• १२ माघ २०८२, सोमबार

स्याङ्जामा उम्मेदवारहरूको घरदैलो अभियान सुरु

blog

स्याङ्जा–२ का कांग्रेस उम्मेदवार भागवत प्रकाश मल्ल नागरिकसँग भेटघाट गर्दै । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे 
वालिङ,(स्याङ्जा) माघ १२ गते ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै स्याङ्जाका उम्मेदवारहरू मत माग्दै नागरिकको घरघरमा पुग्न थालेका छन् । दलहरुले साप्ताहिक योजना नै बनाएर नागरिकको घरघरमा पुग्न थालेका हुन् ।

दुई प्रतिनिधि सभा क्षेत्र रहेको स्याङ्जामा आगामी निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र रास्वपासहित ११ राजनीतिक दल र चार स्वतन्त्र उम्मेदवार गरी २४ जनाले मनोनयन दर्ता गराएका छन् ।

जिल्लाका धेरैजसो उमेदवारहरु पहिलोपटक निर्वाचनमा उत्रिएका हुन् । नयाँ योजनासहित उनीहरु आआफ्नो पक्षमा मत माग्न नागरिकको घरमा पुग्न थालेका हुन् ।  

घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्या बुझ्ने र समाधानका स्पष्ट योजना प्रस्तुत गर्ने तयारी गरिरहेको स्याङ्जा क्षेत्र नं.२ का कांग्रेस उम्मेदवार भागवत प्रकाश मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकसँग सुझाव सङ्कलन र घोषणापत्र निर्माण भइरहेको छ मैले यसै मार्फत नागरिकसँग प्रत्यक्ष जोडिने छु ।”

आफूले योजना बनाएर नागरिक समक्ष गइरहेको नेकपा(एमाले) को तर्फबाट क्षेत्र नं. २ मा उम्मेदवार बन्नुभएका खिमबहादुर थापाले बताउनुभयो । कांग्रेस र एमालेका उम्मेदवार यो क्षेत्रका लागि परिचित अनुहार रहेका छन् ।

पुराना दलसँगै नयाँ दल रास्वपाले पनि चुनावी अभियानलाई तीव्र बनाएको छ । सबै दलहरुले आआफ्ना सम्पर्क कार्यालयको स्थापना गरेका छन् भने घोषणापत्र निर्माणको चरणमा रहेको रास्वपाका उम्मेदवार झविलाल डुम्रेले बताउनुभयो ।

कांग्रेसले जिल्ला सभापति तथा पूर्व सांसद राजु थापाको नेतृत्वमा र नेकपा(एमाले)ले जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रेको नेतृत्वमा निर्वाचन परिचालन समितिको गठन गरेका छन् । स्याङ्जाका दुबै क्षेत्रमा १२/१२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।