बोमलाल गिरी
नवलपुर, माघ ११ गते । नवलपुरको कावासोतीमा आगामी माघ १६ र १७ गते प्रथम ऐतिहासिक रक्तदान महोत्सव हुने भएको छ । ब्लड डोनर्स सोसाइटी नवलपुरको आयोजना र रक्तसञ्चार सेवा केन्द्रको प्रविधिक सहयोगमा कुमारवर्ती बहुमुखी क्याम्पसमा रक्तदान महोत्सव हुन लागेको हो ।
दुई दिनसम्म लगातार रगत सङ्कलन गरी जिल्लामा अहिलेसम्मकै धेरै रगत संकलन गर्ने लक्ष्य रहेको सोसायटीका अध्यक्ष भोजराज भुर्तेल किरणले जानकारी दिनुभयो । यसअघि पाँच सय १२ पिन्ट रगत सङ्कलन भएकाले त्योभन्दा बढी रगत सङ्कलन गर्ने योजना रहेको उहाँको भनाइ छ । अहिलेसम्म २३ जिल्लाबाट रक्तदाता आउने निधो भइसकेको र ५० जिल्लाको सहभागिता गराउने लक्ष्य रहेको भुर्तेलले बताउनुभयो ।
हरेक वर्ष रगतको अभाव हुने गरेकाले त्यसलाई पुर्ति गर्न यो कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । कार्यक्रममा अङ्गदान प्रतिज्ञा दर्ता, स्वास्थ्य परीक्षण, रक्तदान सम्बन्धि अन्तरक्रिया र यसैसँग सम्बन्धिक सांस्कृतिक कार्यक्रम पनि राखिएको भुर्तेलले बताउनुभयो।
त्यस्तै रगतको क्षेत्रमा काम गर्नेहरुलाई ‘रक्त रत्न’बाट सम्मान, देशभरमै सबैभन्दा बढी रक्तदान गर्ने पाँच जनालाई सम्मान, नवलपुरमा सबैभन्दा बढी रक्तदान गर्ने पाँच जनालाई सम्मान गरिने बताइएको छ । रक्त सञ्चार केन्द्रका अनुसार जिल्लामा मासिक दुईसय पिन्टभन्दा बढी रगतको माग हुने गरेको छ । तर डायलासिस गराउनु पर्ने बिरामीका कारण यो माग अनुसार रक्तदान हुन सकेको छैन ।