• १२ माघ २०८२, सोमबार

भेनेजुएलामा कारबाहीका क्रममा गोप्य हतियारको प्रयोग : ट्रम्प

blog

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प ।

वासिङ्टन, माघ १२ गते । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका नेता निकोलस मादुरोलाई नियन्त्रणमा लिने क्रममा अमेरिकाले एक गोप्य हतियार प्रयोग गरेको दाबी गर्नु भएको छ । सो हतियारका कारण भेनेजुएलाका सैन्य उपकरण काम नगर्ने अवस्थामा पुगेको उहाँले बताउनुभयो ।

एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले उक्त हतियारका कारण भेनेजुएलाले प्रयोग गर्न तयार पारेका क्षेप्यास्त्र र अन्य सैन्य प्रणाली निष्क्रिय बनेको दाबी गर्नुभयो । उहाँका अनुसार रूसी र चिनियाँ सहयोगमा तयार गरिएका उपकरणले बटन थिच्दा पनि कुनै काम गर्न सकेनन् ।

यसअघि मादुरोको निवास क्षेत्रमा गरिएको कारबाहीका क्रममा राजधानी काराकासका धेरै स्थानमा बत्ती निभेको ट्रम्पले बताउनु भएका थिए, तर त्यसको तरिका खुलाएका थिएनन् । राष्ट्रपति ट्रम्पले लागुऔषध तस्कर समूहविरुद्ध सैनिक कारबाहीलाई निरन्तरता दिने सङ्केत पनि गर्नु भएको छ । 

उहाँका अनुसार यस्तो कारबाही मध्य अमेरिका र मेक्सिकोसम्म पनि फैलिन सक्ने छ । हालै अमेरिकाले प्रशान्त महासागर क्षेत्रमा लागुऔषध तस्करीमा संलग्न एक डुङ्गामाथि आक्रमण गरेको थियो । मादुरो नियन्त्रणमा लिएयता यो पहिलो सैन्य कारबाही हो । गत सेप्टेम्बरयता क्यारिबियन र प्रशान्त क्षेत्रमा भएका यस्ता कारबाहीमा एक सय सत्र जनाको मृत्यु भइसकेको बताइएको छ ।

ट्रम्पले भेनेजुएलासँग सम्बन्धित सात वटा तेल बोक्ने जहाज नियन्त्रणमा लिएको दाबी पनि गर्नु भयो । ती जहाज कहाँ राखिएका छन् भन्ने विषयमा भने उहाँले जानकारी दिन अस्वीकार गर्नु भयो । अन्तर्वार्तामा उहाँले भेनेजुएलाका विपक्षी नेतृ मारिया कोरिना माचाडोले आफूलाई प्रदान गरेको नोबेल शान्ति पुरस्कार कहाँ राख्ने भन्ने विषयमा समेत सोचिरहेको बताउनुभयो ।

यसैबिच, आर्कटिक क्षेत्रको सुरक्षा सम्झौता सम्बन्धी विषयमा डेनमार्क र ग्रिनल्यान्डका नेताले आफ्नो सार्वभौमिकता सम्झौताबाट प्रभावित नहुने स्पष्ट पार्नु भएको छ । रासस/एपी