• १० माघ २०८२, शनिबार

मध्यपहाडको बिचैबिच साइकलको पछि पछि

blog

सन् २०२५ को अन्तिम दिन अलि रातितिर च्याङथापु पुग्यौँ । भोलिपल्ट (पुस १७) देखि थालिने एकमहिने साइकल यात्राको उत्सुकतासँगै रात बिताइयो । एकमहिने साइकल यात्राका लागि धुलिखेलबाट पुस १४ गते बिपी राजमार्ग हुँदै धरान अनि बिर्तामोड भई पाँचथरको च्याङथापु  पुगेका थियाैँ । साइकल यात्राको पहिलो दिन पुस १७ गते सखारै हिँडियो । पहिलो दिनको यात्रा २० किलोमिटर दुरीको भए पनि कच्ची बाटो थियो । दुई घण्टा समय लगाएर चिवाभन्ज्याङ पुग्दा पूर्व (दार्जिलिङ, सिक्किम मोहडातिर) बाट घामका झुल्का माथि माथि बढिरहेको थियो । 

चिवाभन्ज्याङ नाम कसरी रहन गयो भन्नेमा थरी थरीका कथन रहेछ । करिब तीन हजार २०५ मिटरको उचाइमा रहेको सीमा क्षेत्रमा दुस्मनको चियोचर्चो गर्ने ठाउँ भएकाले बोलीचालीमा अपभ्रंश भई चिवाभन्ज्याङ भन्न थालिएको धेरैको भनाइ रहेछ । यसअघि दार्चुला, बैतडीदेखि दक्षिणतर्पmका नेपाल–भारत सीमा पुगिसकेको थिएँ तथापि पूर्वतिरको नेपाल–भारत सीमा अन्यत्रभन्दा निकै फरक खालको पाएँ । अनौपचारिक तवरमा साइकल यात्राको अभियानको थालनी कार्य क्रमका लागि करिब दुई घण्टा लागे पनि स्थानीय बासिन्दाले छुर्पीको मालासहितको शुभाशिष् दिनुभयो । 

यात्रा औपचारिक रूपमा सुरु भएपछि कोशी प्रदेश अन्तर्गतको लिम्बुवान क्षेत्रका गोपेटार र फिदिमपछि तमोर तरेर खम्बुवान छि¥यौँ । यात्रामा कहिलेकाहीँ अप्रत्याशित घटना पनि हुँदो रहेछ । तेह्रथुममा वासस्थानका लागि स्थानीय पत्रकारको सहयोग मागेको थिएँ । उहाँले होमस्टे खोजिदिनुभएको रहेछ । म्याङलुङ पुगेर के आँगनमा टेकेको थिएँ; होमस्टे सञ्चालकले ‘डाक्टर साहेब, तपाईंले त हो नि मेरो पाठेघर निकाल्ने अपरेसन गर्नुभएको’ भन्दा यो संयोगबाट चकित भएँ । उहाँको घरमा स्थानीय चामल र ‘लोकल’ भालेको स्वाद मज्जैले लिइयो ।

यात्राका क्रममा सडक विभागका कर्मचारीले लोसे पारामासडक किनार सफा गरिरहेको देख्दा ‘सरकारी काम’ यस्तै हो भन्ने लाग्यो । सडकछेउमा राखिएका दुरी जनाउने स्तम्भ, अक्षर र अङ्क किन मेटाउनु परेको होला भन्ने लाग्यो । सडक सङ्केत चिह्नका बोर्ड पनि पच्याकपुचुक पारिएका थिए, धेरै ठाउँमा । बोतलका पानी पिउन र प्लास्टिक प्याकिङका स्न्याक्स खान त सिक्यौँ तर तिनका खाली खोल व्यवस्थापन सिक्ने कहिले होला ? सुन्तला, बदामको बो क्रा किन गाडीको झ्यालबाट फुतु फुतु फाल्नु परेको होला ? यस्तै प्रश्न मनभरि उकुसमुकुस गरी उब्जिए । 

