गजेन्द्र गुरुङ
खजुरा, माघ १० गते । चालु आर्थिक वर्ष २०८२–८३ को छ महिनामा ८६ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । चालु आवको साउनदेखि पुससम्म छ महिनाको अवधिमा बाँके लगायतका जिल्लाका ८६ जना नयाँ कुष्ठरोगी फेला परेका हुन् ।
७३ औँ विश्व कुष्ठरोग दिवसको पूर्वसन्ध्यामा साइनिङ अस्पताल आइएनएफ नेपालले पत्रकारसँग राखेको अन्तरक्रिया कार्यक्रममा अस्पतालका प्रमुख मङ्गलबहादुर थारुले अस्पतालमा उपचार गराउन आएका विभिन्न जिल्लाका नागरिकसहित भारतीय नागरिकमा कुष्ठरोग फेला परेको बताउनुभयो ।
प्रमुख थारुका अनुसार चालु आवको ६ महिनामा बाँके, बर्दिया, दैलेख, जाजरकोट, दाङ, प्युठान, रोल्पा, सल्यान, रुकुम, कैलाली, अछाम र भारतका ५७ जना पुरुष र २९ जना महिला गरी ८६ जना नयाँ कुष्ठरोगी फेला परेका हुन् ।
उहाँका अनुसार सबैभन्दा धेरै बाँकेका ३६ जना, बर्दियाका १२ जना, जाजरकोटका ५ जना, रुकुमका ५ जना, कैलालीका ५ जना, अछामका ३ जना, दैलेखका २ जना र दाङ, प्युठान, रोल्पा, सल्यानका एक–एक जनामा कुष्ठरोग फेला परेको हो । त्यसैगरी १४ जना भारतीय नागरिकमा पनि कुष्ठरोग फेला परेको उहाँले बताउनुभयो ।
विभिन्न जिल्लाबाट यस अस्पतालमा चेकजाँच गर्न आएका ३४२ जनाको प्रयोगशाला परीक्षण गर्दा ८६ जना नयाँ कुष्ठरोगी भेटिएका हुन् । जसमध्येका ५६ जना नयाँ बिरामीमा स्मीयर जाँच पोजेटिभ पाइएको थियो ।
अस्पतालको अन्तरङ्ग सेवामा यो ६ महिनामा ५८ पुरुष र २३ महिला गरी ८१ जनाले सेवा लिएका छन् । स्वास्थ्य समस्या पहिचान तथा अनुगमनका लागि प्रयोगशालामा १० हजार ७९५ नमुना परीक्षण गरिएको छ । त्यसैगरी अपाङ्गता तथा रोकथामको लागि सहयोगी सामग्री तथा १०३ जोडा जुत्ता वितरण गरिएको छ । अपाङ्गता तथा रोकथामका लागि फिजियोथेरापी अभ्यास ६९ जनालाई गरिएको थारुले जानकारी दिनुभयो ।
२३ जना सरकारी विद्यालयमा कार्यरत नर्सहरुका लागि कुष्ठरोगसम्बन्धी क्षमता अभिवृद्धि गर्न कुष्ठरोग आधारभूत तालिम प्रदान गरिएको, सञ्चालनमा रहेका स्वयं सहायता समूहका २९ जना सदस्यलाई कुष्ठरोग, स्वयं हेरचाह र बचत तथा ऋण परिचालनसम्बन्धी तालिम प्रदान गरिएको, १९० जना नेपाल सरकारको स्वास्थ्य संस्थासँग आबद्ध महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि कुष्ठरोगसम्बन्धी क्षमता अभिवृद्धि तालिम प्रदान गरी लाभान्वित भएको उहाँले बताउनुभयो ।
कुष्ठरोगसम्बन्धी जनचेतना बढाउन २२ वटा समूहका ६०० जना आमा समूहका सदस्यलाई कुष्ठरोगसम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरिएको, विभिन्न विद्यालयमा कुष्ठरोगसम्बन्धी कक्षा सञ्चालन गरी ९२१ जना विद्यार्थी र २ वटा कलेजका ७५ जना विद्यार्थीलाई अभिमुखीकरण गरिएको, नरैनापुर गाउँपालिकाका २८ जना जनप्रतिनिधिलाई अभिमुखीकरण गरिएको उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी समुदायस्तरमा कुष्ठरोग पहिचान दुई ठाउँमा सञ्चालन गरिएको, जसमा ५१० जनाको परीक्षण गर्दा ९ जना नयाँ कुष्ठरोगी फेला परेका थिए । ४२ जना नयाँ कुष्ठरोग बिरामीको सम्पर्कमा रहेका २ हजार ४५५ जना बिरामीको परिवार तथा छिमेकीहरुको सम्पर्क परीक्षण गर्दा थप नयाँ कुष्ठरोगका बिरामी फेला परेको थारुले बताउनुभयो ।
हाल अस्पतालमा कुष्ठरोगसम्बन्धी अनुसन्धानात्मक कार्य पनि भइरहेको अस्पताल प्रमुख थारुले जानकारी दिनुभयो । बिएनएमटी नेपालको आर्थिक सहायता र सहकार्यमा अनुसन्धनात्मक कार्य कुष्ठरोगको किटाणुको आनुवंशिक परीक्षण भइरहेको र हालसम्म १३१ वटा अध्ययन नमुना सङ्कलन भइसकेको उहाँले बताउनुभयो ।
कार्यक्रमको सहजीकरण गर्नुभएका अस्पतालका प्रशासन अधिकृत नरेन्द्र साउँदले कुष्ठरोगको उच्च प्रभाव दर रहेको अवस्थामा समुदायस्तरमा कुष्ठरोगबारे जनचेतनाको स्तर वृद्धि गराउन, कुष्ठरोग निवारणका लागि देखिएका विभिन्न समस्या तथा चुनौतीहरु विद्यमान रहेको अवस्थामा समस्यालाई चिर्दै अगाडि बढ्न र कुष्ठरोगमुक्त नेपाल निर्माण गर्न पत्रकारको अहम् भूमिका हुँदा अन्तरक्रिया कार्यक्रम राखिएको बताउनुभयो ।
पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले समाजमा कुष्ठरोगलाई अझ पनि पूर्व जन्मको पाप र सामाजिक कलङ्कका रुपमा चित्रित गरिँदै आइएको भन्दै मिडिया र पत्रकारले यसलाई चिर्न प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने भएकाले सरोकारवाले मिडिया र पत्रकारसँग समन्वय गरेर काम गर्न आग्रह गर्नुभयो ।
गत आवमा अस्पतालमा विभिन्न जिल्लाबाट उपचार गर्न आएका १७४ नयाँ कुष्ठरोगी फेला परेका थिए । जसमध्ये ९३ जना बाँके जिल्लाकै विभिन्न स्थानका रहेका थिए । गत आवको ६ महिनामा ५८ जना नयाँ कुष्ठरोगी फेला परेका थिए । सोही अवधिमा यस वर्ष सङ्ख्या बढेर ८६ पुगेको छ । २४ बेड क्षमताको साइनिङ अस्पतालमा अहिले १३–१४ जना बिरामीले भर्ना भएर सेवा प्राप्त छन् ।