• १० माघ २०८२, शनिबार
blog

कुनै बेला बैङ्कका शाखा कार्यालय जिल्ला सदरमुकाममा मात्रै सीमित थिए । सेवाग्राहीले एउटा चेक साट्न कार्यालयका कोठा कोठा चहार्दै पाँच जनासम्म कर्मचारीसँग पुग्नु पथ्र्यो । बचत गर्ने ग्राहकलाई हस्तलिखित पासबुक उपलब्ध गराइएको हुन्थ्यो । मासिक रूपमा ब्याज हिसाब गरी पासबुकमा चढाइन्थ्यो । बजारका ठुला व्यापारीलाई दुई वटा साँचो भएको कन्तुरो या बाकस (ढुकुटी) उपलब्ध गराई नगद जम्मा गर्ने र महिना सकिएपछि बैङ्कको खातामा ल्याएर चढाउने व्यवस्था गरिन्थ्यो । मासिक बन्दी (क्लोजिङ) को समयमा कार्यालयमा लेजर, मासिक प्रतिवेदनलगायतका कागजात तयार पार्न धेरै सङ्ख्यामा कर्मचारी रातभरसम्म खटिनु पथ्र्यो । कार्यालयमा चेक, भौचर र तमसुकका ठुला ठुला ठेली हुन्थे, कागजपत्रको चाङ लाग्थ्यो । शाखा कार्यालयमा चेक साट्ने, खातामा रकम जम्मा गर्न ल्याउने, पेन्सन बुझ्नेलगायतका सेवाग्राहीको भिड थामी 

नसक्नु हुन्थ्यो । बैङ्कका बारेमा केही दशकअघिसम्म सामान्य लाग्ने यस्ता धेरै विषय छन्, जुन अहिले हामीले अग्रजबाट सुन्दा अचम्म मान्छौँ ।

योगदान तथा रूपान्तरण

सुरुवाती दिनमा जनतालाई बचत गर्न अभिप्रेरित गर्दै बैङ्किङ व्यवहारमा अभ्यस्त बनाउने मुख्य श्रेय राष्ट्रिय वाणिज्य बैङ्कलाई दिन सकिन्छ । नेपालको बैङ्किङ इतिहासमा दोस्रो वाणिज्य बैङ्कका रूपमा विसं २०२२ माघ १० गते स्थापित यस बैङ्कले स्थापनाकालदेखि नै मुलुकभर छरिएर रहेको पुँजीलाई एकत्रित गरी विभिन्न उत्पादनशील क्षेत्रमा लगानी गर्दै अगाडि बढिरहेको छ । प्रारम्भिक चरणमा बैङ्कको यात्रा त्यति सहज भने थिएन । त्यतिबेला बैङ्क भनेको ठुलठुला व्यापारी र व्यवसायीका लागि मात्रै हो भन्ने भाष्य समाजमा व्याप्त थियो । वित्तीय चेतनाको कमी थियो र बैङ्किङ कारोबारलाई सहज रूपमा लिइँदैन थियो । सर्वसाधारण मानिसले प्रायः आफ्ना कारोबार वस्तु विनिमयमार्फत गर्ने गर्दथे । मुलुकको अर्थतन्त्रमा भारतीय मुद्राको दबदबा थियो । त्यस्तो अवस्थामा नेपाली मुद्राको प्रचलनलाई व्यापक बनाई मानिसमा बचत र लगानीको सचेतना फैलाउने कार्यमा बैङ्कले महत्वपूर्ण भूमिका खेल्यो ।

स्थानीय तहमा उपलब्ध स्रोतसाधनको उपयोग गर्दै घरेलु तथा साना उद्योगको विकासदेखि मझौला तथा ठुला उद्योग स्थापना गर्न बैङ्कले वातावरण निर्माण ग¥यो । सरकारको आम्दानी तथा खर्चको व्यवस्थापन गर्न सरकारी कोषको सञ्चालन तथा व्यवस्थापनमा बैङ्कले मुख्य भूमिका निर्वाह गरिरहेको छ । विदेशी विनिमय सेवा उपलब्ध गराउँदै बैङ्कले आयात निर्यात व्यापारमा सहजीकरण गर्दै आइरहेको छ । सरकारका विभिन्न कार्यव्रmम कार्यान्वयनमार्फत बैङ्कले गरिबी निवारणमा समेत योगदान पु¥याएको छ ।