बुधबार (पुस मसान्त) सम्म यात्रा आधाउधी छिचोलिसक्दा कतिपय दिन कहिले अङ्कैअङ्क (पाँचथर, आठराई, तेह्रथुम) त, कहिले पुछारमा ‘ङ’ भएका ठाउँहरू, त कहिले टारैटार, कहिले बेँसी हुँदै गुज्रिने मौका पाइयो । विशेषतः कोशी प्रदेशमा वस्तु विनिमयका लागि निकै उपयुक्त हाटबजार बार अनुसार, सङ्क्रान्ति वा एक वा १५ गते लाग्ने थाहा पाएर रमाइलो लाग्यो । यसबिच कतिपय ठाउँका नामकरण कसरी रहन गयो भन्ने कुराले पनि रोमाञ्चित भएँ । म्याङलुङ, तेह्रथुम यस्तै केही उदाहरण हुन् । यात्राको १० औँ दिन ‘सेवारो’ अभिवादनबाट ‘लास्सो’ मा अर्थात् कोशीबाट बागमती प्रदेशमा छिरिएको थियो । यसै  क्रममा सप्तकोशी अन्तर्गतका तमोर, अरुण, दुधकोशी, लिखु, तामाकोशी, सुनकोशीका किनारहरूको साथ पाइयो । केही दिनपछि इन्द्रावतीको स्पर्श पनि गरियो । यात्राको ११ औँ दिन दोलालघाट पुग्दा पनि रोचक संयोग जु¥यो । चिकित्सकका रूपमा सेवा दिइएकाबाट सुनकोसीको असला माछासहितको सत्कार पाइयो । यसै गरी खोटाङ दिक्तेलमा झन्डै झन्डै आस मरिसकेर बचाउन सफल एक महिलाकै घरमा पुगेर भेट्ने अवसर मिल्यो ।

मध्यपहाडी लोकमार्ग अन्तर्गतको पाँचथरदेखि लमजुङ सुन्दरबजारसम्मको यात्रामा अधिकतर ठाउँको उचाइ एक हजार एक सयदेखि एक हजार छ सय मिटरसम्मको पाइयो । मध्यपहाडका लोकमार्गवरपर केरा, आँप, बाँस, निगालो, उत्तिसलगायतका वनस्पति एवं जङ्गली पन्छीमा जुरेली, मैना एकनासले भेटियो । यात्रा गर्दैगर्दा ठाउँ ठाउँमा रैथाने वेशभूषामा सजिएका महिलासँग सेल्फी लिन पाउनु, चारबिस नाघेका अग्रजका अनुभव सुन्न पाउनु, स्थानीय व्यवसाय वा पेसामा देखा परेका चुनौती थाहा पाउनु यात्राको उपलब्धि जस्तो लाग्यो ।

यो यात्रालाई स्मरणीय बनाउन लोकमार्गमा परेका पुलहरूको नाम भ्याएसम्मका सङ्कलन गर्ने, मुख्य मुख्य नदी तथा खोलाका ढुङ्गा सङ्कलन गर्ने, ती नदीमा आफ्नो पितृलाई जल अर्पण गर्ने, ठाउँ ठाउँका माटो तथा अन्य पृथक वस्तुहरू सङ्कलन गर्ने कार्य पनि गर्दै अघि बढेको थिएँ । यात्राको पाक्षिक अवधिमा भोजपुरको टक्सार बजार, भोजपुर र खोटाङको सिमानामा रहेको ट्याम्केडाँडा (३०१५ मिटर), नुवाकोटको दरबार र अशोक वाटिका एवं गोरखाको लिगलिगकोट भ्रमण गर्न पाउनु, तेह्रथुमको म्याङलुङदेवी, भोजपुरको सिद्धकाली माई, खोटाङको कालिकादेवी, हलेसी महादेव, नुवाकोटको भैरवी मन्दिरको दर्शन गर्न पाउनु अर्को उपलब्धि लागेको छ । यात्राकै  क्रममा बुढीगण्डकी जलविद्युत् परियोजना बनेको खण्डमा पूर्णतः डुबानमा पर्ने धादिङ र गोरखाको सीमामा रहेको होटलमा एक रात बास बसियो । गोरखातर्पmको भीमोदय माविमा क्यान्सर सचेतना कार्य क्रम चलाइयो । कुनै दिन त्यहाँ जलाशय बनिहालेमा त्यस जलाशयभित्र रहेको भागमा कुनै दिन बास बसिएको वा अध्यापन गरिएको थियो भनेर धक्कु लगाउन पाइने अवसरको जोहो यात्रामा गरियो । 

