• ८ माघ २०८२, बिहिबार

ह्याट्रिक गर्ने दाउमा पुराना नेता

blog

नागेन्द्रकुमार कर्ण

महोत्तरी, माघ ८ गते । महोत्तरीका केही पुराना नेताले ह्याट्रिक गर्ने दाउमा मङ्गलबार उम्मेदवारी दर्ता गराएका छन् । यहाँका चार वटै निर्वाचन क्षेत्रमा गरी १४३ जनाले मनोनयन दर्ता गराएका छन् । तीमध्ये २० जना महिला तथा १२३ जना पुरुष रहेको निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको अन्तिम नामावलीले देखाएको छ ।

मनोनयन दर्ता गराउनेमा विगतदेखि नै दोहोरिएका तथा निर्वाचनमा विजयी भएका उम्मेदवारदेखि लिएर नयाँ अनुहार पनि रहेका छन् । कतिपय उम्मेदवार लगातार तेस्रोपल्ट चुनावी मैदानमा आएका छन् । जलेश्वर नगरपालिका–४ बस्ने पूर्वजिल्ला शिक्षा अधिकारी वयोवृद्ध कृष्णचन्द्र झाले निर्वाचन युवा तथा वृद्ध पुस्ताबिचको प्रतिस्पर्धा रोचक हुने बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “जनताले उनीहरूको विगतको काम र प्रतिबद्धता अनुसारको व्यवहार विचार गरेर मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।” 

 उहाँ भन्नुहुन्छ, “उम्मेदवारी दिँदा पहिलो पटक उत्साह, दोस्रो पटक अनुभव भए पनि तेस्रो पटक जनताको भरोसा र अपेक्षाको कडा परीक्षा हुने भएकाले पुराना नेताले कडै प्रतिस्पर्धा गर्नु पर्छ ।’’ मटिहानी नगरपालिका धिरापुरका युवा सुमन ठाकुरले महोत्तरीमा पटक पटक एउटै उम्मेदवार दोहोरिँदा समस्या देखिएको बताउनुभयो । 

जिल्लाको क्षेत्र नं. १ मा नेकपा (एमाले) का तर्फबाट लक्ष्मी महतो तथा नेकपाका तर्फबाट गिरिराजमणी पोखरेलले मनोनयन दर्ता गराउनु भएको छ । पोखरेलले २०६४ र २०७० को संविधान सभा निर्वाचन तथा २०७४ को प्रतिनिधि सभा निर्वाचनमा लगातार जित हासिल गर्नुभएको थियो । लक्ष्मी महतो तेस्रोपल्ट जनताको भरोसा आफूप्रति हुने भन्दै उम्मेदवारी दर्ता गराउनुभएको छ । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा माओवादीका तर्फबाट गिरिराजमणि पोखरेलले लक्ष्मी महतोलाई हराउँदै विजयी हुनुभएको थियो भने २०७९ को प्रतिनिधि सभा निर्वाचनमा लक्ष्मी महतोले गिरिराजमणि पोखरेलसँग हारको बदला लिँदै विजयी हुनुभएको थियो । पुनः दुवै जना आफूले गरेको विकास, जनताको चाहनाले उम्मेदवारी दिएको दाबी गर्नुभएको छ । 

 क्षेत्र नं. २ मा शरतसिंह भण्डारी पटक पटक विजयी हुदै आउनुभएको छ । नेपाली कांग्रेसका किरण यादव पहिलो संविधान सभामा समानुपातिकतर्फकी उम्मेदवार हुनुहुन्थ्यो भने दोस्रो संविधान सभामा प्रत्यक्षतर्फ विजयी हुनुभएको थियो । 

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा भने उहाँ शरतसिंह भण्डारीसँग पराजय हुनुभयो । यसपालि पुनः उहाँहरूबिच प्रतिस्पर्धा हुँदै छ । क्षेत्र नं. ३ मा प्रतिनिधि सभा निर्वाचनमा दुई/दुई पटक विजयी भएका महन्थ ठाकुरले भने आफ्नी छोरी मिनाक्षी ठाकुरलाई जसपाबाट अगाडि सार्नुभएको छ । दुई पल्ट महन्थ ठाकुरका लागि उम्मेदवारी फिर्ता लिएका बजरङ्ग नेपाली तेस्रोपल्ट पुनः कांग्रेसबाट उम्मेदवारी दिनुभएको छ । 

त्यसै गरी एमालेका प्रत्यासी रहनुभएका रामआधार कापर अन्तिम समयमा टिकट नपाएर पुनः तेस्रोपल्ट स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको छ । २०७४ सालमा प्रदेश सभामा उम्मेदवारी, २०७९ सालमा हार बेहोर्नुभएको थियो ।

त्यसै गरी पूर्वकृषिमन्त्री हरिनारायण यादव पनि तेस्रोपल्ट जसपाबाट बागी भएर स्वतन्त्र उम्मेदवार हुनुभएको छ ।क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका महेन्द्रकुमार राय र जसपाका डा. सुरेन्द्रकुमार यादव तेस्रोपल्ट चुनावी मैदानमा हुनुहुन्छ । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा डा. सुरेन्द्रले महेन्द्रलाई पराजित गर्नुभएको थियो भने २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा महेन्द्रले डा. सुरेन्द्रलाई पराजित गर्नुभएको थियो ।  

जेनजी आन्दोलनपछि राजनीतिकर्मीलाई अवसर मात्रै होइन चुनौती पनि थपिएको पिपरा गाउँपालिका–४ का दिनेश चौधरीले बताउनुभयो ।