• १३ पुस २०८१, शनिबार

डार्क सिनेमा

blog

डार्क सिनेमा अर्थात् फिल्म न्वा अर्थात् सन् १९४० देखि १९५९ सम्म निर्माण भएका विशेष गुणले युक्त अपराध चलचित्रहरू । फिल्म माने चलचित्र अनि न्वा माने कालो । ‘फिल्म न्वा’ नामकरण गरिदिएका थिए फ्रान्सेली चलचित्र समालोचक निनो फ्राङ्कले । कालो चलचित्र नाम यसकारण कि ती सब चलचित्र मानव समाजको, मानव मनको अन्धकार पक्षमाथि केन्द्रित हुने गरेको पाइयो । 

सन् १९४० देखि १९४६ सम्म लगालग हलिउड चलचित्र उद्योगमा बनेका पाँच, छ दर्जन चलचित्रको मिल्दाजुल्दा गुण अवलोकन गरेर फ्राङ्कले यो फ्रान्सेली नाम जुराएका थिए । फिल्म बनाउनेहरूलाई थाहा थिएन कि हामी ‘फिल्म न्वा’ बनाइरहेका छौँ । फिल्म न्वा नाम पाएका धेरैभन्दा धेरै चलचित्रहरू हेर्दा यो वेस्टर्न, हरर, क्राइम, एडभेन्चर या साइन्स फिक्सन जस्तो एउटा विधा (न्भलचभ) का रूपमा पनि लिन मिल्दैन । विषयका हिसाबले हेर्ने हो भने धेरै फिल्म न्वाको अपराधसम्बन्धी विषय र प्रस्तुति मिल्न जान्छ पनि तर यो विशुद्ध अपराध चलचित्र मात्रै पनि होइन । न त यो ‘आर्ट हाउस’ चलचित्र हो । अन्य विधाका चलचित्रहरूको दाँजोमा विशेष ‘स्टाइल’का साथ  बनाइने यस्ता फिल्महरूलाई स्टाइलका रूपमा मात्रै लिँदा पनि अन्याय नै हुन जान्छ । 

सन् तीसको दशकमा अमेरिकामा छाएको विशाल आर्थिक मन्दीको मार जब चलचित्र उद्योगले खेप्नुप-यो अनि उपाय लगाइयो : सर्प मरोस् लौरो नभाँचियोस् । तल्लो वर्गका विशाल जनसमुदायलाई लक्षित गरेर सबैभन्दा कम पैसामा एकदेखि डेढ घण्टाका चलचित्रहरू बनाउने । विषय अपराध, जासुसी आदि । पैसा बचाउन फिल्म न्वामा महँगा कलाकारहरूको प्रयोग भरसक गरिँदैन थियो । बिजुलीको पैसा जोगाउन सकेसम्म कम लाइटहरूको प्रयोग गर्ने र अन्धकारमै पनि छायाङ्न गर्ने । 

यस जटिल अवस्थाले फिल्म न्वामा ‘लो कि लाइटिङ’को अवधारणा अपनाइयो । फिल्म न्वाको प्रमुख र महान गुण या आकर्षण भनेको ‘लो कि लाइटिङ’ शैलीमा फिल्म खिच्नु हो । विख्यात क्यामेराम्यान जन आल्टनले केही फिल्म न्वामा आफ्नो चमत्कार देखाएका छन् । टी–मेन १९४७, ही वाक्ड बाई नाइट १९४८, द बिग कम्बो १९५५ जस्ता फिल्म न्वा चलचित्रहरूमा आल्टनको चामत्कारिक क्यामेरा कलाकारिता देख्न सकिन्छ । 

स्टुडियोको विशाल क्षेत्रफलमा मात्रै सीमित नभएर कतिपय फिल्म न्वाहरू इटालियन नियो रियालिजमको प्रभावमा अन लोकेसन सुटिङअन्तर्गत बन्दरगाह, खुला सडक र बजारहरूमा पनि खिचिएका छन् । बजेटका हिसाबले यो ‘स्टाइलिस बी’ चलचित्र पनि हो । 

