माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की), माघ ९ गते । पोखरामा शुक्रबारदेखि सुरु भएको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगितामा विभागीय टोली एपिएफ, त्रिभुवन आर्मी क्लब र न्यू डायमन्ड स्पोर्टस् क्लबले विजयी सुरुवात गरेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा पुरुषतर्फ विभागीय टोली एपिएफ क्लबले गण्डकी प्रदेश भलिबल संघलाई ३–१ को सेटमा पराजित गरेको छ । खेलमा एपिएफले पहिलो सेट २६–२४, दोस्रो सेट २७–२५ र चौँथो सेट २५–१९ ले जित्यो भने तेस्रो सेट गण्डकीले २५–१९ ले जितेको थियो ।
पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा भएको पहिलो खेलमा पुरुषतर्फ आर्मी र दोस्रो खेलमा महिलातर्फ न्यू डायमन्ड विजयी भए । आर्मीले माल्दिभ्स भलिबल एसोसिएसनलाई सोझो सेटमा पराजित गरेको हो । आर्मीले पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१० ले जितेको थियो ।
महिलातर्फ न्यू डायमन्डले त्रिभुवन आर्मी क्बलाई पराजित गरेको छ । न्यू डायमन्डले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–८ ले जित निकाल्यो । पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीले सहभागी टाइगर कप माघ १७ गतेसम्म चल्नेछ । प्रतियोगितामा पुरुष र महिला दुबैतर्फ विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६ रुपियाँ र उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ रुपियाँ पाउने छन् ।
तेस्रो हुने टोलीलाई एक लाख ६६ हजार ६६६ नगद प्रदान गरिने आयोजक टाइगर गु्रप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माले जानकारी दिनुभयो । सर्वोत्कृष्ट हुने खेलाडीले २६ हजार ६ सय ६६ र विधागतमा उत्कृष्ट हुने खेलाडीले ११ हजार ६६६ नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशको प्रमुख डिल्ल्लीराज भट्टले गर्नुभएको थियो ।