• १० माघ २०८२, शनिबार

शहीद सप्ताह आजबाट सुरु

blog

काठमाडौँ, माघ १० गते । विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिनुहुने शहीदहरुको सम्झनामा आजबाट शहीद सप्ताह सुरु भएको छ ।

माघ १० गते शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि टेकुको पचलीमा आफ्नो जीवन बलिदान दिनुभएको थियो । सोही दिनको स्मरण गर्दै शनिबारबाट उहाँको टेकुस्थित शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्दै शहीद सप्ताह सुरु गरिएको हो ।

सो अवसरमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले उहाँको शालिकमा माला र पुष्पगुच्छा अर्पण गर्नुभयो । तत्कालीन राणा शासकले विक्रम संवत १९९७ माघ १० गते शास्त्रीलाई पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएको थियो ।

यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएका थिए । सात दिन शहीद सप्ताह मनाएपछि माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ ।

इतिहास स्मरण गरेर सही बाटोमा अघि बढौँः सुनिता डंगोल 
काठमाडौँ महानगरका कार्यवाहक प्रमुख  डंगोलले इतिहासबाट सिकेर सही बाटोमा अघि बढ्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।


उहाँले शहीद सप्ताह कार्यक्रम गर्ने दिनका रुपमा मात्र नभइ जिम्मेवारीवोध गर्ने दिन भएको बताउनुभयो । उहाँले इतिहास पढ्न र पाठ्यक्रममा राख्नका लागि मात्र नभइ त्यसलाई मनन गरेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले इतिहासबाट सिकेर जनताका लागि काम गर्न जरुरी रहेको औंल्याउनुभयो । अन्यायप्रति सधैँ आवाज उठाउनुपर्छ र जनताप्रति सदैव कर्मठ हुनुपर्दछ भन्नेकुरा इतिहासले सिकाउने बताउनुभयो ।

शुक्रराज शास्त्रीले साहित्यमार्फत पनि समाजमा चेतना फैल्याउन मद्दत गर्नुभएको बताउनुहुँदै उहाँले प्रजातन्त्र ल्याउनमा शास्त्रीको योगदामा अविष्मरणीय रहेको बताउनुभयो ।