• १० माघ २०८२, शनिबार

आठराई त्रिवेणी गाउँपालिकाको नवनिर्मित भवनबाट सेवा सुचारु

blog

उद्धघाटन गरिएको आठराई त्रिवेणी गाउँपालिकाको नवनिर्मित भवन । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू
फुङलिङ, माघ १० गते ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले नवनिर्मित भवनबाट सेवा सुचारु गरेको छ । पालिकाको केन्द्र हाङपाङमा निर्माण सम्पन्न भएको नव निर्मित भवनबाट नै सेवाग्राहीलाई सेवा दिन सुरु गरिएको हो ।

शुक्रबार नवनिर्मित भवनको औपचारिक रुपमा उद्घाटन गरि सेवा दिन थालिएको हो । प्रशासकीय भवनसँगै आठराई त्रिवेणी सामुदायिक हलको समेत उद्घाटन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमु (दिपेन)को हस्त बाहुलीबाट दुवै भवनको उद्घाटन गरिएको छ ।

छ करोड ५३ लाख रुपियाँको लागतमा निर्मित भवनको औपचारिक रुपमा उद्घाटन गरी सेवा दिन थालिएको अध्यक्ष पोमुको भनाइ छ । भवनको शिलान्यास २०७९ सालमा गरिएको थियो । त्यस्तै गत वर्ष शिलान्यास गरिएको सामुदायिक हल भने ८० लाख रुपियाँको लागतमा निर्माण सम्पन्न भएको गाउँपालिकाले उल्लेख गरेको छ ।

लिम्बू जातिको केःलाङ (च्याब्रुङ) तथा नौमती बाजासहित भवन र हलको उद्घाटन गरिएको छ । नवनिर्मित हलमा भने खेलकुद लगायतका अन्य कार्यक्रम समेत सञ्चालन गर्ने संरचना तयार पारिएको अध्यक्ष पोमुले बताउनुभयो । भवन तथा हलदेखि करिब पाँच सय मिटर आसपासको सडकमा समेत कालोपत्रे गरिएको छ ।

उद्घाटन कार्यक्रममा अध्यक्ष पोमुसहित पाथीभरा याङवरक गाउँपालिकाका अध्यक्ष केशर मेन्याङबो, फुङलिङ नगरपालिकाका उपप्रमुख भीमादेवी ओझा, पाथीभरा याङवरक गाउँपालिकाका उपाध्यक्ष रनमाया गुरुङ, आठराई त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष सान्ता कुमारी आङबुहाङ, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य, पालिकाका कर्मचारी, स्वास्थ्यकर्मी, पालिकाका ३३ वटै सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष लगायत स्थानीयको सहभागिता रहेको थियो ।