फडिन्द्र अधिकारी
लेखनाथ, माघ १२ गते । कुनै बेला स्कुल तहमा पनि स्वतन्त्र विद्यार्थी युनियन गठन गर्ने चलन थियो । त्यही विद्यालय स्ववियुदेखि पार्टीको केन्द्रीय सदस्यसम्म भइसक्नुभएकी सम्झना देवकोटालाई जनप्रतिनिधि हुन लामो समय पर्खिनुपर्यो । ५७ वर्षीया देवकोटा चौथो प्रयासमा आइतबार जनप्रतिनिधि चुनिनुभयो ।
दुई वर्षअघिको माघ ११ गते भएको चुनावमा पनि उहाँ गण्डकीबाट राष्ट्रियसभा सदस्य उम्मेदवार हुनुहुन्थ्यो । त्यो बेला उहाँले दुई हजार पाँच सय ५३ मत पाउनुभएको थियो । साविक नेकपा (माओवादी केन्द्र)की मनरुपा शर्मासँग उहाँ पराजित हुनुभएको थियो ।
उही मतदाता, उही निर्वाचन स्थलमा दुई वर्षपछि उहाँ दुई तिहाईभन्दा बढी मतले निर्वाचित हुनुभएको छ । त्यो बेला नेकपा (एमाले) एक्लै लडेको थियो भने साविक नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसको गठबन्धन थियो । अहिले कांग्रेस र एमालेले गठबन्धन गरेका छन् भने माओवादी केन्द्र एक्लै मैदान छ । गठबन्धन फेरिँदा देवकोटाले मौका पाउनुभएको हो ।
गोरखाको गोरखा नगरपालिका वडा नम्बर ३, नारेश्वरकी स्थायी बासिन्दा देवकोटा अनुभवी, इमान्दार र क्षमतावान् नेताका रुपमा परिचित हुनुहुन्छ । उहाँ गोरखा नगरपालिकामा २०७४ मा उपप्रमुख र २०७९ मा प्रमुखको उम्मेदवार हुनुहुन्थ्यो । तर जित निकाल्न सक्नुभएन । उहाँ भन्नुहुन्छ, “पार्टीले जहाँ आवश्यकता महसुस गर्यो, जुन भूमिका भन्यो, निर्वाह गर्दै आएकी हुँ ।”
देवकोटा पनि १४ वर्षको हुँदा स्ववियु सदस्य बनी राजनीतिमा प्रवेश गर्नुभएको हो । २०४४ मा गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पस पढ्न गएपछि उहाँ त्यहाँ पनि स्ववियु उपसचिव उम्मेदवार बन्नुभयो । विद्यार्थीबिचको विवादमा मतपत्र जलाइयो, चुनावी नतिजाको अनुभूति उहाँले लिन पाउनुभएन ।
नेकपा एमालेको गोरखा जिल्ला सचिव, प्रदेश कमिटी हुँदै देवकोटा केन्द्रीय सदस्य र केन्द्रीय सङ्गठन विभागको सचिवसमेत बन्नुभएको थियो । शिक्षाशास्त्रमा स्नातकोत्तर उहाँ २०४६ देखि २०५१ सम्म शिक्षक हुनुहुन्थ्यो । देवीस्थान प्राविको शिक्षक हुँदा उहाँले सो विद्यालयको विकासका लागि विभिन्न प्रयास गर्नुभएको थियो । दोस्रो जनआन्दोलनका बेला उहाँ १४ दिन जेलसमेत पर्नुभएको थियो ।
देवकोटा विकास अभियन्ता र महिला अधिकारकर्मीसमेत हुनुहुन्छ । गोरखा हिंसापीडित महिलालाई उद्धार गरेपछि राख्ने ठाउँ नहुँदा बारम्बार आफ्नै घरमा लगेर राख्ने गरेको उहाँ सुनाउनुहुन्छ । पछि महिला तथा बालबालिका उद्धार केन्द्र संस्था स्थापना गरी उहाँ हिंसापीडित महिलाको अधिकार र महिला अधिकारको क्षेत्रमा लामो समय क्रियाशील बन्नुभयो ।
आइतबार प्रदेश निर्वाचन कार्यालयमा उहाँले लिङ्गकै कारण अनेक झन्झट भोग्नुपरेको सुनाउनुभयो । २०५५ सालमा गोरखाबाट नोबेल जाने सडकको उपभोक्ता समितिको अध्यक्ष उहाँ चुनिनुभएको थियो । २० लाख बजेट रहेको यो बाटोको योजना सम्झौतामै पापड बेल्नुप¥यो । “त्यो बेलाका जिल्ला विकास समिति सभापतिले चार पटक सम्झौता नगरी फर्ता पठाउनुभएको अझै मलाई याद छ,” उहाँ थप्नुहुन्छ, “पाँचौं पटक लामो प्रष्टिकरण दिएपछि बल्ल सम्झौता भएको थियो ।”
त्यो बेला समयमै सन्तोषजनक रुपमा उहाँले सम्पन्न गर्नुभयो । अहिले राष्ट्रियसभा सदस्यको जिम्मेवारी पनि कानुनबमोजिम देश र जनतालाई केन्द्रमा राखेर निर्वाह गर्ने उहाँको प्रण छ । देवकोटा भन्नुहुन्छ, “राष्ट्रप्रतिको सम्मान, समृद्धि र राष्ट्रियताको सवालमा पार्टीको नीति, विधानलाई आत्मसात गरिहाल्छु । त्योभन्दा माथि राष्ट्रको कुनै पनि सवालमा राजनीतिक दलभन्दा माथि उठेर काम गर्न तयार रहनेछु ।’
राष्ट्रियसभा कानुन निर्माणको अन्तिम खुड्किलो हो । त्यसको परिकल्पना नै राष्ट्रको विधायक अन्तिममा अनुमोदन गर्ने र मुलुकलाई नयाँ दिशा दिन गरिएको हो । “कानुन निर्माणको अन्तिम खुड्किलो भएकाले मुलुक र नेपाली जनताको हितमा समर्पित हुनेछ । हाम्रो भूगोल गण्डकी प्रदेशको सबै भूभाग हुनेछ, प्रवेशबासीको मतको सम्मान गर्दै देश र जनताका लागि अघि बढ्नेछु,” उहाँले भन्नुभयो ।