• १० माघ २०८२, शनिबार

क्षतिग्रस्त चन्द्रपुर नगरपालिकाको भवन पुनर्निर्माण हुने

blog

क्षतिग्रस्त पालिका भवनको अवलोकन गर्नुहुँदै पुल्चोक इन्जिनियरिङ् क्याम्पसका प्राविधिक टोली । तस्बिर : यादवराज पुरी

यादवराज पुरी
रौतहट, माघ १० गते ।
जेनजी आन्दोलनकोक्रममा क्षतिग्रस्त रौतहटको चन्द्रपुर नगरपालिकाको प्रशासनिक भवन पुनर्निर्माण हुने भएको छ ।

गत भदौ २४ गतेको आन्दोलनमा आगलागीबाट ध्वस्त गराइएको उक्त भवनको प्राविधिक अध्ययन कार्य अघि बढेकोले पुनर्निर्माण हुने भएको हो ।

पुल्चोक इन्जिनियरिङ् क्याम्पस ललितपुरबाट शुक्रबार आएको प्राविधिक टोलीले भवनको संरचनात्मक अवस्थाको स्थलगत निरीक्षण तथा अध्ययन गरेको छ । टोलीमा क्याम्पसका सह–प्राध्यापक डाक्टर क्षितिजचरण श्रेष्ठ, उप–प्राध्यापक इन्जिनियर अरुण पौडेल कबिन लामिछाने र अरुण सुवेदी भहभागी हुनुहुन्छ ।

निरीक्षणका क्रममा आगलागीबाट प्रभावित कङ्क्रिट, माटो तथा खरानीका नमुना सङ्कलन गरी प्राविधिक परीक्षण गरिने र सोको प्रतिवेदनको आधारमा मात्रै भवन मर्मत वा पुनर्निर्माणको प्रक्रिया अगाडि बढाइने डा. श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षण प्रतिवेदन दस दिनभित्र तयार भई काम अघि बढ्ने छ ।

नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले आगलागीबाट क्षतिग्रस्त भवन, सवारी साधन तथा विभिन्न उपकरणसमेत गरी करिब सात करोड रुपियाँ क्षति भएको जनाउनुहुँदै  प्राविधिक सुझावका आधारमा पुनर्निर्माण कार्य यथाशीघ्र अघि बढाइने बताउनुभयो ।