फिल्म न्वाहरू उत्पादन हुनमा विभिन्न कारक तत्त्व हरू छन् जस्तै : जासुसी उपन्यास र पल्प म्यागजिनहरू, जर्मन एक्स्प्रेसोनिस्ट चलचित्रहरू, फ्रान्सेली पोएटिक रियालिस्ट चलचित्रहरू । 

आर्थिक मन्दी र दोस्रो विश्वयुद्धले निम्त्याएको गरिबी र अभाव, नैतिक पतन तथा विशृङ्खलता आदिले बढाएको अपराध पनि फिल्म न्वाका कारक तत्त्व  हुन् । 

सन् ३० को दशकमा डासियल ह्यामेट र जेम्स् एम. कयिनले जासुसी उपन्यास लेखनलाई सफल रूपमा स्थापित गरिदिए । ‘हार्ड बोइल्ड डिटेक्टिभ उपन्यास’ लेखन परम्परालाई १९४० को दशकमा लेखक रेमन्ड चान्ड्लरले अरू धनी बनाउने काम गरेका थिए । यी तीन सदाबहार जासुसी उपन्यासकारहरूलाई आज पनि रुचिका साथ पढ्ने गरिन्छ । डासियल ह्यामेटका दुई उपन्यासहरू द माल्टिज फाल्कन, द ग्लास कि तथा जेम्स् एम. कयिनका द पोस्टम्यान अल्वेज रिङ्कस् ट्वाइस, मिल्डर्ड पियर्स र डबल इन्डेम्निटी उपन्यासहरूलाई चलचित्रमा उतारिएको छ । साथै रेमन्ड चान्डलरका उपन्यासहरू द लङ् गुडबाइ, द बिग स्लिप लगायतलाई पनि चलचित्रमा ढालिएको छ । यसरी पर्दामा उतारिएका यी चलचित्रहरूलाई मानक  फिल्म न्वा मानिन्छ पनि ।

हलिउड प्रि न्वा, जर्मन एक्स्प्रेसोनिस्ट, पोएटिक रियालिजम । 

तीसको दशकमै पनि फिल्म न्वाका लक्षण बोकेका केही चलचित्रहरू हलिउडमा बनिसकेका थिए । अहिले आएर तिनलाई प्री न्वा चलचित्रहरू भनेर अध्ययन गरिन्छ । अस्तित्व सङ्कट, नियतीको शिकार, विसङ्गतिवादी दर्शन आदि यस्ता चलचित्रहरूमा देख्न सकिन्छ । नैतिकता र आवेगका बीचको आत्मसङ्घर्ष । जस्तैः फ्युरी १९३६, आई एम ए फ्युजिटिभ फ्रम ए चेन ग्याङ १९३२ । 

केही चलचित्रहरू भने अपराध र त्यसको नतिजामा मात्रै पनि सीमित थिए । त्यस्ता चलचित्रहरूमा नकारात्मक पात्रहरू मुख्य नायकका रूपमा हुने गर्दथे । जस्तैः द पब्लिक इनमि १९३१, लिटल सिजार १९३१, स्कारफेस १९३२, द पेट्रिफाइड फरेस्ट १९३६, एन्जल्स विद डर्टी फेसेस १९३८ आदि ।

विषय र वातावरणका हिसाबले तीसकै दशकमा फ्रान्समा बनेका पोएटिक रियालिस्ट चलचित्रहरूलाई पनि प्री न्वाकै रूपमा अध्ययन गर्न मिल्ने तथा फिल्म न्वाको प्रकृतिलाई बढी प्रभाव पारेको देख्न सकिन्छ । जँ रेन्वाको चलचित्र ला चियन १९३१, फ्रिट्ज ल्याङ्गको एम १९३१, द टेस्टामेन्ट अफ डक्टर माबुसे १९३३ तथा अन्यमा पेपे ली मोको १९३७, पोर्ट अफ स्याडोज १९३८, डे ब्रेक १९३९ आदि । यी चलचित्रहरूले वरिपरिको निरास खाले प्राकृतिक वातावरणको चित्रण गर्दै सामाजिक अवस्था र मानवको भित्री मनभित्रसम्म पुगेर अपराधको अध्ययन गरेका छन् । यी चलचित्रहरूमा समाज भिलेन भएर देखापर्ने र असल मानिस नैतिकताबाट चिप्लिने अवस्था सिर्जना भएको देख्न सकिन्छ ।