चालिसको दशकमा जतिबेला राज्यले आर्थिक उदारीकरणको नीति लियो र निजी क्षेत्रबाट पनि बैङ्क तथा वित्तीय संस्था स्थापना हुने क्रम तीव्र भयो, त्यतिबेला राष्ट्रिय वाणिज्य बैङ्कले आफ्नो दुई दशक बिताइसकेको थियो । आज नेपालको बैङ्किङ बजारमा जे जति बैङ्क तथा वित्तीय संस्था प्रतिस्पर्धामा छन्, तिनीहरूका सञ्चालक प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राष्ट्रिय वाणिज्य बैङ्कसँग जोडिएका छन्; कोही पूर्वकर्मचारी हुन् भने कोही बैङ्कका पुराना ग्राहक हुन् । 

नेपालका कार्यालयमा कम्प्युटरको प्रयोग अधिक हुन थालिसकेपछि र इन्टरनेटको विस्तार भइसकेपछि मात्र स्थापना भएका ती बैङ्क तथा वित्तीय संस्थालाई ग्राहकका कारोबार तथा सूचना व्यवस्थापन गर्न राष्ट्रिय वाणिज्य बैङ्कलाई जस्तो चुनौतीपूर्ण हुने कुरै भएन । राष्ट्रिय वाणिज्य बैङ्कले मुलुकमै कम्प्युटर नभित्रिसकेको तत्कालीन अवस्थामा पूर्ण रूपमा कागजी प्रक्रिया र प्रणालीमा आधारित भएर बैङ्किङ सेवा दिन तत्पर थियो । यसरी पूर्ण रूपमा कागजी प्रव्रिmया र प्रणालीमा सञ्चालित राष्ट्रिय वाणिज्य बैङ्कले आफूलाई समयानुकूल परिवर्तन गर्न सक्यो र प्रतिस्पर्धी बैङ्कसरह सूचना प्रविधिको प्रयोगमार्फत सेवाग्राहीलाई आधुनिक डिजिटल बैङ्किङसम्बन्धी सेवा सुविधा उपलब्ध गराउन सक्षम भएको छ । आज सूचना प्रविधिको प्रयोगसँगै बैङ्कका शाखा कार्यालय सफा, चिटिक्क र व्यवस्थित देखिन्छन् ।

सहज सेवा 

आज सातै प्रदेशका ७७ वटै जिल्लाका सदरमुकामसहित दुर्गम गाउँमा समेत बैङ्कका शाखा कार्यालय विस्तार हुँदा जनताले आफ्नो घरदैलोमै आधुनिक बैङ्किङ सेवा सुविधा लिन सक्ने वातावरण बनेको छ । अन्य बैङ्क तथा वित्तीय संस्था सहरकेन्द्रित हुँदै गर्दा वाणिज्य बैङ्कले भने नाफामुखीभन्दा पनि सेवामुखी भएर दुर्गम भेगमा आफ्नो उपस्थिति जनाउँदा दुर्गम क्षेत्रका बासिन्दाले बैङ्किङ सेवा लिन सदरमुकामसम्म धाउनुपर्ने बाध्यताबाट मुक्ति मात्रै पाएका छैनन्, उनीहरूका लागि व्यापार व्यवसाय विस्तारलगायतका अरू धेरै अवसर तथा सम्भावनाका ढोका खोलिएका छन् । स्थानीय स्रोतसाधनको सदुपयोग गरी लघुउद्यम गर्न चाहने जनतालाई बैङ्कले मद्दत गरिरहेको छ । त्यसो त सुगम र सहरी क्षेत्रका जनताकाबिच पनि बैङ्क लोकप्रिय छ । धेरै विकल्प हुँदाहुँदै पनि आमजनमानसमा ‘कम्तीमा एउटा बैङ्क खाता त सरकारी बैङ्कमा हुनु पर्छ, त्यो पनि पूर्ण सरकारी स्वामित्व भएको राष्ट्रिय वाणिज्य बैङ्कमै हुनु पर्छ’ भन्ने भाष्य स्थापित भएको छ । त्यति मात्र होइन, तुलनात्मक रूपमा न्यून ब्याजदरमा कर्जा पाइने भएकाले मानिस यस बैङ्कप्रति आकर्षित भएको पाइन्छ ।

पछिल्लो समयमा बैङ्कमा युवा तथा ऊर्जावान् कर्मचारीको वर्चस्व छ । लोक सेवाको प्रतिस्पर्धात्मक परीक्षा उत्तीर्ण गरेर बैङ्कमा प्रवेश गरेका योग्य र क्षमतावान् कर्मचारीको मैत्रीपूर्ण व्यवहारका कारण ग्राहकले राष्ट्रिय वाणिज्य बैङ्कमा कुनै सङ्कोच नमानी विभिन्न सेवा सुविधाका बारेमा जिज्ञासा राख्ने, सेवाको गुणस्तरमा चित्त नबुझे सहजै व्यक्त गर्ने, नियमित सेवा लिन आउने ग्राहकले कर्मचारीसँग अनौपचारिक तवरले सञ्चार तथा संवादसमेत गर्ने र बैङ्कबाट अपेक्षा गरेका सेवा सुविधाका बारेमा निर्धक्कसँग आफ्ना कुरा राख्न सक्ने सहज वातावरण भएकाले आज राष्ट्रिय वाणिज्य बैङ्क जनताले धक फुकाएर सेवा लिने बैङ्कका रूपमा स्थापित हुन पुगेको छ ।

