जीवछ यादव
लहान, माघ ८ गते । लहान नगरपालिकाका सामुदायिक विद्यालयहरूमा सरसफाइ तथा स्वच्छतासँग सम्बन्धित कार्यमा विपद् न्यूनीकरण गर्ने उद्देश्यले शिक्षक र विद्यार्थीबिच एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
दलित जनकल्याणको अगुवाइमा लहान नगरपालिकाको सहयोग तथा विकन परियोजनाको साझेदारीमा नगरपालिकाका विपन्न बस्तीमा रहेका सामुदायिक विद्यालयहरूमा खानेपानी तथा स्वच्छतासम्बन्धी परियोजना सञ्चालन गरिएको हो। परियोजनाअन्तर्गत विद्यालयहरूमा खानेपानीका ट्याङ्की र व्यवस्थित शौचालय निर्माण गरिएको छ ।
खानेपानी तथा स्वच्छता कार्यक्रमअन्तर्गत विद्यालयहरूलाई प्रदान गरिने १० मापदण्डमध्ये विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रम नभएकै कारण तीन तारा प्राप्त गर्न नसकेको विकन परियोजनाका प्रमुख कविन्द्र पुडासेनीले जानकारी दिनुभयो । उहाँका अनुसार बाढी, पहिरो र भूकम्पजस्ता विपद् व्यवस्थापनका लागि विद्यालयस्तरमै पूर्वतयारी आवश्यक भएकाले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।
लहान–१७ स्थित श्री जनता आधारभूत विद्यालय, दौलतपुरका प्रधानाध्यापक पप्पु यादवले अभिमुखीकरणले विद्यालयलाई खानेपानी तथा स्वच्छतामा मात्र नभई विपद् जोखिम न्यूनीकरणका लागि पनि व्यवस्थित र सुरक्षित बनाउन सहयोग पुगेको बताउनुभयो। उहाँले यसलाई विद्यालयका लागि महत्त्वपूर्ण उपलब्धी भएको उल्लेख गर्नुभयो ।
लहान नगरपालिकाका सामुदायिक विद्यालयहरूको सुधार र विकासमा गरिएको लगानीको प्रतिफल प्राप्त गर्न सरसफाइदेखि विपद् व्यवस्थापनसम्मका कार्यक्रमहरू विकन परियोजनाअन्तर्गत वाटर एडको सहयोगमा सञ्चालन भइरहेका लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो ।
अभिमुखीकरण कार्यक्रममा विद्यालयहरूलाई प्राथमिक उपचारसम्बन्धी विधि र सामग्रीसमेत उपलब्ध गराइएको सहजकर्ता नम्रता भट्टले जानकारी दिनुभयो । उहाँले २०८४ सालअघि लहानका सामुदायिक विद्यालयहरूलाई तीन तारा चिन्ह प्राप्त गराउन बाँकी कार्य पूरा गरिने बताउनुभयो ।
अभिमुखीकरण कार्यक्रममा लहान नगरपालिका सरसफाइ संयोजक महेश्वरी चौधरी, प्रशिक्षक राकेश लोहनी, रूपनारायण यादव र माधव विष्टले विपद् न्यूनीकरणसम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।