिन्दाका लागि ठुलो उपलब्धि भएको बताउनुभएको छ । उहाँका अनुसार सडकको अवस्था सुधारिएपछि विशेषगरी दैनिक उपभोग्य सामानको ढुवानी र स्वास्थ्य सेवा लिन जानुपर्ने बिरामीलाई अस्पतालसम्म पुग्न सहज भएको छ ।
यो सडक खण्डलाई दमौली–केशवटार, धरमपानी, बन्दीपुर हुँदै पृथ्वी राजमार्गको डुम्रे बजारसँग जोडेर एक चक्रपथ (रिङरोड) को रूपमा विकास गर्न लागिएको छ । दमौलीबाट पर्यटकीय नगरी बन्दीपुर पुग्ने यो छोटो र वैकल्पिक मार्ग हुने भएकाले यसले समग्र जिल्लाकै पर्यटकीय सम्भावनालाई थप बल पुग्ने देखिन्छ ।
सडक स्तरोन्नति भएसँगै बन्दीपुर आउने पर्यटकलाई अब आँपश्वरा सामुदायिक होमस्टे (घरवास) सम्म ल्याउन सजिलो हुने भन्दै स्थानीय पर्यटन व्यवसायीहरू उत्साहित छन् ।
व्यास नगरपालिका –१३ पोखरीभञ्ज्याङस्थित आँपश्वार होमस्टेका अध्यक्ष रेशम बिकका अनुसार सडकको असुविधाले पर्यटक आउन गाह्रो मान्ने गरेकोमा अब सडक पक्की भएपछि होमस्टेमा पर्यटकको चहलपहल बढ्ने आशाले सञ्चालकमा नयाँ उत्साह थपिएको छ ।
यस सडकखण्डको विकासका लागि विश्व बैंकको ६ करोड रुपियाँ ऋण अनुदान व्यास नगरपालिकाबाट स्वीकृत भई दोस्रो चरणको प्रक्रिया अघि बढिसकेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेले गण्डकी प्रदेश सरकारबाट थप एक करोड रुपियाँ बजेट विनियोजन भएको छ । नगरपालिकाले पनि पटक–पटक गरी करिब चार करोड रुपियाँ खर्च गरिसकेको जानकारी दिनुभयो ।
सहरी पूर्वाधार विकास तथा शासकीय कार्यक्रमअन्तर्गत भइरहेको लगानीले यस क्षेत्रको यातायात प्रणालीमा सुधार ल्याउने अपेक्षा गरिएको छ । हाल ढलानको काम भइरहेको खण्डमा सवारी आवत–जावत रोकिए पनि वैकल्पिक मार्गको प्रयोग भइरहेको छ ।