• १३ माघ २०८२, मङ्गलबार

बलियो रुख नपाएर ‘क्यानोपी’ अलपत्र

blog

पुरानो मचानमा चढेर वन्यजन्तु अवलोकन गर्ने क्रममा पर्यटक ।

शालिग्राम नेपाल  

चितवन, माघ १३ गते । पुर्खाले मोटा र अग्ला रुख फाँडेर बस्ती बसाएको चितवनमा अहिले बलियो रुख नपाएका कारण बागमती प्रदेश सरकारले अगाडि बढाउन खोजेको ‘क्यानोपी’ योजना नै अलपत्र अवस्थामा छ । मचान जस्तै पर्यटकलाई लोभ्याउने अर्को विधि वन क्षेत्रभित्र रुखमा झोलुङ्गे पुल निर्माण गर्ने र त्यहीँबाट वन्यजन्तु अवलोकन गर्ने (क्यानोपी) हो । 

प्रायः जङ्गली जनावरमा हिंस्रक प्रवृत्ति हुने भएकाले वन्यजन्तुको अवलोकन निश्चित दुरीबाट गर्ने गरिन्छ । जङ्गली जनावर हेर्दाको क्षण जति रोमाञ्चक हुन्छ, त्यति नै सुरक्षाका कारण पर्यटकलाई चुनौतीपूर्ण पनि हुने गर्छ । त्यसैले निकुञ्जभित्र वन्यजन्तु देख्न सकिने स्थानमा मचान निर्माण गरिएका हुन्छन् । अग्लो मचानले गर्दा सुरक्षितसाथ नजिकबाटै वन्यजन्तु देख्न सकिने भएकाले पर्यटक मचानमा चढेर घन्टौँसम्म दुर्लभ वन्यजन्तु हेर्ने प्रतीक्षामा बसेका हुन्छन् । 

सौराहाको बाघमारा मध्यवर्ती सामुदायिक वन क्षेत्रभित्र रुखमा झोलुङ्गे पुल निर्माण गर्ने र त्यहीँबाट वन्यजन्तु अवलोकन गर्न क्यानोपी निर्माणका लागि बागमती प्रदेश सरकारले दुई करोड रुपियाँ विनियोजन गरेको थियो । बाघमारा मध्यवर्ती सामुदायिक वनका निवर्तमान अध्यक्ष जितु तामाङका अनुसार सो कामका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ । त्यसपछि काम अघि बढ्न सकेको छैन । उहाँले भन्नुभयो, “यो कामले गति लिएको भए चितवनमा पर्यटक लोभ्याउन अर्को ठाउँको विकास हुने थियो ।” 

योजना अगाडि बढाउन वातावरण प्रभाव मूल्याङ्कन (इआइए) गर्नुपर्ने हुन्छ । हाल इआइएको काम अगाडि बढ्न नसकेकाले मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिले अग्रसरता लिनुपर्ने उहाँले बताउनुभयो । 

बाघमारा मध्यवर्ती सामुदायिक वनका कोषाध्यक्ष ध्रुव खनालले मध्यवर्ती क्षेत्रको वनजङ्गलमा बलियो प्रजातिको रुखको खोजी भइरहेको बताउनुभयो । बलियो रुख नभए ‘क्यानोपी’ निर्माण गर्दा दीर्घकालसम्म टिकाउन गाह्रो हुने उहाँले बताउनुभयो । 

उहाँका अनुसार वनजङ्गलभित्र जीर्ण भएका मचानको मर्मतसम्भार गर्ने काम भने भइरहेको छ । पुरानो मचान मर्मतसम्भारका लागि ६० लाख रुपियाँको काठ खरिद गरिसकेको जानकारी उहाँले दिनुभयो । 

विशेष गरी गुणस्तरीय पर्यटकले ‘क्यानोपी’ रुचाउने गरेका छन् । क्षेत्रीय होटेल सङ्घ नेपाल सौराहाका अध्यक्ष ओम पाण्डेले पर्यटक लोभ्याउन र सङ्ख्या बढाउन ‘क्यानोपी’ आवश्यक भएकाले यसलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । क्षेत्रीय होटेल सङ्घ नेपाल सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेले सौराहामा पर्यटकीय प्रवर्धनका लागि ‘क्यानोपी’ उत्तम योजना भएको बताउनुभयो ।