जर्मन एक्स्प्रेसोनिस्ट चलचित्रहरूमा पाइने क्यामेरा शैली, मुड, असल र खराब बीचको लडाइँ आदिको निर्माणले पनि फिल्म न्वामा प्रभाव गरेको छ ।  

वास्तवमा सस्पेन्स् चलचित्र सम्राट अलफ्रेड हिचकक र जर्मनीका फ्रिट्ज ल्याङ्गको हलिउड आगमन पनि फिल्म न्वाको जग निर्माणका सहयोगी तत्त्व  थिए । 

क्लासिक फिल्म न्वा (१९४०–१९५९)

फिल्म न्वाको स्पष्ट परिभाषा आजसम्म कसैले बनाएको छैन । परिभाषा बनाउँदा मुस्किलले एक दर्जन चलचित्र परिभाषाको परिधिभित्र पर्ने सम्भावना देखिन्छ । तर सन् १९४० देखि १९५९ सम्म हलिउड र अन्यत्र देशहरूमा बनेका अपराध र अनैतिक कार्यलाई केन्द्रीय विषय बनाएर ‘लो कि लाइटिङ’ अनुरूप निर्माण भएका श्यामश्वेत चलचित्रहरू यसअन्तर्गत पर्दछन् । अपवाद स्वरूप केही रङ्गीन न्वा चलचित्रहरू पनि बनेका छन् । जस्तै रोप १९४८, नायग्रा १९५३, अ किस बिफोर डाइङ १९५६, भर्टिगो १९५८

विश्वयुद्ध सुरु भएपछि युरोपबाट धेरै मात्रामा मानिसहरू अमेरिका प्रवेश गरे, पुँजीवादले समाजमा बलियो गरी जरा हाल्दै गयो, मानिसहरूको आयस्ता जागिरमा निर्भर हुन सुरु भयो, मध्यमवर्ग र निम्न वर्गका मानिसहरूमा महìवाकाङ्क्षा पलायो, सहरीकरण तीव्र रूपमा हुन थाल्यो, गाउँगाउँबाट मानिसहरू सहरमा आउने क्रम दिनानुदिन बढ्न थाल्यो, मानिसहरू बाइबल र चर्चको पकडबाट पर पुगे र जीवन टिकाउन अत्यन्तै होड गर्नपर्ने अवस्था देखियो । भौतिकता नै अन्तिम सत्य हो भन्ने दर्शन सिरोपर गरेका हुनाले नैतिकताको पतन हुनपुग्यो । 

समाजमा बढी मात्रामा फैलन थालेको विविध प्रकारका अपराध जस्तै अराजकता, ठगी, लुटपाटका साथै हत्याका घटनाहरू सामान्य हुन थाले । बाइबल समात्ने चर्चसँग सम्बन्धितहरू समेत अपराधी देखिए । विश्वयुद्ध सुरु भएपछि आर्मीमा भर्ती भएका धेरै पुरुषहरू युद्धपछि बेरोजगार भए । 

उल्लिखित वातावरणले उब्जाएको अराजक अवस्थालाई अध्ययन गरेर त्यससँग मिल्दोजुल्दो विषयमा पल्प म्यागजिनका पात्रहरू, कहानीबाट केही सापटी लिएर फिल्म न्वा चलचित्रहरू खिचियो । चलचित्र ‘स्ट्रेन्जर अन द थर्ड फ्लोर’ १९४० लाई पहिलो फिल्म न्वाका रूपमा लिइन्छ । यस चलचित्रको क्यामेरा पक्षले फिल्म न्वाको सर्त निर्माणमा गतिलै भूिमका खेलेको छ । वातावरण र मुड पनि त्यत्तिकै मात्रामा अलग र विशेष लाग्ने खाले छ । क्यामेरा, विषय र जासुसको उपस्थिति, सस्पेन्स आदि समेटिएको पूर्ण विकसित र पहिलो र विशुद्ध फिल्म न्वाका रूपमा १९४१ को ‘द माल्टिज फाल्कन’लाई लिइन्छ । 

