कराची, माघ ८ गते । पाकिस्तानको सबैभन्दा ठुलो सहर कराचीस्थित एक मलमा भएको भीषण आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ५५ पुगेको कराचीका एक सरकारी अधिकारीले बिहीबार बताएका छन् ।
कराचीको दक्षिणी जिल्लाका उपायुक्त जावेद नबी खोसोले भन्नुभयो, “शनिबार राति आगलागी भएपछि हालसम्म कुल ५५ जनाको शव उद्धार गरिएको छ ।” उहाँका अनुसार उद्धार कार्य अझै जारी छ र भग्नावशेषभित्र मानव अवशेष खोज्ने प्रयास भइरहेको छ ।
तीन तले गुल प्लाजामा भएको आगलागीपछि अझै केही व्यक्ति बेपत्ता रहेको आशङ्कामा आफन्तले उद्धार कार्य ढिलो भएको भन्दै आलोचना गरेका छन् । घटना स्थलमा उद्धारकर्ताले निरन्तर खोजी गरिरहे पनि धेरै परिवार अझै आफ्ना प्रियजनको अवस्थाबारे अनिश्चिततामा रहेका छन् ।
प्रान्तीय स्वास्थ्य अधिकारी डा.सुमैया सैयदले बुधबार पत्रकारसँग कुरा गर्दै ५० भन्दा बढी परिवारले डिएनए नमूना उपलब्ध गराइसकेको जानकारी दिनुभयो । उहाँले सिभिल अस्पताल कराचीको शवगृह बाहिर भन्नुभयो, “डिएनए नमूना मिलान भएपछि मात्र हामी शव वा अवशेष सम्बन्धित परिवारलाई सम्मानपूर्वक हस्तान्तरण गर्ने छौँ ।”
कराचीका बजार र कारखानामा कमजोर पूर्वाधारका कारण आगलागीका घटना बेला-बेला हुने गरेको पाइन्छ । तर अधिकारीका अनुसार यस पटकको आगलागीको परिमाण र मानवीय क्षति असाधारण र दुर्लभ रहेको छ । यस घटनाबारे छानबिन गर्न सरकारी समितिले अनुसन्धान सुरु गरिसकेको छ । तर आगलागी कसरी र किन भयो भन्ने विषयमा हालसम्म स्पष्ट कारण पत्ता लाग्न सकेको छैन । रासस/एएफपी