रमेश विश्वकर्मा
गुल्मी, माघ १२ गते। गुल्मीको रेसुङ्गा नगरपालिकाले नगरक्षेत्रभित्र सञ्चालन हुने अटो तथा विद्युतीय रिक्साको भाडादर र रुट निर्धारण गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले एक सूचना जारी गर्दै नगरपालिकाले यातायात व्यवस्थापन, यात्रु सुरक्षालाई व्यवस्थित र सहज बनाउन भाडादर निर्धारण गरिएको जानकारी दिनुभयो।
प्रमुख प्रशासकीय अधिकृत पल्लीका अनुसार रेसुङ्गा नगरपालिका अटो तथा विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि–२०८२ बमोजिम नगर क्षेत्रभित्र चल्ने विद्युतीय रिक्साका भाडादर र रुट तोकिएको हो। यात्रुहरूले गन्तव्यको दूरी स्पष्ट गरी तोकिएको भाडादरअनुसार सेवा लिन र चालकहरूले पनि सोहीअनुसार सेवा उपलब्ध गराउन नगरपालिका उहाँले आग्रह गर्नुभएको छ।
निर्धारित भाडादर अनुसार तम्घास बजार क्षेत्रअन्तर्गत विभिन्न स्टेसनहरूमा प्रति व्यक्ति भाडा ५० रुपियाँ तोकिएको छ, जुन बिहान ५ बजेदेखि साँझ ८ बजेसम्म लागू हुनेछ। त्यस्तै, रिजर्भ सेवा लिँदा सोही क्षेत्रभित्र १०० रुपियाँ भाडा कायम गरिएको छ। स्टेसन बाहिर कच्ची सडकतर्फ प्रति किलोमिटर ६० रुपियाँ र पक्की सडकतर्फ प्रति किलोमिटर ५० रुपैयाँ रिजर्भ भाडादर निर्धारण गरिएको छ।
साथै, बिहान र साँझको निश्चित समयमा विशेष व्यवस्था अनुसार भाडादर लागू हुने नगरपालिकाले जनाएको छ। नगरपालिकाका अनुसार सवारी धनीहरूले आफ्ना सवारी साधनमा अनिवार्य रूपमा भाडादर सूची टाँस्नुपर्नेछ भने नियम विपरीत भाडा असुल गरेमा कानुनअनुसार कारबाही गरिने उल्लेख छ। नगरपालिकाले यो निर्णयले यात्रुहरूलाई सहज, सुरक्षित र पारदर्शी सेवा उपलब्ध हुने विश्वास व्यक्त गरेको छ।