उर्लाबारी समाचारदाता
उर्लाबारी, माघ १० गते । कोशी प्रदेशमा प्रदेश सभा सदस्य एक र चार स्थानीय तहका प्रमुख÷उपाध्यक्ष÷वडाध्यक्ष पद रिक्त भएका छन् । उहाँहरूले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा विभिन्न दलबाट मनोनयन दर्ता गरेपछि ती पद रिक्त भएका हुन् ।
कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी निरोज ढकालका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित झापा–४ (२) का सांसद भक्तिप्रसाद सिटौलाले राजीनामा दिई झापा–४ बाट मनोनयनपत्र दर्ता गराउनु भएपछि उक्त क्षेत्र रिक्त भएको हो । नेकपा (एमाले) बाट निर्वाचित दुई जना जनप्रतिनिधिले राजीनामा दिनु भएपछि ती पद पनि रिक्त भएका छन् । नेकपा (एमाले) का कोशी प्रदेश सचिव राजकुमार भण्डारीका अनुसार मोरङको रङ्गेली नगरपालिकाका नगरप्रमुख दिलीपकुमार अग्रवाल र ओखलढुङ्गाको लिखु गाउँपालिकाका उपाध्यक्ष अस्मिता थापाले पदबाट राजीनामा दिनुभएको हो । सचिव भण्डारीका अनुसार एमालेले नगरप्रमुख अग्रवाललाई मोरङ–२ बाट र उपाध्यक्ष थापालाई ओखलढुङ्गाबाट उम्मेदवार बनाएको छ । यसै गरी स्वतन्त्र उम्मेदवार भएर धरान उपमहानगरपालिकाका नगरप्रमुख विजयी हुनुभएका हर्कराज राई (हर्क साम्पाङ) ले पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त भएको छ । राईले सुनसरी–१ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ । राई आफैँ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीबाट उम्मेदवार बन्नुभएको हो । धरान–१८ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) ले पनि पदबाट राजीनामा दिई सुनसरी–१ बाट मनोनयनपत्र दर्ता गराउनुभएको छ । तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट वडाध्यक्षमा विजयी हुनुभएका भट्टराईले नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दर्ता गराउनुभएको हो ।
नेपाली कांग्रेस कोशी प्रदेशका प्रवक्ता यदुकुमार विष्टले कांगे्रेसले पनि सुनसरीको दुहबी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारलाई राजीनामा गराएर सुनसरी–३ मा उम्मेदवार बनाउने तयारी गरेको थियो तर अन्तिममा निर्णय परिवर्तन गरी विजयकुमार गच्छदारलाई उम्मेदवार बनाएको बताउनुभयो । विष्टले एउटा जिम्मेवारी पूरा नगरिकन त्यही व्यक्तिलाई थप भारी बोकाउँदा राम्रो सन्देश नजाने भएकाले कांग्रेसले कोशी प्रदेशमा त्यस्तो गल्ती नगरेको बताउनुभयो ।
त्यस्तै उदयपुरको लिङचिङ्बुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले पदबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बन्नुभएपछि उक्त पद पनि रिक्त हुन पुगेको छ । त्यसै गरी सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई नेपाली कम्युनिस्ट पार्टीको उम्मेदवार बन्नुभएको छ । उहाँ दुवै जना तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट पालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी निरोज ढकालले छ महिनाभन्दा बढी पद रिक्त नरहने कानुनी व्यवस्था रहेकोले रिक्त पदको सूचना निर्वाचन आयोगमा पठाइसकेको जानकारी दिनुभयो । प्रदेश सभाको निर्वाचन २०७९ मङ्सिर ४ गते भएको थियो । २०८४ मा आवधिक निर्वाचन हुने हो भने अझै एक वर्ष नौ महिना २५ दिन प्रदेश सभाको कार्यकाल बाँकी छ । यस्तै २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो । स्थानीय तहको आवधिक निर्वाचन २०८४ वैशाखमा हुने हो भने एक वर्ष तीन महिना २१ दिन पदावधि बाँकी छ । निर्वाचन कानुन अनुसार स्थानीय र प्रदेश सभाका रिक्त पदमा अनिवार्य चुनाव गर्नुपर्ने सूचना अधिकारी ढकालको भनाइ छ ।