गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १३ गते । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको अन्तिम तयारी भइरहेको बताउनुभएको छ । सार्वजनिक सेवा प्रसारण नेपालद्वारा सोमबार आयोजित प्रतिनिधि सभा सदस्य निर्वाचन आचारसंहिता अभिमुखीकरण कार्यक्रममा उहाँले मतदानका लागि अन्तिम तयारीका काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
प्रमुख आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता पालना गरी आधिकारिक स्रोतका सूचना मात्र प्रयोग गर्न अपिल पनि गर्नुभयो । स्वच्छ, निष्पक्ष भयरहित र शान्तिपूर्ण निर्वाचनका लागि आधिकारिक सूचनाको प्रयोगमा जोड दिँदै उहाँले भन्नुभयो, “हामी निर्वाचनको अन्तिम तयारीमा छौँ । अब प्रत्यक्षतर्फको मतपत्र छपाइ हुन्छ ।
प्रविधिले सहज मात्र होइन, चुनौती पनि बढाएको छ । आचारसंहिताको परिपालन गरौँ । आधिकारिक स्रोतको प्रयोग गरौँ ।” गलत सूचना र प्रविधिको प्रयोग गरी कसैप्रति गालीगलौज र नकारात्मक भ्रम सिर्जना गर्ने कामले निष्पक्ष निर्वाचनलाई प्रभाव पार्ने हुँदा आचासंहिताको पालनालाई सबैले जोड दिनुपर्ने भण्डारीले बताउनुभयो । सञ्चार माध्यमले निर्वाचन आचासंहितासँगै पत्रकार आचारसंहिता पनि पालना गर्ने गराउने भएकाले नागरिकलाई सचेतना गराउने काममा पनि प्रभावकारी भूमिका निर्वाह गर्न उहाँले आग्रह गर्नुभयो ।
निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले आचारसंहिता निर्वाचनलाई भयरहित, स्वच्छ र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि माघ ५ गतेबाट लागु भएको जानकारी दिनुभयो । विशेष गरी सञ्चार माध्यमले आचारसंहिता पालना गरी पक्षपात नगरी बिनाभेदभाव सही सूचना प्रवाह गर्नुपर्ने उहाँले बताउनुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले आचारसंहिता पालना गर्न गराउन मिडियाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा. महेन्द्र विष्टले आचारसंहिताको पालना गर्दै नागरिकका विषयलाई बढीभन्दा बढी प्राथमिकता दिएर काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।