चितवन समाचारदाता
चितवन, माघ १३ गते । क्षयरोग सङ्क्रमण हुन नदिन सञ्चालन भएको पाइलट कार्यक्रम प्रभावकारी बन्दै गएको छ । सरकारले निगरानी गर्ने उद्देश्यले चितवन र प्युठानमा सञ्चालन यो कार्यक्रम प्रभावकारी बन्दै गएको हो । क्षयरोग सङ्क्रमण भएका व्यक्तिको परिवारजनमा सङ्क्रमण हुन सक्ने भन्दै तत्काल समस्या नदेखिए पनि रोग लाग्न सक्ने भन्दै उनीहरूमा औषधी सेवनको कार्यक्रम सञ्चालन गरिएको छ । चालु आर्थिक वर्षबाट चितवन र प्युठान जिल्लामा कार्यक्रम चलेको छ ।
विराट् नेपाल मेडिकल ट्रस्ट (बिएनएमटी नेपाल) र रोटरी क्लब अफ काठमाडौँ मिड टाउनको आर्थिक सहयोगमा चलेको कार्यक्रमलाई नेपाल सरकारका स्वास्थ्य संस्थाले निगरानी र सहयोग गर्दै आएको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेले क्षयरोग अन्त्य गर्ने लक्ष्य हासिल गर्न कार्यक्रम धेरै प्रभावकारी भएको जानकारी दिनुभयो । स्वास्थ्य कार्यालय चितवनका क्षयरोग स्रोत व्यक्ति जयराम दुवाडीले यो कार्यक्रम अन्तर्गत चितवन र प्युठानमा करिब सात सय बिरामी अहिले सहभागी भएको बताउनुभयो । गत साउन महिनाबाट सञ्चालन भएको कार्यक्रममा अझ बिरामीको सङ्ख्या वृद्धि गर्दै लैजाने तयारी भएको छ । रोगको प्रभाव देखाउनुअगाडि नै रोगी भएर औषधी सेवन गरेका व्यक्तिको परिवारका सदस्यलाई औषधी खुवाउँदा भविष्यमा रोग लाग्न नपाउने भएकाले प्रभाकारी भएको बताउनुभयो ।
पाइलट कार्यक्रमका विषयमा दुई जिल्लामा सहभागी भएर समीक्षा कार्यक्रमसमेत आयोजना गरिएको छ । चितवनको सौराहामा भएको समीक्षा कार्यक्रममा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. भुवन पौडेलले सरकारको महत्वाकाङ्क्षी लक्ष्य अनुरूप सुषुप्त क्षयरोगको परीक्षण, स्क्रिनिङ र प्रभावकारी उपचार भएको बताउनुभयो । उहाँले यस कार्यक्रम मार्फत सन् २०३५ सम्ममा क्षयरोगीको सङ्ख्या ३५०० भन्दा कम र सन् २०५० सम्ममा ५० भन्दा कम गरी लक्ष्य हासिल हुने गरी काम गर्न आवश्यक भएको बताउनुभयो । अहिले पाइलट कार्यक्रम अन्तर्गत सञ्चालन भए पनि आगामी दिनमा स्थानीय तह र प्रदेशबिच समन्वय गरी क्षयरोग नियन्त्रणका लागि बजेट बढाएर ७७ वटै जिल्लामा कार्यक्रम अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका वरिष्ठ छातीरोग विशेषज्ञ डा. नवीनप्रकाश शाहले क्षयरोगको उपचार गरेर मात्र नहुने भन्दै पाँच वर्षमाथिको निवारक उपचार गर्नका लागि लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार नेपालमा आव २०८१/८२ मा कुल ६७ हजार क्षयरोगी पत्ता लगाउनुपर्नेमा ३९ हजार १५१ जना मात्र पत्ता लागेको छ । ६० प्रतिशत मात्र उपचारको दायरामा आएको र डिआर टिबीका दुई हजार चार सय बिरामी पत्ता लाग्नुपर्नेमा ६२५ जना अर्थात् २५ प्रतिशत मात्र पत्ता लागेकाले क्षयरोग नियन्त्रणमा चुनौती बढेको बताउनुभयो । यस्तै सुषुप्त अवस्थामा रहेको ल्याटिन टिबीका ४५ प्रतिशत बिरामी लुकेर रहेकाले उनीहरूको खोजी गरी उपचार गर्नुपर्ने छ ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख घिमिरेले योजना कार्यशालाबाट प्राप्त सुझाव अनुरूप कार्यान्वयनमा लाग्न तयार भएको बताउनुभयो । उहाँले चितवनमा डिआर टिबी सेन्टर स्थापनाका लागि पनि आवश्यक पहल गरिदिन राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशकसँग अनुरोध गर्नुभयो । कार्यक्रममा प्युठानमा लागु भएको क्षयरोगको रोकथाममार्फत क्षयरोग अन्त्य गर्ने परियोजनाको विषयमा स्वास्थ्य कार्यालय प्युठानका प्रमुख नरेश श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालय दाङका जनस्वास्थ्य प्रशासक डा. अच्युत शर्मा, स्वास्थ्य मन्त्रालय बागमतीका योजना, मूल्याङ्कन तथा अनुगमन शाखा प्रमुख कपिल तिम्सिना, भण्डारा नगर अस्पतालका डा. काजोल पाण्डेलगायतले सुझाव दिनुभएको थियो ।