विषय र विशेषताबारे कुरा गर्दा फिल्म न्वामा धेरै देख्न पाइने कुराहरूमा :

१. हत्या, डकैती, बैङ्क लुटपाट, रात्रिकालीन सहरको दृश्य, सुनसान सडक, हुस्सु, स्वतन्त्र रूपमा काम गर्ने जासुसको कार्यालय र जासुसहरू, प्रहरीको जासुस, बन्दुक, जुवा, भेनेसियन ब्लाइन्ड र त्यसको छाया, रक्सी, बार, नाइट क्लब, ज्याज गायिका र पियानो बादक, कालो छायाहरू, सस्ता होटल र पुरानो मोडलका टेलिफोन, निर्दोषलाई फसाउने, प्रेस र पत्रकारहरूको उपस्थिति आदि ।

२. कानुनले निषेध गरेका कार्यहरू जस्तै विदेशीहरूलाई सीमा पार गराउने, लागू पदार्थको धन्दा गर्ने आदि । अर्काको सम्पत्ति हात पार्न अनेक षड्यन्त्र रच्ने र हत्यासम्म गर्ने । 

३. समाज नै ‘भिलेन’ भएर देखापर्ने अवस्थामा पनि फिल्म न्वाहरूमा अनिवार्य रूपमा विसङ्गतिका विरुद्ध एक पात्र वा सीमित पात्रहरूले सङ्घर्ष गरेको देख्न सकिन्छ ।

४. पुरुष पात्रहरू टलकदार छालाका जुत्ता, ट्रेन्च कोट र ह्याटमा देखिन्छन् । महिला या पुरुष पात्रहरू चुरोट या सिगारको धुवाँ उडाइरहन्छन् ।  

५. प्रायः तल्लो वर्गका महिला र पुरुषको नैतिक पतन र आपराधिक कार्य देखाइए पनि उच्च र मध्यम वर्गका मानिससमेत अपराधबाट अछूतो नहरेको तथ्य फिल्म न्वाले देखाउँछ । जन्मने प्रत्येक मानिसको आत्माभित्र रहेको कालो पक्षको उजागर गर्नु पनि फिल्म न्वाको एउटा विशेषता हो । 

६. फम फटाल– यो फ्रेन्च शब्द हो । फ्रान्सेली समालोचकले नै जुराइदिएको । प्रायः फिल्म न्वामा फम फटाल देख्न सकिन्छ । फम फटालहरू गरिब परिवारका महिला हुन् र आफ्नो अभूतपूर्व सौन्दर्यलाई हतियार बनाएर मानिसलाई फसाउने गर्छन् । पैसा र विलासितालाई प्राथमिकता दिने फम फटालहरू प्रायः नकारात्मक पात्रहरूका प्रेमिकाका रूपमा देखिन्छन् । कति चलचित्रमा असल चरित्रका रूपमा देखिएका पुरुष पात्रहरू फम फटालको पछि लाग्नाले खलपात्रमा रूपान्तरण हुन्छन् । फिल्म न्वामा फम फटालको विशेष भूिमका देखिन्छ । फम फटालले नै चलचित्रको मुख्य जासुस नायकको हत्यासम्म गरेको उदाहरण पनि छ चलचित्र ‘आउट अफ द पास्ट’मा । कतिपय फम फटाल गरिबीबाट उम्कन धनी वृद्धहरूसँग बिहे गर्छन् र नवयुवक भेटेपछि लोग्नेबाट छुटकारा पाउने अनि सम्पत्ति पनि हात पार्ने दाउमा रहेका हुन्छन् ।

७. बक्सिङ खेलमा सङ्गठित अपराधीहरूको वर्चस्व रहेको तथ्यमा आधारित भएर पनि केही फिल्म न्वा बनेका छन् । कतै पत्रकारिता क्षेत्रभित्रको नकारात्मकता पनि देख्न सकिन्छ । भ्रष्ट पुलिस, भ्रष्ट राजनीतिज्ञ आदि पनि फिल्म न्वाका विषयमा अटाएका छन् ।

