• ८ माघ २०८२, बिहिबार

मर्स्याङ्दीमा कृषि मेला : ५९ कृषि–पशु उपजको प्रदर्शनी

blog

कृषि मेलामा बाली प्रर्दशन गर्दै किसानहरु । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल
लमजुङ, माघ ८ गते ।
लमजुङको मर्स्याङ्दी गाउँपालिकामा कृषि मेला तथा प्रदर्शनी भएको छ । “कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा” भन्ने नारासहित आयोजित मेलामा स्थानीय कृषकहरुले उत्पादन गरेका कृषि बाली र पशु उपजका ५९ प्रकारका उत्पादनको प्रदर्शनी गरिएको थियो ।

राष्ट्रिय कृषि जैविक विविधता सप्ताह २०८२ को अवसरमा गाउँपालिकाले बुधबार वडा नं. ३ को खुदीस्थित कृषि तथा पशु सेवा केन्द्र परिसरमा कृषि मेला प्रदर्शनी आयोजना गरेको हो । मेलामा गाउँपालिकाका विभिन्न गाउँबाट आएका किसान, कृषक समूह, कृषि फर्म र सहकारीहरुले आफूले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजको प्रदर्शन गरेका थिए ।

मेलामा खाद्यान्न, तरकारी, फलफूल, आलु, दलहन तथा नगदे बाली, बीउबिजन, नर्सरी बोटविरुवा, मह तथा प्रशोधित उपज र पशुपन्छीजन्य सामग्री गरी ५९ विधाका सामग्री प्रदर्शनीमा राखिएका थिए । मूल्याङ्कनका आधारमा उत्कृष्ट ११ जना कृषक छनोट गरिएको कृषि तथा पशुपन्छी विकास शाखाले जनाएको छ ।

कृषि शाखा प्रमुख विनोद दाहालका अनुसार घनपोखरा कृषि सहकारी संस्थाले रैथाने जातका मात्रै ६३ प्रकारका धान प्रदर्शन गरेको थियो । यस्तै, ६ जातका कागुनोसमेत प्रदर्शनीमा राखिएको थियो । मेलामा वनतरुल, भीरमह, अमला, कागती, सुन्तला, रायोलगायत विभिन्न सागसब्जी, काउली, अकबरेलगायत खुर्सानी, मुला, केरा, फर्सी, कफीजस्ता फलफूल तथा तरकारी बालीले दर्शकको ध्यान तानेका थिए । पशुजन्यतर्फ भाले, भैंसी, बोका तथा माछासमेत प्रदर्शनीमा राखिएको थियो ।

कार्यक्रममा कृषि विकास कार्यालयले कृषि शिविर सञ्चालन गरेको थियो । साथै ग्रामीण तालिम केन्द्र सिम्पानीका प्रशिक्षार्थीले उत्पादन गरेका उत्पादन गरेका हस्तकला तथा ग्रामीण भेगमा उत्पादित हस्तकलाका सामग्रीसमेत प्रदर्शनीमा प्रयोग गरिएको थियो । प्रदर्शनी हेर्न मर्स्याङ्दी गाउँपालिका, बेंसीसहर नगरपालिकाबाट दर्शक आएका थिए । खुदीस्थित अमर मावि र हिमचुली अङ्ग्रेजी स्कुलका विद्यार्थीले समेत अवलोकन गरेका थिए ।

कृषकलाई प्रोत्साहन र कृषि पेशालाई व्यावसायिक बनाउने उद्देश्यले मेला आयोजना गरिएको मस्र्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । उहाँका अनुसार यस्ता कार्यक्रमले कृषकको मनोबल बढाउनुका साथै युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न सहयोग पुग्नेछ ।

उत्कृष्ट कृषकलाई जनही एक हजार पाँच सय रुपियाँ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ भने सहभागी कृषकलाई जनही पाँच सय रुपियाँ प्रोत्साहन रकम प्रदान गरिएको छ । पुरस्कृत हुने कृषकहरुमा सोमबहादुर तामाङ, सूर्यकला कार्की, विक्रम थापा, उमरबहादुर गुरुङ, चुडामणि भण्डारी, घनपोखरा कृषि सहकारी, पसबहादुर तामाङ, विशाखा गुरुङ, सोनम गुरुङ, दिलबहादुर तामाङ र रवि थापा रहनुभएको छ । पालिकाका किसानका कृषि उपज बिक्री गर्न यहाँ प्रतेक हप्ताको आइतबार हाटबजार पनि सञ्चालन गर्ने गरिएको छ ।