यो यात्रा साइकल मात्रै होइन; क्यान्सर प्रभावितको उपचारका लागि कोष सङ्कलन एवं क्यान्सर सचेतनासँग सम्बन्धित भएकाले खासमा यो यात्रामा म जोडिएको थिएँ । साइकल यात्राको नेतृत्व हर्क लामाले गर्नुभएको छ; जसले क्यान्सर प्रभावित गरिब नेपालीका लागि केही गर्छु भन्ने सपना बुन्नुभएको छ । त्यसो त हर्क लामा उहाँ नै हो; जो अन्तर्राष्ट्रिय साइक्लिङ प्रतियोगितामा पनि सहभागी जनाइरहनुहुन्छ । उहाँ नेपालका उच्च हिमाली भूभागमा साइक्लिङ गर्ने ‘साइक्लिङ एथ्लेटहरू’ मध्ये अब्बल व्यक्तिका रूपमा चिनिनुहुन्छ । क्यान्सर रोगबाट तङ्ग्रिएर क्यान्सरबाट प्रभावित महिला दिदीबहिनीको हौसला उकास्छु भनेर साइक्लिङ गर्ने कविता चित्रकार पनि यात्रामा हुनुहुन्छ । आपूmलाई क्यान्सर लाग्नुअगावै आफ्नी आमा र दिदी दुवैको क्यान्सरबाटै निधन भएको तितो यथार्थ भोगिसकेकी कविता चित्रकारले आफ्नो उपचारपछि साइक्लिङलाई आफ्नो जीवनशैली बनाउँदै आउनुभएको छ । महिला दिदीबहिनीका लागि हौसलाको पात्र बन्ने छु भन्ने अठोटसाथ यो साइकल यात्रामा कविता सहभागी बन्नुभएको हो ।

मध्यपहाड हुँदै पूर्वपश्चिम एक हजार आठ सय किलोमिटरको साइकल यात्रा आफैंमा चुनौतीपूर्ण हो । त्यसभन्दा माथि क्यान्सर विजेताद्वय लिड राइडर हर्क लामा र कविता चित्रकारलाई साथ दिन पाउनु, एस्कर्टिङ गर्दै स्वास्थ्य सेवा दिनु, ठाउँ ठाउँमा क्यान्सर सचेतना कार्यव्रmम सञ्चालन गर्न पाउनु मेरा लागि गर्व र अवसरको विषय हो । 

