• १३ माघ २०८२, मङ्गलबार

परम्परागत भाकाको संरक्षणमा स्थानीय गायक

blog

दरी भाकामा देउडा गीत गाउँदै नाच्दै देउडा पारखी । तस्बिर : राजन रावत

हुम्ला समाचारदाता

हुम्ला, माघ १३ गते । हिमाली जिल्ला हुम्लाका स्थानीय देउडा गायक परम्परागत देउडा भाकाका गीतको संरक्षणमा लागेका छन् । आफ्ना पुर्खाले गाउँदै आएका ती गीत मिठा लाग्ने भाका र सुरिलो स्वरमा गाएर संरक्षण गर्न लागिएको हो । 

चुलिया...,  दरी..., साइगोला..., मत्तिउ..., न्याउल्या..., झुपा रेलपून... लगायतका एक दर्जनभन्दा बढी परम्परागत देउडा गीतका भाकाको संरक्षणमा हुम्लाका चर्चित देउडा गायक लागेको सिमकोट गाउँपालिका–२ का देउडा गायक नवराज भण्डारीले बताउनुभयो । सातौँ पुस्तादेखि गाउँदै आएका यी परम्परागत सुरिला स्वरमा गाइने भाकाको संरक्षण गरेर नवपुस्तालाई पनि यसमा आकर्षित गराउन हुम्लाका आधा दर्जन स्थानीय देउडा गायक लागेको उहाँले बताउनुभयो । यी देउडाका भाका चर्चित र सबैले मन पराउने गरेका थिए । स्थानीय देउडा गायकले स्थानीय परम्परागत पोसाक लगाएर देउडा गाउने गर्दै आउनुभएको छ । उहाँँहरूलाई स्थानीय देउडा पारखीले साथ दिएका छन् । विशेष गरी भण्डारी, फूलमाया शाही, भानुभक्त जैसी, परबहादुर थापा, सुस्मिता परियार, अदानसिंह कार्कीलगायतका देउडा गायक यी भाकाका देउडा गीतको संरक्षण लाग्नुभएको छ ।