• १३ माघ २०८२, मङ्गलबार

आचारसंहिता पालना गर्ने प्रतिबद्धता

blog

निर्वाचन आचारसंहिता कार्यान्वयन सम्बन्धमा भएको अन्तर्क्रिया कार्यक्रम । तस्बिर : अनिल पराजुली

हेटौँडा समाचारदाता 

हेटौँडा, माघ १३ गते । मकवानपुरमा क्रियाशील राजनीतिक दलका प्रतिनिधि तथा स्वतन्त्र उम्मेदवारले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागी दलका प्रतिनिधि तथा उम्मेदवारले सरकारले तोकेको निर्वाचन आचारसंहिता उल्लङ्घन हुन नदिने प्रतिबद्धता जनाउनुभएको हो । सोमबार हेटौँडामा आयोजित अन्तक्रिया कार्यक्रममा सहभागीले आचारसंहिता कार्यान्वयनका क्रममा साना र ठुला दलबिच विभेद गर्न नहुनेमा जोड दिनुभएको थियो । साना दल तथा स्वतन्त्र उम्मेदवारले आचारसंहिता सबैका लागि समान रूपमा लागु गर्नुपर्ने माग राख्नुभएको थियो ।

मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले आचारसंहिता नैतिकता, जिम्मेवारी र उत्तरदायित्वसँग जोडिएको विषय भएको बताउँदै दल र उम्मेदवारलाई अनुशासित व्यवहारबाट उदाहरण प्रस्तुत गर्न आग्रह गर्नुभयो । उहाँले चुनाव प्रचारप्रसारलाई वातावरणमैत्री बनाउनुपर्ने आवश्यकता औँल्याउँदै ज्येष्ठ नागरिक, बालबालिका, यौनिक अल्पसङ्ख्यक तथा कुनै पनि जात–धर्म–सम्प्रदायका आधारमा अपमानजनक व्यवहार नगर्न चेतावनी दिनुभयो । आचारसंहिताविपरीत गतिविधि गरे कानुन अनुसार जरिबाना, कैद वा उम्मेदवारी नै रद्द हुने व्यवस्था रहेको उहाँले स्मरण गराउनुभयो । 

त्यस्तै प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले आचारसंहिताले उम्मेदवार र दललाई जिम्मेवार ढङ्गले काम गर्न प्रेरित गर्ने बताउँदै चुनावमा सरकारी सवारीसाधन दुरुपयोग भए प्रहरीमार्फत कब्जा गरिने जानकारी दिनुभयो ।

प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले मकवानपुरका निर्वाचन क्षेत्र नं. १ र २ मा उम्मेदवारले अधिकतम ३३ लाख रुपियाँसम्म खर्च गर्न पाउने सीमा तोकिएको जानकारी दिनुभयो । उहाँले निर्वाचनको तयारीका लागि कर्मचारी, सामग्री, मतदाता शिक्षा, सुरक्षा, मतदान र मतगणना तयारीलगायत प्रक्रिया धमाधम भइरहेको बताउनुभयो । मकवानपुरमा दुई निर्वाचन क्षेत्रबाट ४४ जना उम्मेदवारले उम्मेदवारी दिएका छन् । क्षेत्र नं. १ मा २३ जनामध्ये १३ दलका र १० स्वतन्त्र तथा क्षेत्र नं. २ मा २१ जनामध्ये १६ दलका र पाँच स्वतन्त्र छन् । जिल्लामा तीन लाख १५ हजार ३३४ मतदाता रहेका छन् । क्षेत्र नं. १ मा एक लाख ५८ हजार ४३५ र क्षेत्र नं. २ मा एक लाख ५६ हजार ८९९ मतदाता छन् । मकवानपुरका १०२ वडामा १६७ मतदान स्थल र ३७४ मतदान केन्द्र रहेका छन् ।

सञ्चार माध्यमको भूमिका महत्वपूर्ण

धादिङबेँसी समाचारदाताका अनुसार फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै धादिङमा तयारी तीव्र पारिएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा आवश्यक सम्पूर्ण व्यवस्थापनलाई गति दिइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख निर्वाचन अधिकृत रामप्रसाद शर्माले आचारसंहिता पालना गर्न सबै पक्षलाई अनुरोध गर्नुभयो ।  पत्रकारसँग निर्वाचन आचारसंहितासम्बन्धी छलफल कार्यक्रममा उहाँले निर्वाचन कार्यालयका तर्फबाट आवश्यक सबै तयारी तीव्र रूपमा अघि बढाइएको जानकारी दिनुभयो । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, स्वच्छ तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । 

साना सूचनाले समेत ठुलो प्रभाव पार्न सक्ने भन्दै उहाँले निर्वाचन आयोगले आचारसंहिता जारी गरेको स्पष्ट पार्नुभयो । आचारसंहिताबारे जनप्रतिनिधि, राजनीतिक दल, कार्यकर्ता र सर्वसाधारणमा पर्याप्त जानकारी नहुँदा उल्लङ्घन हुने गरेको उल्लेख गर्दै मिडियामार्फत सचेतनामूलक सूचना प्रवाह आवश्यक रहेको उहाँले बताउनुभयो ।  तथ्यमा आधारित, सन्तुलित र जिम्मेवार पत्रकारितामार्फत निर्वाचनको विश्वसनीयता कायम गर्न मिडियाको भूमिका अत्यन्तै महìवपूर्ण रहेको बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गर्न सबै पक्षलाई आग्रह गर्दै निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । उहाँले कर्मचारी परिचालन, सुरक्षा, मतदाता शिक्षा, राजनीतिक दल, पत्रकार तथा निर्वाचन अधिकारीसँगको समन्वयात्मक कार्यक्रम तीव्र रूपमा सञ्चालन भइरहेको बताउनुभयो । 

नेपाल पत्रकार महासङ्घ धादिङका अध्यक्ष सीताराम अधिकारीले निर्वाचन कार्यालयबाट अधिकतम सूचना प्रवाह भएमा निर्वाचन प्रक्रिया थप पारदर्शी, स्वच्छ र निष्पक्ष हुने उल्लेख गर्दै सूचना प्रवाहमा कन्जुस्याइँ नगर्न आग्रह गर्नुभयो । दुई वटा निर्वाचन क्षेत्र रहेको धादिङमा क्षेत्र नम्बर १ मा एक लाख ३६ हजार ६८६ र निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख ३८ हजार ५९४ मतदाता रहेका छन् ।  जिल्लामा ११४ मतदान स्थल ३१० मतदान केन्द्र रहेको छ । ११४ मतदान स्थलमध्ये १०८ वटा अति संवेदनशील र छ वटा संवेदनशील सूचीमा राखिएको छ ।