यस यात्राको उद्देश्य अनुरूप नै मध्यपहाडी लोकमार्ग छिचोल्ने क्रममा नौ ठाउँका विद्यालय तथा महिला समूहको भेलामा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको सचेतना कार्य क्रम चलाउने अवसर पाएँ । महिला तथा विद्यार्थी जिज्ञासा फस्र्ट ह्यान्ड सम्बन्धित विशेषज्ञको नाताले जवाफ दिन पाउँदा आनन्दको अनुभूति प्राप्त गरेको छु । हामी यात्रामै छौँ । केही हप्ता अझ धेरै ताल, गण्डकी र कर्णालीका शाखा नदीहरू, विन्ध्यवासिनी, बागलुङ भगवती, डोटीको शैलेश्वरी, डडेलधुराको उग्रतारा, बैतडीको निङ्लासैनी, त्रिपुरासुन्दरी अवलोकन गर्ने दिन बाँकी नै छ । कर्णाली र सुदूरपश्चिमका वेशभूषा अनि खानपानको अनुभव लिन बाँकी छ । मध्यपहाडी लोकमार्ग अन्तर्गतका प्रस्तावित ‘स्मार्ट सिटी’ हरूको विद्यमान अवस्थाबारे जान्नु नै छ । गाडीका नम्बर प्लेट, मिनरल वाटरको लेबल, रेस्टुराँमा मम एवं चियाको भाउमा विविधता (प्रदेश वा स्थान अनुसारको) अनुभूति गर्नु नै छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गतका च्याङथापु, गणेशबजार, फिदिम, सङ्क्रान्ति बजार, म्याङलुङ, लेगुवाघाट, भोजपुर, दिक्तेल, हलेसी, घुर्मी, लुभुघाट, मेलम्ची, विदुर, आरुघाट, सुन्दरबजार पार गरिसक्ने  क्रममा नुवाकोटको पाटीभन्ज्याङलाई किन मध्यपहाडी लोकमार्गको मध्यविन्दु मानियो, थाहा भएन । त्यसै हो भने पनि त्यसको झलक दिने कुनै सङ्केत नहुनु उदेक लाग्यो । हालसम्मको यात्रामा भोजपुरबाट दिक्तेल अनि घुर्मी, मेलम्चीदेखि नुवाकोट अनि आरुघाटसम्मको बाटो निर्माणाधीन रहेकाले कच्ची एवं अलिक अप्ठ्यारै थियो । अब पोखरादेखि अछतीखोला पुल, बुर्तिबाङ, रुकुमकोट, चौरजहारी, भगवतीमाई, जम्बुकाँध, मङ्गलसेन, साजघाट, अमरगढी, पाटन एवं झुलाघाटसम्मको यात्रा पनि सहज रूपमा सम्पन्न गर्ने अपेक्षा छ ।  

साइकल कल्चर कम्युनिटीले धुलिखेल अस्पतालसँगको सहकार्यमा मध्यपहाडी लोकमार्ग साइकल यात्रा अभियान थालेको थियो । यसले समाज, संस्कृति, जीवनशैली, भूगोल जस्ता धेरै विषय बुझ्न मलाई मद्दत मिलेको छ । पूर्वपश्चिम राजमार्ग खण्ड खण्डमा धेरै पटक छिचोलिसके पनि पुष्पलाल लोकमार्ग कस्तो होला भनेर मनमा निकै खुल्दुली थियो । त्यसमाथि यस सडकले मधेश प्रदेशबाहेक छ प्रदेश र मध्यपहाडको करिब २६ जिल्लालाई जोडेको छ । सडक यात्राको मज्जा के छ भने स्थानीयसँग घुलमिल हुन पाइन्छ । स्थानीय बासिन्दाका वेशभूषा एवं सहनसहन नजिकैबाट अवलोकन गर्न पाइन्छ । रैथाने खानेकुराको रसास्वादनको मज्जा झन् छुट्टै छ । यात्राको सुरुवातीतिर नै धरानको कालो बङ्गुरको परिकार, तोङ्बा, बिर्तामोडको भक्का केही उदाहरण हुन् । त्यसै गरी इलाम पुग्दा च्याङ्बा होटलको खाना त मुखमै भुन्डिने खालको थियो । त्यहाँबाट पाँचथर लाग्ने  क्रममा मुखमा कुटु कुटु कमलो छुर्पी चपाउन पाइयो । ‘बादलुको घुम्टोले...’, ‘इलामपारि त्यो चियाबारी...’ जस्ता इलामकै प्रसङ्ग जोडिएका गीत सुन्दै यात्रा गर्नु र कन्याम पुगेर ढङ्ग ढङ्गका तस्बिर खिच्नुको आनन्द के भरिरहनु पर्ला र ?