• ११ माघ २०८२, आइतबार

१८५ जना कैदीबन्दीको क्षयरोग र एचआइभी परीक्षण

blog

जिल्ला कारागार धनकुटामा रहेका कैदीबन्दीहरुको स्वास्थ्य परिक्षण गरिँदै ।

सन्तोष सुवेदी

पाख्रीबास, (धनकुटा) माघ ११ गते । जिल्ला सदरमुकामस्थित धनकुटा कारागारमा रहेका १ सय ८५ जना कैदीबन्दीहरुको क्षयरोग (टीबी) र एचआईभी परिक्षण गरिएको छ । आईतबार कोशी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा कारागारमा रहेका कैदीबन्दीहरुको शिविरमा क्षयरोग (टीबी) र एचआईभी परिक्षण गरिएका हो ।

कारागारमा रहेका १ सय ८५ जना कैदीबन्दीको अत्याधुनिक एआइ प्रविधियुक्त मेसिनबाट छातीको एक्स–रे गरी क्षयरोग परीक्षण गरिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका क्षय-कुष्ठ अधिकृत तुलसीप्रसाद गुरागाईंका अनुसार परीक्षणका क्रममा उक्त कैदीबन्दीहरुमध्ये दश जना कैदिबन्दीमा क्षयरोगको सम्भावित लक्षण देखिएको जानकारी दिनुभयो । 

लक्षण देखिएका कैदीबन्दीको खकार सङ्कलन गरी थप परीक्षणका लागि प्रयोगशालामा पठाइने उहाँले बताउनुभयो । यस्तै उनीहरुलाई आवश्यक उपचार प्रक्रिया पनि तत्काल अघि बढाइने बताउनु भयो । उहाँका अनुसार क्षयरोग प्रमाणित भएका कैदीबन्दीको निःशुल्क उपचार समेत हुने जानकारी दिनुभयो ।

क्षयरोगको उच्च जोखिम मानिने कारागार, वृद्धाश्रम, पुनःस्थापना केन्द्र जस्ता भीडभाडयुक्त र बन्द वातावरण भएका स्थान भएकाले स्वास्थ्य परिक्षण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । विशेष गरी ६० वर्ष भन्दामाथी उमेर समूहका व्यक्तिमा क्षयरोगको जोखिम बढ्ने कार्यालयले जनाएको छ । लामो समयसम्म एकै ठाउँमा बस्नुपर्ने, पोषणको कमी, धूम्रपान, मदिरा सेवन तथा स्वास्थ्य सेवामा पहुँच सीमित हुने अवस्थाले क्षयरोग संक्रमणको सम्भावना बढ्ने बताइएको छ ।

यस्तै कारागारमा रहेका कैदीबन्दीहरूको एचआइभी परीक्षण समेत गरिएको थियो । परीक्षणमा सहभागी सबै कैदीबन्दीको एचआइभी रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सरकारले सन् २०३५ भित्र नेपालमा क्षयरोगीको संख्या प्रति १ लाखमा १० जना भन्दा कममा झार्ने लक्ष्य लिएको छ । हाल नेपालमा प्रति १ लाख जनसंख्यामा २ सय २७ जना क्षयरोगी छन् । 

क्षयरोग न्यूनीकरणको सरकारी लक्ष्य प्राप्तिका लागि जोखिम समूहको पहिचान, प्रारम्भिक परीक्षण, समयमै उपचार र जनचेतना अभिवृद्धिमा जोड दिइँदै आएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका क्षयकुष्ठ अधिकृत तुलसी गरागाइले बताउनुभयो ।