८. अप्रिय, रिसाहा र फटाहा प्रवृत्तिका एन्टी हिरोलाई प्रमुख पात्र बनाइनु । 

९. एक्लोपन, अपराधपछिको मानसिक विचलन, अभाव, एक्लै अपराध गर्नेहरू पनि फिल्म न्वामा देख्न सकिन्छ । कतिपय पात्रहरूलाई पुलिस र अपराधी समूह दुवैबाट खतरा पनि रहेको हुन्छ । 

१०. नायकलाई छल्ने प्रेमिका, श्रीमती मात्रै नभएर मुख्य पात्रलाई अफिसमा सहयोग गर्ने विश्वसनीय महिला पात्र र मायालु अनि निर्दोष गृहिणी महिलाहरूको पनि फिल्म न्वामा उपस्थिति रहन्छ । 

११. फिल्म न्वाले मानव मन र समाजको आधा भाग कालो र अन्धकार छ भनेर देखाउनुका साथै खराब बाटो समात्न पुग्दा केसम्म हुन सक्छ भन्ने अनुभूति गराउँछ । विसङ्गतिवादी र अस्तित्ववादी प्रवृत्ति बोकेका फिल्म न्वाले अन्धकार पक्षको भने वकालत गरेको देखिँदैन ।

१२. कथा वाचकको उपस्थितिसहित कति फिल्म न्वा डकुमेन्टरी शैलीमा बनाइएका छन् । कतिपय फिल्म न्वामा मुख्य पात्र आफैँले आफ्नो वृत्तान्त सुनाउँदै जान्छ ।

१३. कतिपय फिल्म न्वा ड्रामा विधाअन्तर्गत नै बढी ढल्किएका छन् भने अदालत र वकालति विषयमा पनि फिल्म न्वा बनेका छन् । 

सन् चालीस र पचासको दशकमा युरोप र बेलायतमा पनि फिल्म न्वाहरू बने । विख्यात निर्देशक अकिरा कुरोसावाले पनि ‘स्ट्रे डग’ नामक फिल्म न्वा बनाएका छन् । 

सन् १९६० को दशकमा बनेका न्वालाई भने पोस्ट न्वाका रूपमा लिन सकिन्छ । फ्रान्स र जापानमा साठीको दशकमा निकै उत्कृष्ट न्वाहरू बनेका देखिन्छन् । अल्फाभिल १९६५, ब्यान्ड अफ आउटसाइडर्स १९६४, ब्रान्डेड टु किल १९६७ आदि पोस्ट न्वा चलचित्रहरू हुन् । 

सन् १९७० पछि पनि फिल्म न्वाको क्रेज बढ्दै गएको देखिन्छ । फिल्म न्वा हेरेर हुर्किएका नयाँ पुस्ताका निर्देशकहरूले फिल्म न्वाको सम्मोहन त्याग्न सकेनन् र त्यसलाई नयाँ रूप, दिशा र गति प्रदान गराए । 

१९७० देखि यताका, फिल्म न्वासँग मिल्दाजुल्दा तथा तीबाट प्रभावित, चलचित्रहरूलाई निओ न्वा नामले पुकारिन्छ । निओ न्वाको उत्पादन आज पर्यन्त यथावत छ । निओ न्वाले युग अनुरूपको अपराधको चित्रण गरेको छ । फिल्म न्वा भने सबै रङ्गीन नै हुने गरेका छन् । उदाहरणका रूपमा ः द अमेरिकन फ्रेन्ड १९७७, चाइना टाउन १९७४, ब्लु भेल्भेट १९८६, सिन सिटी २००५, नाइट क्रलर २०१४ आदि निओ न्वाका उदाहरण हुन् । 

हाल आएर फिल्म न्वाको महत्त्व अत्यधिक बढ्दै गएको देखिन्छ । अहिले अमेरिकामा फिल्म न्वाको अध्ययन, अनुसन्धान गर्न तथा तिनको संवद्र्धन र संरक्षण गर्न फिल्म न्वा फाउन्डेसन नामक गैर नाफामूलक संस्था खोलिएको पनि छ । यस संस्थाले न्वा सिटी नामक म्यागजिन पनि निकाल्ने गरेको छ । वार्षिक रूपमा यस संस्थाले फिल्म न्वा प्रदर्शनसमेत गर्छ ।