वाशिङ्गटन, संयुक्त राज्य अमेरिका, माघ १२ गते । संयुक्त राज्य अमेरिकाका विभिन्न भागमा आएको एक भयानक आँधीले कम्तिमा १० जनाको ज्यान लिएको छ । आँधीका कारण सार्वजनिक यातायात सेवा, उडान सेवा रद्द र बिजुली कटौती भएको छ ।
आँधीको असर सोमबारसम्म अत्यधिक देखिने बताइएको छ । आँधीबेहरीसँगै परेको व्यापक हिम बर्षाले देशका अधिकांश भूभाग प्रभावित भएको भन्दै आर्कटिक हावाको प्रभाव धेरै दिनसम्म रहँदा सामान्य जनजीवन लामो समय (केही दिन)सम्म प्रभावित हुन सक्ने बताइएको छ ।
अमेरिकी राष्ट्रिय मौसम सेवा (एनडब्ल्यूएस)ले अमेरिकीलाई सोमबार बिहानसम्म मौसममा कुनै सुधार नआउने बताएको छ । न्यूयोर्कका मेयर जोहरान ममदानीले सप्ताहन्तमा चिसो तापक्रमबिच पाँच जना मृत फेला परेको बताउनु भएको छ । यद्यपि, उहाँले मृत्यु मौसमसँग सम्बन्धित भएको पुष्टि गर्नु भएन । उहाँले पत्रकारसँग भन्नुभयो, “यस पहिले यति अत्यधिक चिसोको मलाई सम्झना छैन ।”
टेक्सासमा हिउमा चिप्लिएर खेल्ने खेल (स्लेजिङ) दुर्घटनामा एक १६ वर्षीया किशोरीको मृत्यु भएको अधिकारीले पुष्टि गरेका छन् । लुइजियानामा अत्यधिक चिसो (हाइपोथर्मिया)का कारण दुई जनाको मृत्यु भएको यहाँको स्वास्थ्य विभागले जनाएको छ ।
‘पावर आउटेज डट कम’ नामक विद्युत सेवा अवरूद्धबारे जानकारी दिने ‘साइट’मा आइतबार रातिसम्म आँधीबाट बढी प्रभावित क्षेत्रमा आठ लाख ४० हजारभन्दा बढी ग्राहक विद्युतको सेवाबाट बञ्चित भएको उल्लेख गरिएको छ । लुइसियाना, मिसिसिपी र जर्जियामा पनि करिब तीन लाख मानिस आँधीबेहेरीका कारण सामना गर्नुपरेको विद्युत कटौतीबाट प्रभावित भएका छन् ।
अमेरिकाको सङ्घीय राजधानी वासिङ्टनले कम्तिमा २० राज्यमा सङ्कटकाल घोषणा गरेका छन् । वाशिङ्गटनका बासिन्दा विहान उठ्दा फुटपाथ र सडकमा धेरै इन्च हिउँले ढाकिएको पाइएको बताएका छन् । संघीय कार्यालय सोमबारका लागि अघिल्लो दिनको मौसमी खराबी सम्बन्धी सूचनापछि बन्द गरिएको छ ।
वाशिङ्गटन, फिलाडेल्फिया र न्यूयोर्कका धेरै प्रमुख विमानस्थलमा लगभग सबै उडान रद्द भएका छन् । शनिबारदेखि देशभित्र आउने र बाहिर जाने १९ हजारभन्दा बढी उडान रद्द भएका बताइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा भन्नुभएको छ, “हामी यस आँधीबेहरीको बाटोमा सबै राज्यसँग निगरानी र सम्पर्कमा रहने छौँ । सुरक्षित र न्यानो रहनुहोस् !” रासस/एएफपी