• १२ माघ २०८२, सोमबार

सप्तरी–२ मा चुनावी सरगर्मी बढ्दै

blog

सप्तरी क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका उम्मेदवारहरू। तस्बिर : सुधा देव

सुधा देव
भारदह (सप्तरी), माघ १२ गते ।
सप्तरी क्षेत्र नं. २ प्रतिनिधिसभा निर्वाचनमा जिल्लाकै सबैभन्दा बढी चासोको विषय बनेको छ । बहुप्रतिस्पर्धी उम्मेदवारी र चर्चित नेताहरूको सहभागिताका कारण यस क्षेत्रमा चुनावी सरगर्मी तीव्र बन्दै गएको हो ।

यस क्षेत्रबाट जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउत, जनता समाजवादी पार्टीबाट पूर्व सिँचाइ मन्त्री उमेश यादव, नेपाल जनता पार्टीबाट पूर्व सांसद रञ्जुकुमारी ठाकुर, स्वाभिमान पार्टीबाट मधेस प्रदेशका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामजी यादव, नेपाली कांग्रेसबाट रामकुमार यादव, नेकपा (एमाले) बाट मोहम्मद जियाउल रहमान, नेपाली कम्युनिस्ट पार्टीबाट सूर्यनाथ यादव (सुभाष) लगायत कुल ३४ जनाले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दिएका अधिकांश उम्मेदवारले आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहेका छन् । तर स्थानीय मतदाताबिच भने जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, जसपा नेपालका उम्मेदवार पूर्व मन्त्री उमेश यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका रामजी यादवबिच कडा प्रतिस्पर्धा हुने र यी तीनमध्ये एक जनाले बाजी मार्ने चर्चा चल्न थालेको छ ।

गत निर्वाचनमा यसै क्षेत्रबाट जनमत पार्टीका अध्यक्ष डा. राउतले ३५ हजार ४२ मत प्राप्त गरी विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९७९ मत प्राप्त गर्नुभएको थियो । यसपटक उपेन्द्र यादव क्षेत्र नं. ३ बाट उम्मेदवार भए पनि जनमत पार्टीबाटै मधेस प्रदेशका पूर्व मुख्यमन्त्री रहनु भएका तथा पछि पार्टीबाट अलग भएर नयाँ दल गठन गरेका शरद सिंह यादवले सप्तरी क्षेत्र नं. २ बाट उम्मेदवारी दिएपछि यहाँको राजनीतिक चासो झनै बढेको स्थानीय मतदाता रमेश साहले बताउनुभयो ।

जिल्लाको क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका जिल्ला सभापति रामदेव साह, नेकपा (एमाले) का निवर्तमान पोलिटब्यूरो सदस्य सुमनराज प्याकुरेल, जनमत पार्टीका उपाध्यक्ष तथा प्रचार–प्रसार प्रमुख डा. जयकान्त राउतसहित २१ जनाले उम्मेदवारी दिएका छन् । यद्यपि नेपाली कांग्रेस, नेकपा (एमाले) र जनमत पार्टीका उम्मेदवारमध्ये एक जनाले बाजी मार्ने स्थानीय मतदाता ज्योति कुमारी दासको अनुमान छ । उम्मेदवारी दिएका रामदेव साह, डा. जयकान्त राउत र सुमनराज प्याकुरेलले भने आफ्नो जित सुनिश्चित रहेको दाबी गर्नुभएको छ ।

त्यस्तै सप्तरी क्षेत्र नं. ३ मा जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, नेपाली कांग्रेसका निवर्तमान सांसद दिनेश कुमार यादव, नेकपा (एमाले) बाट ताराकान्त चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अमरकान्त चौधरी, जनमत पार्टीबाट सुरेन्द्र मधेशी लगायत २२ जनाले उम्मेदवारी दिएका छन् । स्थानीय मतदाता उमाकान्त चौधरीका अनुसार यीमध्ये पाँच जना उम्मेदवारबिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । उपेन्द्र यादवले भने यस क्षेत्रबाट आफू निर्वाचित हुनेमा ढुक्क रहेको बताउनुभएको छ ।

यसैगरी क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका निवर्तमान सांसद तेजुलाल चौधरी, जसपा नेपालबाट डा. बबी सिंह यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सिताराम साह, जनमत पार्टीबाट जितेन्द्र कुमार साह, नेपाली कम्युनिस्ट पार्टीबाट रूवी कर्णसहित २७ जनाले उम्मेदवारी दिएका छन् । यद्यपि तेजुलाल चौधरी, डा. बबी सिंह यादव र रूवी कर्णबीच कडा प्रतिस्पर्धा हुने स्थानीय मतदाता सुनिता चौधरीले बताउनुभयो । अधिकांश उम्मेदवारले भने आफ्नै जित हुने दाबी गरिरहेका छन् । हाल सप्तरी जिल्लामा ४ लाख ४६ हजार ४०२ जना मतदाता रहेका छन् ।