काठमाडौँ, माघ ११ गते । गैरसरकारी संस्था महासङ्घ नेपालले काठमाडौँमा दुई दिने केन्द्रीय समिति बैठक सम्पन्न गर्दै १५ बुँदे विशेष प्रस्ताव पारित गरेको छ ।
बैठकले देशको समसामयिक राजनीतिक अवस्था, लोकतन्त्र, संविधान, मानवअधिकार र आगामी निर्वाचनको सन्दर्भमा महत्वपूर्ण निर्णयहरू गर्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको हो ।
बैठकले २०८२ साल माघ २३ र २४ गते जेनजीले गरेको आन्दोलनका क्रममा मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
साथै आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासहित क्षतिपूर्ति र आवश्यक औषधि उपचारको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरेको छ।
जेनजी आन्दोलनपश्चात देशमा लोकतन्त्र, संविधान र शासन व्यवस्थामाथि गम्भीर संकट देखिएको वर्तमान अवस्थालाई ध्यानमा राख्दै आम निर्वाचनमार्फत संवैधानिक व्यवस्थाको संरक्षण आवश्यक रहेको महासङ्घको ठहर छ ।
सोही सन्दर्भमा प्रतिनिधि सभाको निर्वाचन प्रक्रिया सुरु भई उम्मेदवारी मनोनयन दर्ता भइसकेको अवस्थामा महासङ्घले यो बैठकलाई अत्यन्त महत्वपूर्ण मानेको जनाएको छ।
बैठकमा देशको समग्र विकासमा सरकार, निजी क्षेत्र र नागरिक समाजको साझा भूमिका अपरिहार्य रहेको निष्कर्ष निकालिएको छ । महासङ्घले नागरिक समाज सधै लोकतन्त्र, मानवअधिकार, सामाजिक न्याय, आवधिक निर्वाचन र सुशासनको पक्षमा उभिँदै आएको र राज्यका निकायलाई आवश्यक परामर्श तथा सहयोग प्रदान गर्दै आएको स्पष्ट पारेको छ।
राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र जनताको भविष्यसँग प्रत्यक्ष सरोकार राख्ने यो संवेदनशील समयमा लोकतान्त्रिक उपलब्धिको रक्षा र संविधानको संरक्षणका लागि सबै राजनीतिक दलहरूको प्रतिबद्धतालाई महासंघले सकारात्मक रूपमा लिएको जनाएको छ ।
बैठकबाट पारित १५ बुँदे विशेष प्रस्तावमार्फत महासङ्घले सरकार, राजनीतिक दल तथा सम्बन्धित निकायलाई आवश्यक पहल गर्न आग्रह गरेको छ ।