• १२ माघ २०८२, सोमबार

निर्वाचन प्रहरीका लागि हुम्लाबाट ५९५ जना छनाेट

blog

निर्वाचन प्रहरीका छनौट कार्यमा सहभागीहरु लिखित परिक्षा दिँदै । तस्बिर : राजन रावत

राजन रावत 

हुम्ला, माघ १२ गते । आगामी फागुन २१ हुन लागेको प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि हुम्ला जिल्लामा निर्वाचन प्रहरीको मौखिक परिक्षाको परिणाम सार्वजनिक भएसँगै सवै चरणबाट छनाेट कार्य पुरा भएको छ । जिल्ला प्रहरी कार्यालयले माघ १० र ११ गते लिएको उक्त परिक्षाको परिणाम सार्वजनिक भएसंगै निर्वाचन प्रहरी छनौट कार्य पुरा भएको हो ।

मागभन्दा दोब्बर आवेदन निर्वाचन प्रहरीका लागि परेकोमा मौखिक परिक्षाबाट ५९५ जना उतिर्ण भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिष्णु श्रेष्ठले बताउनुभयो । छनौट भएकाहरुमा १३३ जना महिला र ४६२ जना पुरुष रहनु भएको छ । अब मौखिक परिक्षामा उतिर्णलाई भर्नाका लागि सहभागी गराएर अभ्यास गराइने छ । 

अन्र्तवार्ता शनिबार माघ १० गतेबाट सुरु भएको थियो । निर्वाचन प्रहरी भर्नाका लागि आवेदन मागिएको अन्तिम दिनसम्म एक हजार २१६ जनाले आवेदन पेश गर्नु भएको थियो । यसमा पुरुष ९०४ र महिला ३१२ जनाको आवेदन परेको थियो । खास निर्वाचन प्रयोजनका लागि हुम्ला जिल्लामा ५९५ जना निर्वाचन प्रहरी भर्नाका लागि आवेदन माग गरिएको थियो । यसमा ५४९ जना नेपाल प्रहरीतर्फ र ४६ जना सशस्त्र प्रहरीतर्फ निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो । 

अब छनौट भएका निर्वाचन प्रहरीलाई माघ १५ गतेबाट २५ गतेसम्म अभ्यास सहितको प्रशिक्षण हुनेछ । निर्वाचन प्रहरी चालीस दिनका लागि भर्ना गरिनेछ । हुम्लामा आसन्न निर्वाचनका लागि ६० वटा मतदान स्थल र ६४ मतदान केन्द्र निर्धारण गरिएका छन् । 

प्रतिनिधि सभातर्फ एक निर्वाचन क्षेत्र रहेको हुम्लामा ६० वटा मतदानस्थल र ६४ मतदान केन्द्र कायम गरिएको छ । जिल्ला सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले २५ वटा अति संवेदनशील, २१ वटा संवेदनशील र दश वटा मतदानस्थललाई समान्य रुपमा बर्गिकरण गरेको छ ।