• १३ माघ २०८२, मङ्गलबार

धाराको नाम नै छाउपडी धारा

blog

बाजुरा समाचारदाता

बाजुरा, माघ १३ गते । बाजुराको बुढीगङ्गा नगरपालिका–१०, रोलमा महिलाले महिनावारी भएका बेला नुहाउने धाराको नाम नै छाउपडी धारा राखिएको छ ।  यो धारामा बदेडागाउँका करिब दुई सय घरपरिवारका महिला महिनावारी भएको समयमा नुहाउने तथा कपडा धुने गर्छन् । महिनावारी भएका बेलामा महिलाले यसमा नुहाउने गरेकाले यो धाराको नाम छाउपडी धारा राखिएको हो । 

यो धारामा पुस्तौँदेखि अहिलेसम्म यहाँका महिलाले महिनावारी भएको बेलामा नुहाउने गर्छन् । त्यसैले यो धाराको नाम छाउपडी धारा राखिएको बुढीगङ्गा नगरपालिका–१० की प्रमिता विक (नाम परिवर्तन) ले बताउनुभयो । उहाँले भन्नभुयो, “यहाँको बदेडा गाउँभरिको सबैभन्दा राम्रो स्वच्छ मुहान यही नै हो । यो पानीको मुहानबाट यहाँका धेरै ठाउँमा सिँचाइ हुन्छ । बर्खाको समयमा यो पानीको मुहानले नै यहाँको सयौँ रोपनीभन्दा बढी जमिनमा रोपाइँ हुन्छ ।” 

यो धारा एकदमै पुरानो भएको छ । यो धाराको माथिबाट पहिरो पनि जाने गरेको छ । पहिरोले यो धारा दिनानुदिन भत्किँदै गएको छ । यो पानीको मुहान संरक्षण र प्रवर्धन गर्नुपर्नेमा उल्टै यसको नाम परम्परादेखि नै छाउपडी धारा राखिएकाले यसको संरक्षण नभएको विकले गुनासो गर्नुभयो । पुस्तौँदेखि अहिलेसम्म कुनै पनि धामीझाँक्री यो धाराको नजिक जाने गरेका छैनन् । पूजापाठ गर्ने बुढापाका त यो धाराको पानी खान त के छुँदा पनि छुँदैनन् । बुढीगङ्गा नगरपालिका–१०, बदेडागाउँमा अहिले पनि छाउप्रथा र अन्धविश्वास कायम छ । यहाँका किशोरीसमेत महिनावारी भएको बेला मही, दही, दुध, घिउलगायतका पोसिला खानेकुराबाट वञ्चित हुँदै आएका छन् । 

यहाँका अन्य गाउँमा छाउप्रथा बिस्तारै हट्दै गए पनि बदेडागाउँमा पहिलेकै अवस्था कायम रहेको सो गाउँका मनबहादुर सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “छाउप्रथा हटाउन हामीले धेरै प्रयास गरेका थियौँ तर पनि यहाँका धामीझाँक्री र बुढापाकाका कारण सकिएन । शिक्षित महिलासमेत छाउप्रथा उन्मूलनमा तगारो बनेका छन् ।” केही समयपहिले यहाँ छाउगोठ भत्काउने अभियान चलाइएको तर अभियान सेलाउँदै गएपछि गाउँमा फेरिन छाउगोठ पनि बनाउन थालिएको छ ।