• १२ माघ २०८२, सोमबार

थारू समुदायको उपेक्षा

blog

फाइल तस्बिर

अविनाश चौधरी 

धनगढी, माघ १२ गते । विभिन्न राजनीतिक दलले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा थारू समुदायलाई उपेक्षा गरेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दलहरूले थारू समुदायलाई उनीहरूकै थातथलोमा कम अवसर दिएको गुनासो भइरहेको छ ।

विभिन्न ठाउँमा निर्णायक भोट रहेको रानाथारू समुदायलाई दलहरूले विगतदेखि नै उपेक्षा गर्दै आएको रानाथारू अगुवा नारायण रानाले गुनासो गर्नुभयो । कैलाली, कञ्चनपुरमा ठुला दलले निकै न्यून सङ्ख्यामा मात्रै थारू समुदायका व्यक्तिलाई उम्मेदवार बनाएका छन् । 

नेकपा (एमाले) र नेपाली कांग्रेसले एक/एक र नेपाली कम्युनिस्ट पार्टीले तीन जना थारू उम्मेदवार बनाएका छन् । यसै गरी रेशमलाल चौधरीको नागरिक उन्मुक्ति पार्टीले छ जना थारू उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले एक थारूलाई पनि प्रत्यक्षमा अवसर दिएको छैन । 

विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी यो प्रदेशमा थारू समुदायका २९ जनाले (१३.८० प्रतिशत) उम्मेदवारी दर्ता गराएका छन् । कैलालीमा जम्मा ७८ उम्मेदवारमध्ये २० जना (२५.६४ प्रतिशत) थारू समुदायका छन् । यसै गरी कञ्चनपुरमा जम्मा ५५ उम्मेदवारमध्ये नौ जना (१६.३६ प्रतिशत) उम्मेदवार थारू समुदायका छन् । 

एमालेबाट कैलाली–३ मा गौरीशङ्कर चौधरी, नेपाली कांग्रेसबाट कैलाली–१ मा जनकराज चौधरी, नेकपाबाट कैलाली–१ मा रामलाल चौधरी, ३ मा वीरमान चौधरी र ४ मा हरिराम चौधरी उम्मेदवार हुनुभएको छ । 

नागरिक उन्मुक्ति पार्टी, नेपालले क्षेत्र नं. १ मा पार्टी संरक्षक रेशमलाल चौधरी, २ मा पतिराम चौधरी, ३ मा विक्रम चौधरी र ५ मा जगन्नाथ चौधरीलाई उम्मेदवार बनाएको छ । यसै गरी कञ्चनपुरमा नागरिक उन्मुक्ति पार्टी, नेपालबाट निर्वाचन क्षेत्र नं. १ मा कृष्णबहादुर चौधरी र २ मा प्रेमवती राना उम्मेदवार हुनुभएको छ । अरू ठुला दलले कञ्चनपुरमा थारू समुदायका व्यक्तिलाई अवसर दिएका छैनन् । उज्यालो नेपाल पार्टीले क्षेत्र नं. १ मा प्रदीपकुमार चौधरीलाई उम्मेदवार बनाएको छ । 

प्रतिनिधि सभामा आफ्नो समुदायका व्यक्तिको प्रतिनिधित्व नै नहुनेप्रति चिन्ता व्यक्त गर्दै रानाथारू समुदाय रुष्ट भएको हो । आफ्नो समुदायलाई दलहरूले भोट बैङ्कका रूपमा मात्रै प्रयोग गर्न खोजेको रानाथारू अगुवाको गुनासो छ । सुदूरपश्चिम प्रदेशमा मात्रै बसोबास रहेको यो समुदायका व्यक्तिलाई नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टीलगायतका ठुला दलले उम्मेदवार बनाएका छैनन् । 

कैलाली–५ मा प्यारेलाल रानाथारूले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । रानाथारू अगुवा नारायण रानाले दलहरूले उम्मेदवार नै नबनाएपछि आफ्नो समुदायबाट प्रतिनिधि सभामा प्रतिनिधित्व हुने सम्भावना निकै न्यून रहेको उल्लेख गर्नुभयो । “कञ्चनपुरमा साना दलले दुई जनालाई उम्मेदवार त बनाएका छन्,” रानाले भन्नुभयो, “अब उहाँहरूसहित स्वतन्त्रको जित होस् भन्ने अपेक्षा छ ।”

कञ्चनपुर–२ मा नागरिक उन्मुक्ति पार्टी, नेपालबाट प्रेमवती रानाथारू र १ मा नेकपा (माओवादी) बाट पुरन रानाथारूले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

कैलाली–५ मा निर्णायक भोट रहेको रानाथारू समुदायबाट २०७४ र २०७९ को निर्वाचनमा नेकपा (एमाले) ले नारदमुनि रानालाई अवसर दिएको थियो । २०७४ को निर्वाचनमा रानाले नेपाली कांग्रेसकी प्रभावशाली नेतृ डा. आरजु राणा देउवालाई पराजित गर्नुभएको थियो भने २०७९ को आमनिर्वाचनमा कांग्रेसकै उम्मेदवार डिल्लीराज पन्तसँग पराजित हुनुभएको थियो । 

राष्ट्रिय स्वतन्त्र पार्टीले कैलाली–३ मा लक्ष्मण थारूलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो तर अन्तिममा थारूको टिकट खोसेर गैरथारू समुदायबाट उम्मेदवार बनाइएको छ । 

नेकपा (एमाले) का प्रदेश सचिव रणबहादुर चन्दले आफ्नो पार्टीले थारू समुदायलाई अवसर दिएकोे बताउनुभयो । “हाम्रो पार्टीले कैलाली–३ मा गौरीशङ्कर चौधरीलाई उम्मेदवार बनाएको छ,” उहाँले भन्नुभयो, “रानाथारू समुदायका कृपाराम रानालाई पनि एक नम्बरमै समानुपातिकमा राखेका छौँ ।”