• १३ माघ २०८२, मङ्गलबार

सुर्खेतकी एक्ली महिला उम्मेदवार तुल्छी

blog

महिला उम्मेदवार तुल्छी खड्का । तस्बिर : रजनी योगी

बुलबुले समाचारदाता

सुर्खेत, माघ १३ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि सुर्खेतको दुई वटा निर्वाचन क्षेत्रबाट ३० जना उम्मेदवार छन् तर त्यसमध्ये तुल्छी खड्का मात्र एक जना महिला उम्मेदवार हुनुहुन्छ । 

उहाँ नेपाल मजदुर किसान पार्टीबाट निर्वाचन क्षेत्र नं २ मा उम्मेदवार बन्नुभएको छ । यो क्षेत्रबाट मात्रै १७ जना बिच चुनावी प्रतिस्पर्धा हुँदै छ । जसमा १६ जना पुरुषसँग तुल्छीले महिला उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्नुहुने छ । 

तुल्छी यसअघि २०७९ को निर्वाचनमा पनि प्रतिनिधि सभामा प्रत्यक्षतर्फको उम्मेदवार बन्नुभएको थियो । त्यतिबेला पराजित हुनुभयो । यस पटक फेरि उम्मेदवार बन्नुभएको छ । चुनावी नतिजा जस्तो आए पनि अन्य सबै दलले महिलालाई उपेक्षा गरेको बेलामा आफ्नो उम्मेदवारीले मात्रै पनि ठुलो अर्थ र सन्देश दिने उहाँको बुझाइ छ । विगत दुई दशकभन्दा लामो समयदेखि तुल्छी राजनीतिमा सक्रिय हुनुहुन्छ । २०६२/६३ बाट नै उहाँ राजनीतिमा होमिनुभएको हो । नेपाल मजदुर किसान पार्टीको केन्द्रीय सदस्यसमेत रहनुभएकी उहाँले नेपाल क्रान्तिकारी महिला सङ्घको जिल्ला अध्यक्ष तथा नेपाल मजदुर किसान पार्टीको सुर्खेत जिल्ला कोषाध्यक्षको जिम्मेवारीसमेत निर्वाह गर्नुभएको छ । 

पार्टीका विभिन्न जिम्मेवारी निर्वाह गर्दै दुई पटक प्रतिनिधि सभाको निर्वाचनमा भाग लिई सक्नुभएको छ । अघिल्लो पटक पराजय भोग्नुएका तुल्छी यस पटक पुनः संसद् पुग्ने प्रयासमा हुनुहुन्छ । जनताका लागि नै राजनीतिमा लागेको बताउने उहाँ जनताको अपेक्षा अनुरूप काम गर्न सक्ने उम्मेदवार आफू नै भएको दाबी गरिरहनुभएको छ । 

त्यसका लागि आफू सक्षम रहेको जिकिर पनि गर्नुभयो । शिक्षा, स्वास्थ्य, नागरिकको जीवनस्तरमा सुधार, रोजगारी सिर्जनालगायतका एजेन्डालाई पनि खड्काले प्राथमिकताका साथ उठाउनुभएको छ । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तरलाई बढाउने योजना रहेको भन्दै उहाँले शैक्षिक गुणस्तर वृद्धि गर्ने खालका योजना निर्माण गरिएको बताउनुभयो । 

प्रतिनिधि सभा निर्वाचनका लागि सुर्खेतमा तीन जना स्वतन्त्रसहित ३० जनाले उम्मेदवारी दिएका छन् । दुई वटा निर्वाचन क्षेत्र रहेको सुर्खेत क्षेत्र नं. १ मा १३ जना र क्षेत्र नं. २ मा १७ जनाले उम्मेदवार दर्ता गराएका हुन् ।

क्षेत्र नं. १ मा नेपाली कांग्रेसबाट विष्णुबहादुर खड्का, एमालेबाट ध्रुवकुमार शाही र नेकपाबाट जितबहादुर रानाले उम्मेदवारी दर्ता गराउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट टेकबहादुर सिंह, नेपाल मजदुर किसान पार्टीबाट गजबहादुर खप्तडी मगर, नेकपा माओवादीबाट हिरू शाही, राष्ट्रिय जनमोर्चाबाट मोहन थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रवि हमाल ठकुरी र श्रम संस्कृति पार्टीबाट वीरबहादुर रानालगायतको उम्मेदवारी परेका छन् ।