• ८ माघ २०८२, बिहिबार

दाङ–२ मा त्रिपक्षीय प्रतिस्पर्धा

blog

एमाले महासचिव शङ्कर पोखरेल, कांग्रेसका किरणकिशोर घिमिरे र रास्वपाका विपिन आचार्य ।

दाङ समाचारदाता 

दाङ, माघ ८ गते  । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लिएर दाङको राजनीतिक माहोल तातेको छ । यस पटकको निर्वाचनमा अनुभवी तथा ‘हेभिवेट’ नेतादेखि पहिलो पटक चुनावी मैदानमा उत्रिएका नयाँ अनुहारबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । दाङका तीन वटै निर्वाचन क्षेत्रमा १५ स्वतन्त्रसहित कुल ५० जनाले उम्मेदवारी दिएका छन् । 

दाङको निर्वाचन क्षेत्र नं. २ यस पटक विशेष चासोका साथ हेरिएको क्षेत्र हो । यहाँ नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल, नेपाली कांग्रेसका पाका नेता किरणकिशोर घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्य तथा नेपाली कम्युनिस्ट पार्टीका निर्मल आचार्यसहित २० जनाले उम्मेदवारी दिएका छन् । 

यद्यपि उम्मेदवार धेरै भए पनि यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबिच हुने मतदाता बताउँछन् । पोखरेल २०७९ सालको निर्वाचनमा कांग्रेस र तत्कालीन माओवादी केन्द्रसहितको गठबन्धनका उम्मेदवार रेखा शर्मासँग १९६ मतले पराजित हुनुभएको थियो । शर्माले २६ हजार ८७७ मत प्राप्त गर्दा पोखरेलले २६ हजार ६८१ मत पाउनुभएको थियो । 

लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत भइसकेका पोखरेल राष्ट्रियस्तरमा प्रभाव पार्ने नेताका रूपमा चिनिनुहुन्छ । यस पटक सबै दलले एकल उम्मेदवारी दिएपछि पोखरेलको जित सुनिश्चित हुने दाबी एमालेका नेताको छ । 

यता रास्वपाले सहमहामन्त्री विपिन आचार्यलाई उम्मेदवार बनाएको छ । विपिन यस क्षेत्रका लागि नयाँ हुनुहुन्छ । अघिल्लो निर्वाचनमा रास्वपाबाट इन्जिनियर विशाल अधिकारी उम्मेदवार हुनुहुन्थ्यो । यस पटक टिकट नपाएपछि उहाँले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गर्नुभएको छ । 

निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरी, नेकपा (एमाले) का रेवतीरमण शर्मा, नेपाली कम्युनिस्ट पार्टीका मेटमणि चौधरी, रास्वपाका देवराज पाठक तथा नेपाल कम्युनिस्ट पार्टीका नेता एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । यस क्षेत्रमा कुल ११ जनाको उम्मेदवारी परेको छ ।

कुलप्रसादले टिकट नपाएपछि मेटमणि चौधरीविरुद्ध बागी उम्मेदवारी दिनुभएको छ । मेटमणि २०७४ र २०७९ मा यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । दुवै पटक गठबन्धनको बलमा उहाँ निर्वाचित हुनुभएको थियो । यस पटक गठबन्धन नहुँदा र आफ्नै पार्टीका प्रभावशाली नेताले बागी उम्मेदवारी दिएपछि मेटमणिका लागि चुनाव थप चुनौतीपूर्ण बनेको छ ।

२०७९ मा मेटमणिले २६ हजार ५६३ मत प्राप्त गर्दा एमालेकी शान्ता चौधरीले २१ हजार ४७९ मत पाउनुभएको थियो । यद्यपि स्थानीय मतदाताका अनुसार यस क्षेत्रमा नेपाली कांग्रेस र नेकपा (एमाले) बिच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ । 

लमही नगरपालिका–५ की अनिता शर्माका अनुसार कांग्रेस र एमाले दुवैको सङ्गठन बलियो छ र उम्मेदवार पनि सशक्त भएकाले रोचक प्रतिस्पर्धा हुने निश्चित छ । यस क्षेत्रमा रास्वपाका देवराज पाठक पनि बलियो उम्मेदवार मानिनुहुन्छ । २०७९ को निर्वाचनमा तेस्रो स्थानमा आएका पाठकको उम्मेदवारीले पुरानालाई चुनौतीपूर्ण बनेको छ । 

निर्वाचन क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका दीपक गिरी, नेकपा (एमाले) का घनश्याम पाण्डे, नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर मास्की तथा रास्वपाका कमल सुवेदीसहित १९ जनाले उम्मेदवारी दिनुभएको छ । 

कांग्रेसका दीपक गिरी २०७९ सालको निर्वाचनमा माओवादी केन्द्रसहितको गठबन्धनको समर्थनमा विजयी हुनुभएको थियो । त्यस निर्वाचनमा उहाँले ३६ हजार ८४२ मत प्राप्त गर्दा एमालेकी उम्मेदवार कोमल वली २९ हजार ३२ मतसहित दोस्रो हुनुभएको थियो । यस पटक एमालेले तुलसीपुर उपमहानगरपालिकाका पूर्वप्रमुखसमेत रहेका घनश्याम पाण्डेलाई उम्मेदवार बनाएको छ । पाण्डे स्थानीय तहमा भिजेको र बलियो नेताका रूपमा चिनिनुहुन्छ ।