• १० माघ २०८२, शनिबार

ग्रीनल्याण्ड विवादले अमेरिका-युरोप सम्बन्ध तनावपूर्ण

blog

वासिङ्टन, माघ १० गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयले विश्वभरका देशमा असमन्जसता र चिन्ता बढाएका छन् । ट्रम्पले केही समय अघि स्विट्जरल्याण्डमा कर लगाउने धम्की दिनु भएका थिए, तर पछि यसलाई फिर्ता लिनुभयो । 

यसले नाटो जस्ता अमेरिकी मित्र राष्ट्रसँगको सम्बन्धमा अस्थिरता ल्याउने खतरा बढाएको छ । विशेषज्ञले ट्रम्पका निर्णयमा व्यक्तिगत मनोभाव, आफ्ना मनपर्ने वा मन नपर्ने नेताप्रति प्रतिक्रिया, ठूलो भूमिका खेल्ने भनेका छन् । ट्रम्पको शासन शैली ‘म मात्र यो समस्या समाधान गर्न सक्छु’ भन्ने दृष्टिकोणमा आधारित छ । 

आफ्नो दोस्रो कार्यकालमा उहाँले यो दृष्टिकोण अझ खुला र आत्मविश्वासी ढङ्गले देखाउनुभयो । उहाँका नजिकका सल्लाहकारका अनुसार, ट्रम्प निरन्तर ‘अत्यधिक रणनीति’ अपनाएर अघि बढिरहन चाहन्छन् ।

क्यानाडाका प्रधानमन्त्री कार्नीले भन्नुभयो, “मध्य शक्ति राष्ट्रले सँगै काम गर्नुपर्छ ।” अर्थात्, अमेरिका बाहेकका देशले आफ्नै साझा रणनीति बनाउन थालेका छन् । बेलायतका प्रधानमन्त्री केयर स्टार्मरले पनि ट्रम्पका टिप्पणी असभ्य र आपत्तिजनक भन्नुभयो ।

विशेषज्ञले ट्रम्पको व्यवहारले अमेरिकाको विश्वव्यापी प्रतिष्ठामा दीर्घकालीन असर पार्न सक्ने चेतावनी दिएका छन् । चीनले अमेरिकाको अस्थिर व्यवहारको अवसर लिएर आफ्नो प्रभाव बढाउन सक्छ । ट्रम्पका निर्णयले अमेरिकी विदेश नीति अब पुरानै नियम र समझदारीमा आधारित नभएको देखाएको छ । व्यक्तिगत भावना र अस्थिर निर्णयले साथी राष्ट्रसँग असमन्जसता सिर्जना गर्न सक्छ र प्रतिस्पर्धी राष्ट्रको अवसर बढाउन सक्छ । रासस/एपी