चुनौती 

समग्र बैङ्किङ क्षेत्रले सामना गर्नु परेका चुनौतीबाट राष्ट्रिय वाणिज्य बैङ्क मात्रै अछुतो रहने भन्ने कुरै भएन । अधिक तरलताको समस्यासँगै ब्याजदर न्यून तहमा पुग्दै गर्दा पनि कर्जाको मागमा अपेक्षित सुधार ल्याउन नसक्नु बैङ्कको मुख्य चुनौती हो । गत भदौ २३ र २४ को आन्दोलनपश्चात् व्यवसायीमा एक खालको निराशा छाएको छ । यद्यपि सरकार र नियामकीय निकायको सहयोग र मार्गदर्शनमा बैङ्कले व्यवसायीलाई विभिन्न योजना तथा कार्यक्रममार्फत उत्साहित बनाउने यत्न गरिरहेको छ । 

उपर्युक्त चुनौती हुँदाहुँदै पनि बैङ्कले प्रतिस्पर्धा र नवीनतम प्रविधिका कारण सृजित थप चुनौतीको सामना गर्नुपर्ने अवस्था छ । सरकारी स्वामित्वको बैङ्क हुनुका नाताले केही प्रक्रियागत र कानुनी अड्चनको पनि सामना बैङ्कले गर्नु पर्छ । विशेष गरी सार्वजनिक खरिद ऐनको लामो प्रक्रियालाई पालना गर्नुपर्ने बाध्यताका साथै बैङ्कमा विद्यमान सुस्त निर्णय प्रक्रियाले गर्दा बैङ्कले अत्याधुनिक प्रविधिलाई तत्काल आत्मसात् गरेर प्रतिस्पर्धामा खरो रूपमा उत्रिन सकिरहेको छैन । राजनीतिक अस्थिरतासँगै बेलाबखत हुने सरकार परिवर्तनले पनि केही हदसम्म बैङ्कका नियमित कार्य प्रभावित हुन्छन् ।

अवसर 

चुनौतीसँगै बैङ्कका लागि अवसर पनि उत्तिकै छन् । अहिले अधिक तरलताको समयमा बैङ्कसँग पर्याप्त लगानीयोग्य रकम छ, जसलाई बैङ्कले उत्पादनशील क्षेत्रमा लगानी गर्न सक्छ । बैङ्कमा ग्राहकको सङ्ख्या पनि उच्च छ । मुलुकका कुनाकाप्चासम्म बैङ्कका शाखा स्थापना हुनुले बैङ्कमा अझै धेरै जनताको पहुँच स्थापित हुँदै छ । बैङ्कलाई आमनेपाली जनताले विश्वास मात्रै गर्दैनन्, माया पनि उत्तिकै गर्छन् । विषम परिस्थितिमा पनि बैङ्कको रक्षाकवच बनेर खडा हुन्छन् । सरकारबाट पनि बैङ्कले सहयोग पाइरहेको छ । नियामकीय निकायको मार्गदर्शनले बैङ्कलाई थप सहजता प्रदान गरेको छ । आधुनिक डिजिटल बैङ्किङ प्रविधिलाई बैङ्कले क्रमशः आत्मसात् गर्दै गइरहेको र ग्राहकको रुचि पनि त्यसतर्फ बढिरहेको छ । चुस्त सेवा प्रवाह गर्न बैङ्कमा योग्य र क्षमतावान् युवा जनशक्तिको बाहुल्य छ । मानिसमा वित्तीय चेतना पनि बढ्दै गइरहेको छ ।

प्राप्त अवसरको उच्चतम सदुपयोग गर्दै बैङ्क अगाडि बढ्नु पर्छ । जनआकाङ्क्षा अनुरूपका सेवा सुविधा प्रदान गरी ग्राहकलाई सन्तुष्ट पार्ने र वित्तीय हिसाबले पनि मजबुत बन्ने दिशातर्फ बैङ्क अगाडि बढ्नु पर्छ । ‘तपाईंको आफ्नै बैङ्क’ भन्ने नारालाई सार्थक तुल्याउन राष्ट्रिय वाणिज्य बैङ्क हरतरहले निरन्तर लागिरहनु पर्छ ।