• १६ भदौ २०८१, आइतबार

युवापुस्तामाझ जमेका गायक काफ्ले

blog

काठमाडौँ, असार ३१ गते । गायक कृष्ण काफ्ले आफैँमा एउटा ब्रान्ड हुनुहुन्छ । अहिलेको युवापुस्तामाझ जमेका गायकका रूपमा उहाँ चिनिनुहुन्छ । नेपाली गीत–सङ्गीतको कला संस्कृतिलाई प्रवद्र्धन गर्ने क्रममा उहाँले तीन दर्जनभन्दा बढी देशमा आफ्नो प्रस्तुति प्रस्तुत गरिसक्नुभएको छ । तीन सयभन्दा बढी गीतमा आफ्नो आवाज भरिसक्नुभएका गायक काफ्ले युवामाझ मात्र नभएर वृद्धवृद्धा र बालबालिकामा समेत चर्चित हुनुहुन्छ । उहाँ देश–विदेशमा हुने कार्यक्रमका लागि रोजाइमा पर्ने एक सर्वोत्तम गायक हो । 

उहाँ गायनमा आउनुअघिको कथा भने अलि फरक छ । उहाँ भन्नुहुन्छ, “२०६०-६१ को समयमा सरकारी जागिरको भुत चढेको थियो ।” बाल्यकालदेखि भनौँ वा स्कुले जीवनदेखि गायन क्षेत्रमा रुचि राख्नुहुने काफ्लेले जागिरका लागि बन्दुक चलाउने क्षेत्र रोज्नुभएको थियो । उहाँले सेनाको जागिरका लागि प्रयास गर्नुभयो तर उहाँको नाम निस्किएन । २०६२ सालमा बल्लबल्ल नवौँ पटकमा उहाँले सेनाको जागिरका लागि नाम निकाल्नुभयो तर घरपरिवारले उहाँलाई सेनामा जागिर खान अनुमति दिएन । 

छक्का–पञ्जाको ‘देख न चम्पा, सुन न चम्पा’, मङ्गलमको ‘पर्ख पर्ख मायालु’, किस्मत–२ को तिम्रो पिक्चर हिट, वृन्दावनको ‘तिमी ताला म हुँ चाबी’, लभ यु बाबाको टाइटल गीत, रुदको तिमीमा हराए ,मारुणीको हानी मैले झटारोलगायतका दुई दर्जनभन्दा बढी चलचित्रका गीत गाइसक्नुभएका काफ्ले अहिले चलचित्रमा मात्र सीमित नभएर आधुनिक लोकपप, गजलदेखि लिएर जुनसुकै विद्याका गीतमा उहाँको आवाज सुन्न पाइन्छ । 

विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गर्नुभएको चलचित्र ‘लभ यु बाबा’ गिनिज बुक अफ वल्र्ड रेर्कडमा दर्ता हुँदा उहाँले उक्त चलचित्रको टाइटल गीतबाट गिनिज बुक अफ वल्र्ड रेकर्डमा पाश्र्व गायकबाट सम्मानित पनि हुनुभएको छ । हास्य टेलिसिरियल तीतोसत्यमा पनि गायक काफ्लेले अभिनय गर्नुभएको छ । “मैले गीत मात्र गाउने काम गरिनँ, केही चलचित्रमा पनि अभिनय गरेको छु,” काफ्लेले भन्नुभयो ।  बे्रकफेल, हाम्रो माया जुनी जुनीलाई, अन्दाजलगायत मैले अभिनय गरेका चलचित्र हुन् । यस्तै उहाँले आफ्नै रचनामा कवाली गीत ‘आँसुमा डुबाउन्न भन्थेउ’बाट आफ्नो रेकर्डिङ सुुरु गर्नुभएको थियो । 

पुख्र्यौली घर स्याङ्जामा जन्मिनुभएको उहाँ २०६२-६३ सालदेखि गीत–सङ्गीतबारे अझ बढी कुरा थाहा पाउन घामपानी केही नभनी काठमाडौँ आहोरदोहोर गरिरहनुन्थ्यो । काठमाडौँ बसाइका क्रममा उहाँले श्रुती सङ्गीत विद्यालयमा सङ्गीत सिक्नुका साथै गुरु चण्डीप्रसाद काफ्लेसँग श्रीसङ्गीत पाठशालामा सङ्गीतको शिक्षा लिनुभएको थियो । २०६४ सालमा गायक काफ्ले नवलपरासी आइडल पनि बन्नुभएको थियो । लक्स कामना फिल्म अवार्ड, डी सिने अवार्ड, म्युजिक खबर अवार्ड, राप्ती म्युजिक अवार्ड, कालिका म्युजिक अवार्डलगायतका थुप्रै अवार्डबाट उहाँ सम्मानित भइसक्नुभएको छ । काफ्ले संविधान दिवसका अवसरमा जनसेवाश्री पञ्चमबाट विभूषित पनि हुनुभयो ।  

कम गीत त्यो पनि छानेर मात्र गाउने गायक हुनुहुन्छ, काफ्ले । उहाँको अवाजमा के जादु भएकोले नै होला अहिले बजारमा पनि राम्रौ माग छ । अर्जुन पोखरेल, वसन्त सापकोटा, आलोक श्री, दीपक शर्मालगायतका सङ्गीतकारसँग उहाँले काम गरिसक्नुभएको छ । यस्तै दीपाश्री निरौला, मीन निरौला, मेलिना राई र अञ्जु पन्तजस्ता गायिकसँग पनि उहाँले गीत गाइसक्नुभएको छ । 

Author

सुकृत नेपाल