काठमाडौँ, माघ १२ गते । फरक क्षमता (अपाङ्गता) भएका बालबालिकाको शिक्षाको लागि राज्यले पर्याप्त लगानी गर्नुपर्ने यस क्षेत्रका विज्ञले बताउनुभएको छ ।
फरक क्षमता भएका बालबालिकाको शिक्षा पवद्र्धन गर्ने उद्देश्यले सोमबार राजधानीमा आयोजित ‘एड्भान्समेन्ट अफ स्पेशल स्कुल इन नेपाल’ कार्यक्रमका सहभागीले अन्तर्राष्ट्रिय जगतमा भएका असल अभ्यासको अनुशरण गर्दै नेपालमा पनि यस्ता बालबालिकाको हेरचाह तथा शिक्षाको लागि खुलेका विशेष स्कुलको स्तरोन्नती गर्नुपर्ने बताउनुभयो
कार्यक्रममा दक्षिण कोरियाको चाङवान नेशनल विश्वविद्यालयले लिडिङ युनिभर्सिटी प्रोजेक्ट फर इन्टरनेशनल को अपरेसन (लुपिक) परियोजना मार्फत सहयोग गर्दै आएको नेपालमा दश वटा विशेष स्कुलका प्राचार्यसँग अन्तरक्रिया गरिएको थियो । लुपिकका निर्देशक प्राडा दे युङ् जुङले नेपालमा विशेष शिक्षाको प्रवद्र्धनमा आफूहरुले सहयोग गरिरहेको र भविष्यमा पनि यस्ता सहयोग जारी रहने बताउनुभयो ।
विभिन्न प्रकारका अपाङ्गता भएका बालबालिकाको शिक्षा तथा स्याहार सुसारको लागि नेपालमा स्थापना भएका विद्यालयलाई प्राविधिक सहयोग गरिएको सो अवसरमा उहाँले बताउनुभयो । साथै, आफूले सहयोग गरेको नेपालका शिक्षण संस्थाले कोरियाले प्रयोगमा ल्याएको असल अभ्यासलाई अनुशरण गरेकोमा उहाँले धन्यवाद समेत व्यक्त गर्नुभयो ।
लुपिक परियोजना अनुसार कोरिया र नेपालका विशेष अवस्थाका स्कुलबीच शैक्षिक अनुभव आदान प्रदान गरेर विशेष क्षमता भएका बालबालिकाको दिनचर्यालाई सहज बनाउन पाउनु सुखद भएको सो अवसरमा उहाँले बताउनुभयो ।
कार्यक्रममा विशेष क्षमता भएका बालबालिकालाई लक्षित गरेर खोलिएको कोरियाको डेगु बोगुन स्कुलका प्राचार्य लि स्योक जेइले दक्षिण कोरियामा खुलेका विशेष विद्यालयमा विद्यार्थीको क्षमता अनुसार फरक फरक तरिकाले पढाई सञ्चालन गरिरहेको बताउनुभयो । उहाँका अनुसार कोरियाका विशेष स्कुलमा विद्यार्थीको क्षमता अनुसार शारिरीक, मानसिक, भौतिक विकासमा विभिन्न प्रविधिको प्रयोग हुँदै आएको छ ।
“अपाङ्गता भएका केहि विद्यार्थीलाई त रोबोर्टको प्रयोग गरेर हिंडडुल गर्न पनि सिकाइन्छ । जुन अत्यन्तै खर्चिलो प्रविधि हो” कार्यक्रममा प्राचार्य लि स्योक जेइले भन्नुभयो, “फरक क्षमता भएका अन्य विद्यार्थीलाई पनि शारिरीक, मानसिक तथा स्वास्थ्यसँग सम्बन्धित विकासको लागि सुविधा सम्पन्न प्रविधि प्रयोग गरिन्छ ।”
कार्यक्रममा सहभागी विद्यालयका प्राचार्यहरुले विशेष क्षमता भएका विद्यार्थीका लागि स्थापित विशेष स्कुलमा स्रोत साधन प्रर्याप्त नभएको गुनासो गर्नुभएको थियो । लुपिक परियोजनाका व्यवस्थापक किम युनयोङले फरक क्षमता भएका बालबालिकालाई शिक्षा, स्वास्थ्य र उचित जीवनयापनको सुनिश्चित हुनुपर्ने बताउनुभयो ।