• १३ माघ २०८२, मङ्गलबार

निर्वाचन चिह्न पाएसँगै उम्मेदवार गाउँ गाउँमा

blog

एमालेका उम्मेदवार नगिन्द्र शाही चुनावी अभियान सञ्चालन गर्नुहुँदै । तस्बिर : प्रेमराज सिम्खडा

कालीकोट समाचारदाता

कालीकोट, माघ १३ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सबै उम्मेदवारले निर्वाचन चिह्न प्राप्त गरेसँगै गाउँकेन्द्रित हुन थालेका छन् । 

माघ ६ गते मनोनयन दर्ता गराएका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले गत शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिह्न प्रदान गरेसँगै उम्मेदवार गाउँकेन्द्रित भएका हुन् । 

नेकपा (एमाले) कालीकोटका उम्मेदवार नगिन्द्र शाही नेसनलले आफ्नो गृहपालिका रासकोट नगरपालिकाबाट चुनावी अभियान सुरु गर्नुभएको छ । अनौपचारिक रूपमा भेटघाट जारी रहे पनि औपचारिक रूपमा गृहक्षेत्र रासकोट नगरपालिकामा सभा आयोजना गरेर औपचारिक चुनावी सभा गर्न एमाले उम्मेदवार शाहीसँगै जिल्लास्तरका सबै नेता रासकोट पुगेका छन् । रासकोटका स्थानीय तथा एमाले कालीकोटका पूर्वउपाध्यक्ष दयाराम सिम्खडाले यसपालिको चुनावी अभियान आफ्नै पालिकाबाट सुरु गर्ने पूर्वयोजना अनुसार आइतबारदेखि औपचारिक सुरु गरिएको बताउनुभयो । 

अभियानमा उम्मेदवार शाहीसँगै नेकपा (एमाले) नेता तथा पूर्वप्रदेश सभा सदस्य कुर्मराज शाही, अध्यक्ष तुलाराज मल्ल, पूर्वअध्यक्ष जसिप्रसाद पाण्डे, उपाध्यक्ष दयाराम सिम्खडा, रासकोट नगरका इन्चार्ज लक्ष्मणबहादुर बम, समानुपातिक उम्मेदवार यसोदा बराल, दुर्गबहादुर शाहीलगायतका नेता तथा कार्यकर्ता सहभागी छन् । यसैबिच नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पनि अनौपचारिक अभियान सुरु गर्नुभएको छ । खाँडाचक्र नगरपालिकाभित्रका बस्तीमा जाने र मतदाता भेटघाट गरिरहेको नेकपाले जनाएको छ । नेकपाका नेता रत्नबहादुर कार्कीका अनुसार अहिले सदरमुकाम मान्मआसपास घरदैलो चलिरहेको छ । कांग्रेसका उम्मेदवार हर्षबहादुर बम पनि आफ्नो गृहपालिका पचालझरना गाउँपालिकाबाट चुनावी अभियानमा केन्द्रित हुनुभएको छ । 

पछिल्लो समय कालीकोटमा उम्मेदवारी दर्ता गराएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश न्यौपानेले शुभकालिका गाउँपालिकाबाट चुनावी अभियान सुरु गर्नुभएको छ । आफ्ना जेनजी युवा साथमा लिएर न्यौपानेले आफ्नो दल र आफूलाई भोट मागिरहनुभएको छ तर तत्कालीन नेकपा माओवादीबाट अलग भएको विप्लव नेतृत्वको पुनर्गठित नेकपा माओवादीका उम्मेदवार प्रवक्ता खड्कबहादुर विश्वकर्माले औपचारिक अभियान सुरु गर्नुभएको छैन । उहाँले चुनावी रणनीति बनाउन सबै नेतालाई सदरमुकाम मान्ममा बोलाएर छलफल गरिरहनुभएको छ । मुख्य निर्वाचन अधिकृत कुलप्रसाद दाहालका अनुसार कालीकोटमा सात राजनीतिक दलका सहित तीन स्वतन्त्र गरी १० जना चुनावी मैदानमा छन् ।